१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भेरी बबईको सुरुङ एक वर्ष छिटो

भेरी–बबईमा टिबिएमद्वारा सुरुङ खनिँदै। तस्बिर: नागरिक

काठमाडौं– तोकिएको समय र लागतमा अधिकांश ठूला आयोजनाको निर्माण सम्पन्न हुन नसकेको बेला राष्ट्रिय गौरवको  भेरी–बबई बहुउद्देश्यीय आयोजनामा भने फरक अवस्था देखिएको छ।

उक्त आयोजनाको १२.२ किलोमिटर सुरुङ तोकिएको अवधिभन्दा एक वर्ष छिटो र छुट्ट्याइएको बजेटमै सम्पन्न भएको छ। भेरी–बबईको सुरुङ निर्माण गर्न साढे दुई वर्ष अवघि तोकिएको थियो। १० अर्ब ५६ करोड रुपैयाँ सुरुङ खन्न छुट्ट्याइएको थियो।

सुरुङ निर्माणको काम १७ महिनामै सकिएको आयोजनाले जनाएको छ। आयोजनाका सूचना अधिकारी कृष्णप्रसाद उपाध्यायका अनुसार अब सुरुङ खन्न दुई मिटरजति बाँकी छ। प्रधानमन्त्री केपी शर्मा ओलीबाट सुरुङको उदघाट्न गर्ने योजना रहेकाले दुई मिटर सुरुङ प्वाल पार्न बाँकी राखिएको उपाध्यायले बताए। भेरी–बबईको सुरुङ खन्न देखाइएको तत्परता अनुसार अन्य आयोजनामा पनि काम हुने हो भने निर्माणका कामले गति लिने विज्ञहरूको ठहर छ। जसरी भेरी–बबईको सुरुङ निर्माणमा काम भयो, त्यसरी नै हेडवक्र्स र अन्य काम पनि तीव्र गतिमा हुनुपर्ने माग गरिएको छ।

भेरी नदीको पानीलाई सुर्खेतको चिप्लेमा बाँध निर्माण र हात्तीखालमा विद्युत् गृह बनाएर बर्दियाको बबईमा झार्ने योजना छ। उक्त आयोजनाबाट बर्दियाको ३६ र बाँकेको नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु-याउने तथा ४८ मेगावाट विद्युत् निकाल्ने योजना छ।
उक्त आयोजनामा सुरुङ खन्न टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको हो। यो मेसिन नेपालमा पहिलोपटक प्रयोग गरिएको हो। प्रविधिको प्रयोगले छिटो काम सक्न सहज भएको आयोजनाका कर्मचारी बताउँछन्। भेरी–बबईमा सुरुङ खन्ने काम सकिएपछि टिबिएम अन्य आयोजनामा प्रयोग गरिने बताइएको छ।

सत्र महिनामा १२ किलोमिटर लामो र ४.६ मिटर गोलाइको सुरुङ प्वाल पारिएको छ।

सुरुङको गोलाइ ४.६ मिटर छ। चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गु्रप (कोभेक)ले सुरुङ निर्माण गरेको हो। उपाध्यायका अनुसार हालसम्म सुरुङ खनेबापत आयोजनाले सात अर्ब रुपैयाँ कोभेकलाई भुक्तानी दिइसकेको छ। ‘खनिएको केही खण्डको सुरुङको भुक्तानी गर्न बाँकी छ,’ उनले भने, ‘सबै भुक्तानी गर्दा छुट्ट्याइएको बजेट सीमा नाघ्दैन।’

सुरुङमा पानी छाड्ने तयारी

निर्माणको काम सकिएपछि आयोजनाले सुरुङमा केही पानी छाडेर बर्दियामा सिँचाइ गर्ने तयारी गरेको छ। हेडवक्र्स, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकललगायत काम सक्न केही वर्ष लाग्ने भएपछि सुरुङमा केही पानी बगाएर बर्दियामा सिँचाइ सुविधा पु¥याउने तयारी भइरहेको उपाध्यायले बताए।

उनका अनुसार सुरुङभित्र हिउँदमा ८–१० क्युमेक्स पानी छाड्ने तयारी गरिएको छ। पानी छोड्दा एकातिर सुरुङ बिग्रनबाट बच्ने र अर्कोतर्फ किसानले सिँचाइ सुविधा पाउनेछन्। सुरुङको पूर्ण क्षमता ४० क्युसेक पानी अटाउने छ। आर्थिक वर्ष ०७९/८० मा पूरै आयोजना सम्पन्न गर्ने लक्ष्य लिइए पनि हेडवक्र्स, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकलको काम भने सुरु गरिएको छैन। निर्माण हुन बाँकी रहेको कामका लागि आयोजनाले पूर्वमूल्यांकन काम सकेर विभागमा पठाएको छ। विभागले स्वीकृति दिएपछि ठेक्का लगायतको काम अघि बढ्ने उपाध्यायले बताए। सिँचाइ र विद्युत् निकाल्दासम्म आयोजनामा ३३ अर्ब १९ करोड रुपैयाँ लागत लाग्ने गुरुयोजना छ।

प्वाल पार्न दुई मिटर बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गराउने तयारी गरिएकाले भेरी–बबईको सुरुङ प्वाल पार्न दुई मिटर बाँकी राखिएको छ। आयोजनाका सूचना अधिकारी उपाध्यायका अनुसार प्रधानमन्त्रीबाट उद्घाटन गराउने तयारी गरिएकाले दुई मिटर जति प्वाल पार्न बाँकी राखिएको छ। आउँदो वैशाख २, ३, ४ गते प्रधानमन्त्री ओलीको समय मिलाउने प्रयास भइरहेको बताइएको छ। सत्र महिनामा १२ किलोमिटर लामो र ४.६ मिटर गोलाइ सुरुङ प्वाल पारिएको छ।

प्रकाशित: २४ चैत्र २०७५ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App