१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कार्य सम्पादन समितिबारे कांग्रेसमा फेरि विवाद

काठमाडौं – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष र असन्तुष्ट पक्षबीच कार्यसम्पादन समिति गठनलाई लिएर विवाद भएको छ। दुई पक्षबीच कार्यसम्पाद समितिमा सहभागी गराउने संख्यामा सहमति जुट्न नसक्दा शनिबारका लागि बोलाइएको बैठक अनिश्चित बन्न पुगेको छ।

पार्टी सभापति देउवाले विधानको व्यवस्थाअनुसार कार्यसम्पादन गठन गर्ने जनाउँदै असन्तुष्ट पक्षसँग समितिमा सहभागि गराउने नेताहरूको नाम मागेका थिए। तर, नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले पार्टीको वरिष्ठताको आधारमा कार्यसम्पादन समिति गठन गर्नुपर्ने अडान राखेको छ। सभापति देउवाले वरिष्ठताको आधारमा कार्यसम्पादन समिति गठन गर्न तयार नभएको असन्तुष्ट पक्षले जनाएको छ।

विधानले वरिष्ठताको आधारमा समिति गठन गर्नुपर्ने व्यवस्था नगरेको जनाउँदै सभापति देउवा निकट एक नेताले भने, ‘पहिला वरिष्ठताका आधारमा समिति गठन गर्दा उहाँहरुले नै विधान विपरित भन्दै विघटन गर्न सभापतिलाई दवाब दिए। अहिले फेरि पुरानै कुरा गरिरहेका छन्।’ समितिमा सहभागी गराउने नेताहरुको नाम टुंगो लगाउन नसक्दा असन्तुष्ट पक्षले विभिन्न बाहाना गरेको संस्थापन पक्षको आरोप छ।

नाम टुंगो लगाउन नसकेको भन्ने संस्थापन पक्षको आरोप मिथ्या भएको दाबी गर्दै असन्तुष्ट पक्षका नेता रामचन्द्र पौडेलले भने, ‘वरिष्ठताको आधारमा २८ जनाको समिति गठन गर्न हाम्रो माग हो।’ पार्टीका आधारमा कार्यसम्पादन समिति गठन गर्दा केही प्रभावशाली नेता नसमेटिएपछि सभापति देउवाले असन्तुष्ट पक्षको सहमती त्यसको संख्या बढाएका थिए। स्थानीय तहको निर्वाचन अघि सभापति देउवाले कार्यसम्पादन समिति गठन गरे पनि प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भएपछि असन्तुष्ट पक्षले विधान विपरित कार्यसम्पादन समिति गठन भएको भन्दै विघटनको माग गरेका थिए। उनीहरुको माग अनुसार गत बैशाखमा सम्पन्न केन्द्रीय समिति बैठकमा सभापति देउवाले समिति विघटनको घोषणा गरेका थिए।

पहिला पनि त्यसरी नै समिति गठन भएको सुनाउँदै पौडेलले महासमिति बैठकको म्यान्डेटलाई पालना गर्नुपर्ने पक्षमा रहेको बताए। सभापतिसहित सबै केन्द्रीय सदस्यहरु तलैबाट निर्वाचित हुने व्यवस्था विधानमा राख्नु पर्ने म्यान्डेटविपरीत केन्द्रीय समितिले पुरानै व्यवस्थालाई निरन्तरता दिएपछि त्यसलाई सच्याउनुपर्ने पक्षमा असन्तुष्टहरू रहेका छन्। नेताहरुबीच सहमति जुट्न नसक्दा पार्टीका प्रमुख भ्रातृ संगठनका विधान अलपत्र परेको छभने नेपाल विद्यार्थी संघ माघ देखि नेतृत्वविहीन छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिपूर्ण निर्णय गर्न केन्द्रीय समिति बैठक स्थगित गरेको बताए।

प्रकाशित: २४ चैत्र २०७५ ०२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App