अ कमन म्यान

जो सडकमा थिए, सडकमा छैनन्

शनिबार, २३ चैत २०७५, १६ : ५६ लक्ष्मण श्रेष्ठ

काठमाडौंका सडकपेटीमा हिँड्दाहिँड्दै टक्क रोकिन्छन् उनी। यसो हेर्छन्। काठमाडौं सहरको नक्सा उस्तै छ, आकृति फेरिएको छ। सडकको चौडाइ केही फराकिलो भएको छ। गाडीका संख्या बढेका छन्। तर, अझै फेरिएको छैन – सडकपेटी र त्यहाँको कथा–व्यथा। मात्र फेरिएका छन् पात्रहरू। खुइड्ढय... लामो सास फेरेर आफैसँग भन्छन् – कहाँबाट कहाँ आइपुगियो।
‘थाहा छ? अहिले पनि म बेलाबेला विशालबजारको गेटमा यत्तिकै अडिन्छु।’
‘किन ?’, म जिज्ञासा जनाउँछु।

‘त्यहाँ टेलिभिजन बेरेका प्लास्टिक फाल्थे। त्यो अरूभन्दा महँगोमा बिक्थ्यो। उतिबेला म त्यहाँ त्यही प्लास्टिक कुरिबस्थेँ। अहिले पनि त्यहाँ पुग्दा झल्यास्स हुन्छु। यसो अलमलिराख्छु। पुराना दिनहरू सम्झनामा आउँछन्।’
एक सर्को मलिन मुस्कान दौडिन्छ उनको ओठमा। अनि फेरि दोहोरिन्छ, त्यही दिव्य वाक्य – कहाँबाट कहाँ आइपुगियो।

 साधारण, एकदमै साधारण मानिस हुन् विष्णु पौडेल। तर यो साधारण जीवन निर्माण गर्न उनले असाधारण संघर्ष गरेका छन्। नचिताएको बाटो हिँडेका छन्। नचाहेको ठक्कर भोगेका छन्।


०००
त्यसो त विष्णु पौडेल कुनै आइकन होइनन्। पत्रिकामा ठूला अक्षरले छापिने गरी सफलताका प्रतिबिम्ब पनि होइनन्। न त हुन् ग्ल्यामर आइटम। न कुनै सेलिब्रेटी नेता। आम सञ्चारमाध्यममा प्रायः हिस्सा ओगटिरहने अनुहारको भीडमा उनी पर्दैनन्। उनी त सामान्य मानिस हुन्। पद खुलाएरै भन्दा, नेपालमा हुने गरेको बालश्रमबारे काम गरिआएको एउटा पुरानो गैरसरकारी संस्था सिविन–नेपालका सहायक कार्यक्रम व्यवस्थापक। यही जागिरले अडिएको छ, उनको जिन्दगी। धेरै सपना पनि छैनन्, उनीसँग। हालै बिहे गरेका छन्। वर्षौंदेखिको प्रेमसम्बन्ध सफल भएको छ। यही सानो परिवारमा सुखी छन्। खुसी छन्।
साधारण, एकदमै साधारण मानिस हुन् विष्णु पौडेल। तर यो साधारण जीवन निर्माण गर्न उनले असाधारण संघर्ष गरेका छन्। नचिताएको बाटो हिँडेका छन्। नचाहेको ठक्कर भोगेका छन्। हिँड्दाहिँड्दै कतिपटक बाटो बिराएका छन्। बाटो बिराउँदा बिराउँदै नयाँ गन्तव्यहरू फेला पारेका छन्। अनेकौं मोडबाट मोडिएर उनको जीवन यहाँसम्म आइपुगेको छ।
‘नभए त म यहाँ कहाँ हुन्थेँ र?’, जीवनका मोड सम्झिँदै भन्छन्, ‘कि जेलमा हुन्थेँ, कि गुन्डा बनिसकेको हुन्थेँ, कि...।’
ती सबै उनी भएनन्। जीवनमा केही मोड यस्ता आए र त उनी यहाँ छन्। र उनको जिन्दगीको वाक्य अपूरो पनि छैन।
यो तिनै मोडहरूको कथा हो।

एउटा साधारण मान्छेको कथा। जसले असाधारण चुनौतीहरू बेहो¥यो। जो अकल्पनीय मोडहरूबाट गुज्रियो। काठमाडौंका चिसा रातहरूमा जसले भोक र अभावको च्यादर ओढेर सुत्यो। यी धुलाम्मे सडकहरूमा जसले विक्रम टेम्पोको छाती होइन आफ्नै भविष्य ठटायो। तर तिनै अभाव र पीडाबाट उठेर ऊ मान्छे बन्यो।
यो कथा सिन्धुपाल्चोकको एक गाउँ तुनीबोटेबाट सुरु हुन्छ।

सन् १९९८ मा बालश्रम विरुद्ध भएको गोल्बल मार्चमा सहभागी हुँदै पौडेल।

०००
सिन्धुपाल्चोकको तुनीबोटे विष्णुको मावली गाउँ हो। त्यहाँ पुग्दा उनले थाहा पाइसकेका थिए, जन्म दिने बुवाआमा दुवै उनीसँग छैनन्। मावली घरमा आश्रय पाएका थिए उनले। र, त्यहीँ नै उनको जीवनमा पहिलो मोड आएको थियो। त्यस्तो मोड जहाँ उनी घरबाट बेघर भए।

 पुस–माघको बेला थियो। मौसम चिसो थियो। काठमाडौंको सडकमा थिए विष्णु। शरीरमा एउटा जाँघे र कमिज थियो। सानो विष्णुका लागि काठमाडौं ठूलै थियो। कहाँ जाने थाहा थिएन। जता हेर्‍यो घर। जता फर्कियो बाटोे।


‘मेरो जीवनको पहिलो मोड टाइमबाट सुरु हुन्छ’, सम्झिन्छन् उनी।
अँ टाइमबाट।
‘टाइम कति भयो?’, अपरिचित एक मानिससँग यही प्रश्न सोधेर सुरु भएको थियो वार्तालाप।
घाँस काट्न गएका थिए उनी सधैँजस्तै। डोको, नाम्लो र हँसिया बोकेर। जसरी मावल बस्न थालेको दुई वर्षदेखि जान्थे उनी। त्यहीँबेला भेट भयो त्यो अपरिचित मानिस। सुकिलो कपडा लगाएको। हातमा घडी बाँधेको। सोधे उनले, ‘टाइम कति भयो?’
‘टाइम भनेको थाहा छ?’, त्यो अपरिचित मानिसले यत्ति प्रश्न नगरी छोटो जवाफ दिएको भए सम्भवतः जीवन अन्त कतै मोडिन्थ्यो। तर, उसले सोधिदियो। र त कुरा लम्बियो। र त विष्णु आफैँले प्रस्ताव गरे, ‘मलाई तपाईसँगै लैजानुस्। म तपाईंको सप्पै काम गरिदिन्छु।’
ती मानिसले पत्याए। र उनकै पछि लागे विष्णु। हिँड्नेबेला नाम्लो र डोको झ्याङमा लुकाइदिए।
त्यस्तै सात÷आठ वर्षका थिए। संसारको ज्ञान भइसकेको थिएन। कहाँ पुगियो जान्ने भइसकेका थिएनन्। सायद केहीबाट भाग्न खोजिरहेका थिए। सायद आफ्नै जिन्दगीदेखि। मावली गाउँदेखि। त्यसैले त हिँडिदिए एक अपरिचितको पछिपछि।
उसले बस चढायो। चढिदिए।
सहर आइपुगेपछि ओराल्यो। ओर्लिदिए।
धेरै पछि मेसो पाए उनले – बसबाट ओर्लेको सहर काठमाडौं रहेछ। तर ती मानिस काठमाडौंमा अडिएनन्। उनका दुई छोरी र एक छोरा रहेछन्। जेठी छोरीलाई पोलियो भएकाले उपचार गर्न काठमाडौं आएका रैछन्। केही दिन काठमाडौंमा सँगै राखेपछि उनले कसैको साथ लगाएर पठाइदिए विष्णुलाई तराईतिर।
‘एउटा भोटो र सुरुवाल लगाएर त्यो उमेरमा खुब हिँडे, देहातै देहात’, धमिलो याद छ विष्णुसँग। बेलाबेला कोट्याइबस्छन् ती यादहरू। देहातै–देहात हिँडेर गाउँ पुगेको। गाउँ पुग्दा ती अपरिचित मानिस घर पुगिसकेका। उनैको घरमा काम गर्न बसेको।
पूर्वी तराईको देहातमा रै’छ ती मानिसको घर। नाम रै’छ, दिलु श्रेष्ठ। रै’छन् हेडमास्टर। उनैको घरमा काम गर्न बसे विष्णु। बिहानै दुई भारी घाँस काटिसक्थे विष्णुले। खाना खाएपछि हेडमास्टर र उनका दुई छोरी स्कुल जान्थे। उनी भने बाख्रा चराउन।
पाँच वर्ष यसरी नै कट्यो।
पाँच वर्षमा उनले संसार धेरथोर बुझ्ने भए। बिस्तारै जिन्दगीको चिन्ता पनि पलाउँदै गयो। आफैले आफैलाई सोध्न थाले – कहाँबाट आएको हुँ म? आखिर किन?
‘गाउँमा एकजना मजस्तै घरेलु कामदार थिए। उमेर पुगिसकेका। तर उनी आफैलाई पनि कहाँबाट त्यहाँ आइपुगेको थाहा थिएन। उनको कुरा सुनेपछि मलाई डर लाग्न थाल्यो’, विष्णु सुनाउँछन्।
त्यो डरले उनलाई घर खोज्ने बनायो। तर, उनी आफैलाई पनि कहाँ थाहा थियो र? सायद डरैडरमा जिन्दगी बित्थ्यो। उनलाई खोज्दै दाइ आइपुगे।

दुई दाजु थिए सिन्धुपाल्चोकको माङ्खामा। आमा–बा दुवै नभएका उनीहरू पनि आफ्नै मेसोले जीवन संघर्ष गर्दै थिए। विष्णु हराएको थाहा पाएपछि खोजीनीति थालेछन्। दाइका एक साथीले थाहा पाएछन् – विष्णु कहाँ छन् भन्ने।
एक दिन दिलु श्रेष्ठको घरैमा आइपुगे दाजु। भाइ चिने। भाइले दाइ चिने। दाजुभाइ हुन् भन्ने पक्कापक्की भएपछि दिलु श्रेष्ठले एकजोर लुगा हाल्दिए। पाँच सय रुपैयाँ हातमा दिएर पठाए।
दाइको पछिपछि लागेर काठमाडौंको सानेपा आइपुगे विष्णु।
सानेपामा दुई दाजुले कोठा लिएका थिए। विष्णु दिनभर कोठामै बस्थे। दाइले एउटा वर्णमालाको किताब ल्याइदिएका थिए। त्यही किताब पल्टाइबस्थे। तर कसोकसो एकदिन हात चिलायो। घरबेटीको बिजुली पसल थियो। हात लम्काए उनले। पैसा निकाल्दानिकाल्दै समातिए। राति दाइहरूको केरकार सुरु भयो। अर्को दिनदेखि भाइलाई भित्र राखेर दाजुहरूले ताल्चा मारी हिँड्न थाले।
बन्दी जीवन दिक्क लाग्न थाल्यो। एकदिन जुक्ति लगाए विष्णुले। छिमेकमा घर बनाइरहेका ज्यामीहरूलाई ढोका खोलिदिन अनुरोध गरे। र सरासर निस्किए।
त्यहीँबाट सुरु भयो उनको सडक जीवन।
०००
पुस–माघको बेला थियो। मौसम चिसो थियो। काठमाडौंको सडकमा थिए विष्णु। शरीरमा एउटा जाँघे र कमिज थियो।
सानो विष्णुका लागि काठमाडौं ठूलै थियो। कहाँ जाने थाहा थिएन। जता हे¥यो घर। जता फर्कियो बाटो।
भन्छन्, खुट्टामा आँट र हिँड्नलाई बाटो भए जहाँ पनि पुगिन्छ। त्यसो त विष्णु कुनै कोलम्बस थिएनन्, जसलाई कुनै लक्ष्यमा पुग्नु थियो। उनी त भौंतारिरहेका एक बालक थिए जसलाई सायद ‘जिन्दगी’ खोज्नु थियो। तर त्यो खोज पनि उनी आफैलाई कहाँ थाहा थियो र?
सायद यस्तै हुन्छ जिन्दगी। मान्छे केही खोजिरहेको हुन्छ तर ऊ आफैलाई थाहा हुन्न, के खोजेको हो? बस् खोजिरहन्छ। भौंतारिरहन्छ। र बगिहिँड्ने खोलालेजस्तै जिन्दगीले आफै एउटा बाटो बनाउँदै जान्छ। र भेटाउँदै जान्छ नयाँ–नयाँ गन्तव्य।

बगिदिए विष्णु पनि लस्करमा लस्कर भएर। भीडमा भीड भएर।
‘साँझ पर्दै थियो। जाने कहाँ हो थाहा थिएन। थाकिसकेको थिएँ। एकठाउँमा मानिसहरू आगो तापेर बसिरहेको देखेँ। त्यहीँ हुलमा म पनि मिसिइदिएँ।’, सम्झिन्छन् उनी।
धेरैपछि उनले पत्ता लगाए। त्यो दिन, त्यतिबेला उनी वीर अस्पतालको आकस्मिक कक्ष छिर्ने गेटनेर पुगेका थिए।
आगोले न्यानो त दियो। पेट भरिदिएन। बस्दाबस्दै पेट बटारिन थाल्यो। एक जनाले चिया खाँदै थिए। मुखै फोरिदिए – ‘दाइ म पनि चिया खान्छु नि।’
दाइको मनमा दया पलायो। एक कप चिया आइहाल्यो। तर, चियाले भोक झुक्काउँथ्यो, मेटाउँथेन।
भोक थामिनसक्नु भएपछि खल्ती छामे। एक सुको थिएन।
खल्ती पो रित्तो। जाँगर कहाँ रित्तो थियो र? १२ बर्से जिन्दगीले सिकाइसकेको थियो – जिन्दगीमा बाँच्न छ भने काम गर्नुपर्छ।

आँखा घुमाए। छेउमा चिया पसल थियो। मानिसहरू भीड लाइरहेका। चिया–नास्ता खाइरहेका। त्यहीँ गए। काम मागे। चिया पसलका साहुले आँखा घुमाए। जुठा भाँडा देखाइदिए।
‘एक भारी भाँडा थिए। सबै माझिदिएँ’, सुनाउँदा मुस्काउन बिर्सिदैनन् विष्णु। आफै हिसाब गरे। यति काम गरेपछि पारिश्रमिक माग्नु उपर्युक्त हुन्छ। मागे भोक मेटाउने खाना।
‘साहुले एक गिलास चिया र पाउरोटीमा हलुवा राखेर दियो। चार–पाँच वटा पाउरोटी खाएपछि पेट डुम्म भयो। पेट भरिएपछि त्यहाँ बसिनँ, हिँड्दिएँ’, भन्दै गर्दा अर्को एउटा उदास मुस्कान फुस्कियो उनको ओठबाट।
त्यतिबेला कति बजेको थियो? रातको १ कि ३?
सायद घण्टा र मिनेटको कुनै गन्ती भएन। जिन्दगीको घडी त बिग्रिसकेको थियो। लखरलखर हिँडेर कलंकी पुग्दा बिहान भइसकेको थियो।
०००
कलंकीको बिहान अत्यधिक चिसो थियो। रन्केर हिँड्दा तातेको ज्यान उभिनासाथ लगलग काँप्न थालेको थियो। पाउरोटी–हलुवाको तागत पनि निख्रिँदै थियो। सोचे उनले, अब काम खोज्नुपर्छ। नभए मरिन्छ – भोकले, चिसोले।
तर कहाँ खोज्ने काम? कसले दिन्छ काम? भाँडा माझ्ने काम त उनले गरेर पनि छोडिसकेका थिए।
अरू केही गर्न चाहन्थे। हेरे– लहरै टेम्पो लाम लागेर उभिएका थिए।
काठमाडौंमा उतिबेला धुँवा फाल्ने टेम्पो चल्थ्यो। मान्छेहरू विक्रम टेम्पो भन्थे। ओठ निचोर्दा दूध आउनेजस्ता बालकहरू ती टेम्पोका छाती ठटाउँथे।

विष्णुलाई लाग्यो, काम यही हो। एउटा टेम्पो ड्राइभरको अगाडि गएर भने उनले – ‘दाइ म पनि खलाँसी गर्छु नि!’
‘खोइ के देख्यो उसले? एकै वचनमा राख्यो’, चलचित्रको दृश्यजस्तै वर्णन गर्छन् उनी।
ती टेम्पो ड्राइभरमात्र थिएनन्। साहु पनि थिए। उनका दुई वटा टेम्पो थिए। एउटा कमै निस्कन्थ्यो। त्यही कम निस्कने टेम्पोको सहचालक बने विष्णु। बनेर पुग्दैनथ्यो। काम सिक्नुपथ्र्यो। त्यही साहुको अर्को टेम्पोका सह–चालक विष्णुकै उमेरका थिए। उनैले सिकाए।
‘मलाई अहिले पनि याद छ, उसको ६ वटा औंला थिए। खुब हेप्थ्यो’, विष्णु सुनाउँछन्, ‘तर काम सिकायो।’
काम सिकेपछि विष्णुले ती साहुका दुवै टेम्पोमा काम गर्ने मौका पाए। अरू टेम्पो कलंकीदेखि रत्नपार्कसम्म कुद्थे। ती टेम्पो भने कलंकीदेखि लगनखेलसम्म। यो फरकले पैसा बढी दिन्थ्यो।
टेम्पोको जागिरले विष्णुलाई बिन्दास बनायो।
दिनभरि टेम्पो ठटायो। साँझ परेपछि टेम्पो ग्यारेजमा बस्थे। १५ रुपैयाँमा मासुभात पाइन्थ्यो। दिनको ३० रुपैयाँ त कमाइ नै हुन्थ्यो। मस्त मासु–भात खायो। अनि सिक्काको ढ्याक (घुच्ची) खेल्यो।
‘त्यतिबेला काठमाडौं बडो झिलिमिली थियो। सडकबत्तीले नि खुब उज्यालो फाल्थे। तिनै उज्यालोमा हामी ढ्याक खेल्थ्यौँ’, विष्णु सम्झिन्छन्।
एउटै रुटमा सात/आठ महिना काम गरे उनले। ६ वटा टेम्पो फेरे। एक दिन काम गर्दागर्दै उनका कान्छा दाइले भेट्टाए।
दाइलाई सायद माया लाग्यो भाइको। मःम खुवाउन खोजे। उनले मानेनन्। बरु रुट नै फेरिदिए। कलंकी–रत्नपार्क रुटमा उनको नयाँ यात्रा सुरु भयो।
रत्नपार्क रुटले सिविनसँग भेटाइदियो। सिविन सुरुवाती चरणमा थियो। विभिन्न काममा लगाइएका बालबालिकालाई सडकबाट उठाएर आश्रय दिन्थ्यो। उनीहरूलाई परिवारसँग पुनर्मिलन गराउन प्रयास गथ्र्यो।
विष्णु र उनीजस्तै बालमजदुर ट्रिप सकेर बसिरहेथे। सिविनका दुई जना कार्यकर्ता आइपुगे। उनीहरूले विष्णुहरूलाई सम्झाउन थाले।

‘काम गर्न हुँदैन। पढ्नपर्छ। हामीसँग हिँड। यस्तै केके भनेर सम्झाए’, विष्णु सम्झिन्छन्, ‘उनीहरूको कुरा सुन्दा जाउँजाउँ लाग्यो।’
तर एकैबाजीमा कहाँ हिँड्थे र उनी? जिन्दगीले शंका गर्न सिकाएको थियो। धेरथोक सोधे उनले। मीठो खान पाइने, आरामले बस्न पाइने, पढ्न पाइने भनेपछि जाउँ–जाउँ लाग्यो।
‘कतै बेच्न लैजाने त होइन?’ यस्तो पनि सोधे उनले।
उनीहरूले भने, ‘जाउँ, बसौं, चित्त बुझे बसे हुन्छ। नभए फर्किन पनि पाइन्छ।’
अनि ढुक्क भएर हिँडे उनी। अरू भने जान मानेनन्।
सिविनका तिनै कार्यकर्ताको पछि लागेर पुगे उनी काठमाडौं बाफलस्थित सेल्टरमा।
‘त्यहाँ पुग्दा त मजस्ता कति हो कति’, छक्कै परेछन् उनी।
बाफलको ‘सेल्टर’बाट विष्णुको जीवनले अर्को मोड लियो। टेम्पो ठटाउने हातहरूले चित्र कोर्न थाले। सेल्टरको नियम थियो, भात खान चित्र कोर्नुपथ्र्यो। जानीनजानी चित्र कोरे उनले। अहिले आफैले काम गर्न थालेपछि बुझेका छन् उनले – चित्र त बहाना रै’छ।
सिविनको नियम थियो – सेल्टरमा आइपुगेका बालबालिकालाई ट्रान्जिट सेन्टर पु¥याउने। ट्रान्जिटबाट घर खोजेर पुर्‍याइदिने। पाँच÷छ महिनामा दोस्रो पटक दाइकोमा पुगे उनी।
०००
दाइहरूले भक्तपुरको नलीनचोकमा घर किनेका रै’छन्। त्यहीँ पुगे विष्णु पनि।
दाइहरूले भाइलाई स्कुल पठाए। नजिकैको प्राथमिक विद्यालयको पाँच कक्षामा भर्ना भए उनी। तर विद्यालयमा अडिएनन् उनी।
एकदिन कक्षामा मास्टरले हिसाब पढाउँदै थिए। कसैलाई कालोपाटीमा हिसाब गर्न लगाए। उसले गरेको हिसाब ठिक छ÷छैन सोधे। सिंगो कक्षा चुप लागेको देखेपछि विष्णु जान्ने भइटोपले। भनिदिए, ‘हिसाब मिलेको छैन।’
तर मास्टरलाई त्यतिले कहाँ पुग्थ्यो? कहाँ मिलेन भन्नुपथ्र्यो। त्यो थाहा थिएन उनलाई। मास्टरको झापड खाए। त्यही झापडले स्कुलप्रति मोहभंग भयो। बेलुका भाउजूको खल्तीबाट तीन सय रुपैयाँ झिकेर फेरि सडकमा फर्किए उनी।
जिउमा गतिलै लुगा थियो। खल्तीमा तीन सय रुपैयाँ दाम। सोचे उनले, टेम्पोमै फर्किए पक्राउ परिन्छ। लागे बनेपा। बनेपा पुगेर एउटा होटलमा काम मागे। होटलमा अर्का कामदार पनि थिए। विष्णुकै उमेरका। पूर्वपरिचित। दुवै सिविनको सेल्टरमा भेटिएका।
पुराना दोस्त केहीबेर रमाए। अनि लागे भाँडा माझ्न। आफूभन्दा ठूला भाँडा माझ्न पर्ने भएपछि विष्णुले नयाँ प्लान बनाए – काठमाडौं फर्किने। खल्तीमा दाम दियो। आँट आइहाल्यो। कमाएपछि तिर्ने सर्तमा साथीलाई पनि भाडा हाल्दिए उनले।
रातिको गाडी चढेर दुई फकिर काठमाडौं ओर्लिए। काठमाडौं पो आइयो। त्यसअगाडिको कुनै प्लान थिएन। टेम्पोमा फर्किनु धराप थियो। रत्नपार्क, कलंकी अघोषित निषेधित क्षेत्र भइसकेका थिए। लागे पाटन। पाटनको अशोक चलचित्र मन्दिरनेर मिठाईपसल थियो। त्यहीँ काम गर्न बसे। काम भन्नु के थियो र? उही भाँडा।
भाँडाको दलदलले हैरान गरेपछि साथी हिँडिदियो। एक्लो विष्णुलाई पनि काम गर्न मन लागेन। साहुसँग भने, ‘मलाई घरको न्यास्रो लाग्यो। काम छोड्छु।’
साहुले सुरुमा मानेन। तलब बढाइदिने आश्वासन दियो। भन्यो– ‘बस् न। तैंले कति राम्रो काम गर्छस्। मैले तलब बढाइदिम्ला।’
तर मन मरिसकेको थियो विष्णुको। तलब लिएर निस्किए उनी। जीवनमा पहिलोपटक काम गरेर तलब समाएका थिए।
हातमा तलब त थियो। तर उनी सडकमा थिए। दोस्रोपटक कि तेस्रोपटक? अहँ, गरेनन् हिसाब। केही सोच्नै सकेनन्। १३÷१४ बर्से उमेरले सायद धेरै सोच्न सिकाउँदैन। केही नसोची खुरुखुरु गए, बाफलस्थित सिविनको ट्रान्जिट सेन्टरमा– खल्तीमा दाम, हातमा कपडा कोचेको प्लास्टिक झुन्डाएर। पूरै लाहुरे स्टाइलमा।
छे महिने छुट्टीमा घर फर्किएको लाहुरेजस्तै पुगे ट्रान्जिट सेन्टर।
ठानेका थिए मुस्कानको स्वागत पाइनेछ। तर पुग्नासाथ पाए एक झापड। बच्चै त थिए। रोइदिए डाँको छोडेर। कुट्नेचाहिँले एक पाउन्ड पाउरोटी ल्याएर दियो। तर खाएनन्। रोइरहे। रुवाइ शान्त भएपछि डिल गरे। फेरि घर नपुर्‍याउने सर्तमा ट्रान्जिट सेन्टरमा बस्न तयार भए।
सिविनका शुभराज (पोख्रेल) सर अभिभावक भइदिए।
विष्णु रुँदा शुभराज सरले आँसु पुछिदिए। डराउँदा आँट दिए। एकदिन धम्क्याए विष्णुले साथीहरूलाई, ‘चक्कु हानिदिन्छु।’
शुभराज सरले कुट्नु कुटे। अर्को दिनदेखि कराँते सिक्न पठाए।
ट्रान्जिट सेन्टरले विष्णुलाई धेरथोक सिकायो। बोल्न सिकायो। गीत गाउन सिकायो। त्यहीँबाट रेडियो नेपालमा नाटक खेल्न पनि पुगे। तर सधैँ सहज कहाँ हुन्थ्यो र?
‘सेल्टरमा केटाकेटी दुवै बस्थे। सिनियर दाइहरूको लभ पनि पथ्र्यो। एक जना सिनियर दाइले आफ्नो गर्लफ्रेन्डलाई जिस्काएको भनेर कुट्ने धम्की दियो।’, यो कथाले भने विष्णुलाई हाँसो उठायो।
धम्कीले डराए सायद। हुन सक्छ सेल्टरप्रति नै मन म¥यो। बिहानै ३ बजे टाप कसे। फेरि पुगे सडकमा। पुगे कलंकी। फेरि ठटाउन थाले टेम्पो।
सिविनले हप्ता दिनमै समात्यो। फेरि पुगे सेल्टर। फेरि हिँडिदिए एक महिनामै। फेरि आइपुगे सडकमा।
०००
यसपालिको सडक यात्रा फरक थियो। टेम्पो लाइनमा गए पक्राउ खाइने बुझिसकेका थिए विष्णुले।
सडकमा उभिएर खुब सोचे उनले।
घरको अनुभूति कहिल्यै भएन उनलाई।
दाइहरूसँग एउटा दूरीको सम्बन्ध रह्यो। कारण अनेक थिए। कति कारणहरूलाई उनी विस्मृतिको चिहानमा च्यापिदिन चाहन्छन्। डर लाग्छ, वर्तमान बिग्रने हो कि ? तर अनुभूतिका तिखा सुईहरू बेलाबेला घोच्न आइपुग्छन्। सपनाजस्तो अतीत झस्काइरहन्छ। उनी वर्तमानको च्यादरले विगत ढाक्न खोज्छन्।
तर कसरी बिर्सनु? त्यो झिसमिसे बिहान। त्यो अन्यौलको क्षण। त्यो काठमाडौं सहर। ती एक्ला उनी। कतै जान चाहन्थे। तर थाहा थिएन – कहाँ जाने? कतै भाग्न चाहन्थे। तर थाहा थिएन – कहाँ पुग्ने?
देखे उनीजस्तै एक हुल सडकमा फालिएका प्लास्टिक टिप्दै हिँडेका थिए। त्यहीँ हुलमा मिसिइदिए। जिन्दगीमा कहिलेकाहीँ जवाफ नआउने हिसाब गर्नुपर्छ। गरिदिए। जाने कता हो? थाहा थिएन। गर्ने के हो? मेलोमेसो थिएन। बस् हुल थियो। मिसिइदिए। हुलले सिकायो – कुन प्लास्टिक टिप्ने, कुन छोड्ने। कसको पैसा कति पर्छ।
त्यो हुल वसन्तपुर, न्युरोड र असनमा प्लास्टिक टिपिहिँड्थ्यो। सँगसँगै हिँड्न थाले उनी।
त्यहीँबेला त हो, उनी विशालबजारको गेटमा टेलिभिजन बेरिएका प्लास्टिक कुरिबस्ने। अरू प्लास्टिकभन्दा महँगोमा बिक्थ्यो त्यो।

‘अहिले पनि त्यहाँ पुग्दा झल्यास्स हुन्छु। यसो अलमलिराख्छु। पुराना दिनहरू सम्झनामा आउँछन्।’ विष्णुको अनुहारमा विगत स्मृतिका बादल दौडिन थाल्छन्। मेघ गर्जेलाजस्तो हुन्छ। आँखाबाट झरी बर्सेलाजस्तो हुन्छ।
अनि सन्नाटा टेबलमा बसिदिन्छ।
‘बिहान, बेलुका प्लास्टिक टिप्यो। दिनभरि घुम्यो। धरहराको पर्खाल नाघेर तास खेलेर बस्यो। साँचो स्ट्रिट लाइफ त त्यहाँ पो सुरु भयो। पेटीको जिन्दगी बिताउन थालियो।’, विष्णुले सुनाउँदा लाग्छ उनी अरू कसैको कथा सुनाइरहेछन्। भर्खरै हेरिआएको फिल्मको सायद। तर जिन्दगी फिल्म जस्तो सहज कहाँ हुन्छ र? मोड नै मोडले भरिएको हुन्छ जिन्दगी जहाँ हिरो पनि आफै, भिलेन पनि आफै।

अघिल्ला सडक जीवन केही नियमित थिए। काम निश्चित थियो, कमाइ निश्चित, बास निश्चित। यो बिल्कुल फरक भइदियो। एकदमै फुक्काफाल। एकदमै अनिश्चित। जहाँ आकाश, त्यहीँ सास। जहाँ पेटी, त्यहीँ बास।
भन्छन्, एउटा मोड आउँछ र जिन्दगी बिल्कुलै फरक दिसामा हिँडिदिन्छ। कहाँबाट कहाँ पु¥याइदिन्छ। त्यस्तै मोड आयो विष्णुको जीवनमा पनि।

अर्को दिन ‘नेपाल बन्द’ थियो। विष्णु एन्ड स्ट्रिट कम्पनी भूगोल पार्कमा बसिरहेथ्यो। एकजना मानिस आयो। भन्यो, ‘छेवैमा गोर्खापत्रका चाङ छन् जाऔं टिप्न।’
पुगेपछि पो थाहा भयो, ऊ त सादा पोसाकको प्रहरी पो रै’छ। प्रहरीले उनीहरू सबैलाई समात्यो। ट्रकमा राखेर घुमाउनु घुमायो। अन्तिममा दरबारमार्ग प्रहरी चौकीमा पुर्‍यायो। त्यहाँबाट फेरि सिविनको कमन रुम।
यो नै सबैभन्दा ठूलो मोड थियो, विष्णुको जीवनको।
०००
उनी भागेदेखि नै सिविनमा खोजी चलिरहेको रहेछ। यसपालि कसैले कुटेन उनलाई।
शुभराज सरले घर पठाए। विष्णुले मानेनन्। फर्काउने सर्तमा गए। पुगेपछि थाहा पाए, उनको नामको नाबालक पासपोर्ट बनाउने तयारी चलिरहेको रहेछ। पासपोर्ट बनाएको तेस्रो दिनमै विष्णु, वासु र मनोज गरी तीन जना बालक

फिलिपिन्सका लागि केन्द्रीय बाल कल्याण समितिका पूर्वकार्यकारी निर्देशक तारक धितालसँगै उडे।
बालश्रमको विपक्षमा जीवनभर अभियान चलाएका कारण सन् २०१४ को नोबल शान्ति पुरस्कार प्राप्त कैलाश सत्यार्थीको नेतृत्वमा सन् १९९८ मा विश्वभर बालश्रमविरुद्ध यात्रा भएको थियो। ग्लोबल मार्च–१९९८ भनेर चिनिइने त्यो प्रदर्शनमा नेपालको तर्पmबाट भाग लिन विष्णुसहित तीन बालक लगिएको थियो।
त्यही नै विष्णुको जीवनको सबैभन्दा ठूलो मोड थियो।
‘त्यसरी प्रहरीले नपक्रिएको भए। एकरात दरबारमार्गमा नथुनेको भए। र, सिविनमा नपु¥याएको भए म सायद यहाँ हुँदिनथेँ’, त्यो मोड सम्झिन्छन् विष्णु, ‘त्यहीँ एउटा मोडले मलाई मान्छे बनायो। नभए म कि जेलमा हुन्थेँ, कि सडकमा आवारा बनिरहेको हुन्थेँ कि...!’

सडकमा थोत्रा बोरा समाएर प्लास्टिक टिप्दै हिँडेका वा होटलमा भाँडा माझ्दै गरेका वा सवारी साधनको छाती ठटाउँदै गरेका बालबालिका देख्दा धेरैलाई लाग्छ सक्छ – यी कसरी सडकमा आइपुग्छन्?


उनको अपूरो वाक्यमा ठूलो संकेत छ। उनी आफैले ४० पनि नकटेका धेरै सडक मानिसहरूको शव उठाएका छन्।
कैलाश सत्यार्थीको नेतृत्वमा सन् १९९८ जनवरी १७ बाट फिलिपिन्सको मनिलाबाट बालश्रमविरुद्ध विश्वयात्रा (ग्लोबल मार्च) सुरु भयो। विश्वभरका बालबालिकालाई श्रमबाट मुक्त गराउनुपर्छ। उनीहरूलाई बालसुलभ जीवन, शिक्षा र स्वास्थ्य प्रदान गरिनुपर्छ भनेर एक सय ४० देशमा नारा लाग्यो। त्यो आवाजमा एउटा आवाज विष्णुको पनि थियो।
‘अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि १८२ मजस्तै बच्चाहरूले घाँँटी सुकाई सुकाई चिच्याएर ल्याएको हो’, भन्दै गर्दा उनको अनुहारमा गर्वको आभा झल्किन्छ।

त्यो यात्राले केवल महासन्धि पारित गराएन, विष्णुको जीवनमा पनि ठूलै परिवर्तन ल्यायो। उनले बुझे जविनमा नपढी काम छैन। नेपाल फर्केपछि सिविनकै ट्रान्जिट सेन्टरमा बसे। अनि हप्ताको एकपटक तारक धिताललाई पढाइदे भनेर कराउन थाले। तारकले काठमाडौंको कालीमाटीको जनप्रभातमा भर्ना गरिदिए। त्यहीँबाट विष्णुले एसएलसी पास गरे। सिविनको ट्रान्जिट सेन्टरमै बसेर।

एसएलसीपछि सिविनकै गौरी प्रधानले उनलाई स्वंयसेवकको जागिर दिए। स्वंसेवकको काम गरेर आउने पैसाले आईए र बीए पास गरे। त्यतिबेला उनी होस्टल वार्डेनका सहयोगी थिए।
बीए पास गरेपछि सिविनकै जागिरे भए। अहिले ग्रामीण विकासमा स्नातकोत्तर र एलएलबी उत्तीर्ण गरिसकेका छन्। जीवनले लय समातेको छ।

ट्रान्जिट सेन्टरमै उनलाई गितारको मोहनी लागेको थियो। शुभराज पोख्रेलले कविता लेख्न लगाएका थिए। उनी गीत गाउने भए। आफै संगीत सिक्न गए। गितार किने। बजाउन थाले। भिडियो खेले। उनका गीत युट्युबमा पाइन्छन्। हालै उनको रचना, संगीत र गायनमा ‘परिवर्तन सम्भव छ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।
०००
क्याफेको एक कुनामा बसेर विष्णु पौडेलले जीवनकथा सुनाउँदा उनी आफै स्मृतिकालमा पुग्छन्। हराउँछन्। उद्दीप्त देखिन्छन्। उनलाई थाहा छ, उनी साधारण मानिस हुन्। एकदमै सर्वसाधारण। तर, यो साधारण जिन्दगी बिताउन उनले असाधारण संघर्ष गरेका छन्। परिवार, साथ र सहयात्री खोज्दाखोज्दै उनले धेरै थोक पाएका छन्। धेरै थोक गुमाएका छन्।
सडकमा थोत्रा बोरा समाएर प्लास्टिक टिप्दै हिँडेका वा होटलमा भाँडा माझ्दै गरेका वा सवारी साधनको छाती ठटाउँदै गरेका बालबालिका देख्दा धेरैलाई लाग्छ सक्छ – यी कसरी सडकमा आइपुग्छन् ?

त्यसको एउटा जवाफ हुन् – विष्णु। जीवन खोज्दाखोज्दै जीवनसँग भागेर सडकमा आइपुग्छन् उनीहरू। उनीहरू माया, साथ र सहयात्रा खोजिरहेका हुन्छन्। कुनै मोड आउँछ जीवन फेरिन्छ। कुनै मोड आउँछ जीवन हुरीमा परेको झुपडीजस्तै तहसनहस भइदिन्छ। तहसनहस हुनबाट जोगिएका एउटा रूख हुन् विष्णु।
साधारण जीवनको असाधारण यात्रा हिँडेका उनी त्यसैले त भन्छन्, ‘कहाँबाट कहाँ आइपुगियो।’
 








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad