१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिर्दिबासमा चामल बिक्री बढ्यो, दुई हजार कोटा थप

खाद्य संस्थान गोरखाको कार्यालय। तस्बिर : नागरिक

गोरखा- उत्तरी गोरखामा खाद्यान्न (चामल) बिक्री बढेको छ। सिर्दिबास र माछाखोलामा चामल ढुवानी गर्दै आएको नेपाल खाद्य संस्थान शाखा कार्यालय गोरखाले बिक्री बढेपछि सिर्दिबासका लागि थप दुई हजार कोटा माग गरेको हो।

संस्थानले सिर्दिबासका लागि दुई हजार र माछाखोलाका लागि दुई हजार पाँच सय क्विन्टल खाद्यान्न ढुवानी गर्न प्रस्ताव गरेर स्वीकृति पाएको थियो। चालू वर्षको फागुन पहिलो साताभित्रै सिर्दिबासमा पूरै कोटा ढुवानी गरिएको र बिक्री पनि बढेकाले थप माग गरिएको शाखा प्रमुख नवीन बस्नेतले बताए।

‘बिक्री बढ्यो र कोटा ढुवानी पूरा गरेपछि थप माग गरेका हौं,’ बस्नेतले भने। खाद्य संस्थानसँग माग गरिएको कोटा स्वीकृत भएपछि ढुवानी गर्न लगाउने तयारी संस्थानले गरेको छ। यसअघि कमै वर्षमात्र सिर्दिबासमा पूरै कोटा खाद्यान्न ढुवानी भएको थियो।

माछाखोला डिपोमा भने चार सय ९६ क्विन्टल मात्रै ढुवानी भएको छ। अझै दुई हजार क्विन्टल ढुवानी गर्न बाँकी छ। माछाखोलासम्म सडक पुगेको, आसपासका गाउँबाट स्थानीय पहिलेजस्तो खरिद गर्न नआएको, बजारमा सस्तो चामल पाएको, घरनजिकको बजारमा चामल पाएपछि पहिलेभन्दा बिक्री कम भएको संस्थानले जनाएको छ।

दुबै डिपोमा एक÷एक जना कर्मचारी राखेर डिपोले चामल बिक्री गर्दै आएको छ। माछाखोलामा पूरै कोटा ढुवानी गर्ने र असारसम्म बिक्री पनि हुने दाबी संस्थानको छ। अहिले सिर्दिबासमा सोना मन्सुली चामल प्रतिकिलो ५० रुपैयाँ छ भने जापनिज चामल ४८ रुपैयाँ छ। माछाखोलामा सोना मन्सुली ४७ रुपैयाँ छ भने जापनिज ४४ छ।

संस्थानले दुवै डिपोमा केही चामल भने स्टक राखेको संस्थानका शाखा प्रमुख बस्नेतले बताए। अहिले जिल्लास्थित कार्यालयमा भने चार सय १८ क्विन्टल रहेको छ। कारागार शाखा गोरखाले एक सय ६३ क्विन्टल चालू वर्ष खरिद गरेको छ भने सदरमुकामका स्थानीयले संस्थानमा खासै चामल खरिद गर्दैनन्।

बजारमा सस्तो चामल पाउने भएपछि संस्थानसम्म पुगेर चामल खरिद गर्नेहरू कम हुने गरेको संस्थानका कर्मचारी बताउँछन्। खाद्यान्न ढुवानी हुने डिपोबाट सामागाउँ, बिही, ल्हो, प्रोक, केरौंजा, चुम्चेत, सिर्दिबासलगायत आसपासका स्थानीय लाभान्वित हुनेछन्। ती ठाउँहरूमा धानखेती हुँदैन। यहाँको मुख्य बाली आलु, गहुँ, जौ हो।

 

 

 

प्रकाशित: २३ चैत्र २०७५ ०९:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App