१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गिरिप्रेमीको हिमाल प्रेम

हिमाल शोखिनहरूको होइन, साहसीहरूको मनोरञ्जन थलो हो। त्यसैले नेपालमा वर्षेनी हिमाल आरोहणको लागि विश्वका साहसीहरूको जमघट हुने गर्छ। आठ हजार मिटर अग्ला विश्वका १४ मध्ये ८ हिमाल नेपालमै छन्। तिनै हिमाल आरोहणको लागि नेपाल आइपुग्छन् सयौं आरोही। तीमध्ये धेरैको लक्ष्य हुन्छ– सगरमाथा आरोहण। विश्वको सर्वोच्च शिखर सगरमाथासँगै अन्य हिमाल पनि आरोहीको नजरमा पर्छन्।

भारतको महाराष्ट्र पुनेको एक टोली अहिले नेपालका सबै हिमाल चढ्ने अभियानको अन्तिम चरणमा छ। गिरिप्रेमी नामको उक्त टोलीमा १६ जना छन्। तिनै १६ जनाको टोलीबाट नेपालमा रहेका ८ मध्ये ६ हिमाल आरोहण गरिसकेका छन्। हाल विश्वको तेस्रो र अहिलेसम्म कम आरोही चढेको सुन्दर हिमाल कञ्चनजंघाको तयारीमा छन्। हालसम्म यो हिमाल ३ सय ३० जनाले मात्रै आरोहण गरेका छन्। आरोहणको लागि एकदमै गाह्रो मानिने यो हिमालमा सन् २०१२ यता त आरोहण पनि हुन सकेको छैन।

गिरिप्रेमी टोलीका ११ जनाले सोही हिमाल आरोहण गर्न तीन दिनअघि मात्रै भारतीय दूतावासबाट भारतको झण्डा लिएर बिदा भइसकेका छन्। आरोहीहरूको टोली शनिबार कञ्चनजंघा हिमालर्फ लाग्दैछ। टोलीमा महाराष्ट्र भारतको सिभिलियन मात्रै  छन्। यो टोली सरकार तथा अन्य कतैबाट सहयोग नलिएर आरोहण गरिरहेको छ। तर, महाराष्ट्र पुनेका स्थानीयले भने टोलीलाई सहयोग गरिरहेका छन्।

गिरिप्रेमीको अभियानै नेपालमा रहेका आठ हजार मिटर अग्ला सबै हिमालको चुचुरोमा पुग्नेछ। गिरिप्रेमीको टोलीले सन् २०१३ मा सगरमाथा, लोत्से, सन् २०१४ मा मकालु, सन् २०१६ धौलागिरी र चोयू, सन् २०१७ मा मनास्लु आरोहण गरिसकेको छ। सन् २०१९ मा कंञ्चनजंघा चढ्दै छ। कञ्चनजंघा  आरोहणको लागि १३ जनाको टोली छ। यसपछि भने बाँकी रहेको अन्नपूर्ण आरोहणको लक्ष्य छ। आरोहण टोलीलाई भारतीय नागरिक उमेश झिरपेले नेतृत्व गरिरहेका छन्। गिरिप्रेमीको टोलीलाई नेपालस्थित पिक प्रमोसन कम्पनीले आरोहण व्यवस्थापन गर्दै आएको छ।

पिक प्रमोसनले गिरिप्रेमीको टोलीसहित अन्य विदेशी र दुई नेपाली गरेर २२ जनाको टोलीलाई कञ्चनजंघा आरोहण गराउँदैछ। २२ जनाको टोलीबाट हिमालको आरोहण मात्रै नभएर हिमाल सफाइसमेत गर्दैछ। हिमाल सफाइको नेतृत्व भने सगरमाथा आरोही संघकी अध्यक्ष तथा नेपाल पर्वतारोहण संघकी उपाध्यक्ष माया शेर्पाले गर्दैछिन्। मायाका अनुसार हिमालहरूमा फोहोर बढ्दै गएको छ। सफाइ अभियान सञ्चालन गर्नु अत्यावश्क भइसक्यो। त्यसैले हिमाल प्रेमीबाट सरकारको मुख नताकेर कञ्चनजंघा हिमालको सफाइ गर्न लागेको मायाले बताइन्।

हिमाल सफाइ अभियानलाई पनि पिक प्रमोसन कम्पनीले साथ दिएको छ। त्यसैगरी सफाइ अभियानले गिरिप्रेमी टोलीको समेत साथ पाएको छ। गिरिप्रेमीको नेतृत्व गरिरहेका झिरपेका अनुसार हिमालप्रेमी भएपछि हिमालमा छुट्टै लगाव हुन्छ। त्यसैले हिमाल सफाइ अभियानमा समावेश हुन लागेको हो। झिरपेको नेपालप्रतिको लगाव छुट्टै छ। पहिलो पटक सन् १९९८ मा टे«किङको सिलसिलामा नेपाल आएका झिरपे पिक प्रमोसन कम्पनीका संस्थापक तथा सगरमाथा आरोही वाङछु शेर्पासँगको भेटघाट भएपछि हिमाल आरोहणमा लागेका हुन्। उनी नेपालको आरोहण मात्रै गर्दैनन्, नेपालको पर्यटनलाई विकास गर्न पनि उतिकै खट्छन्।

महाराष्ट्रमा गएर नेपालको पर्यटनबारे स्वतःस्फूर्त रूपमा प्रचारप्रसार गर्छन्। आफ्नो प्रचारप्रसारबाट नेपालमा दुई हजार बढी टे«करहरूले विभिन्न रुटमा ट्रेकिङ गरेको दाबी उनको छ। ट्रेकिङ मात्रै नभएर आरोही नेपाल ल्याउन पनि उनले भूमिका खेल्दै आएका छन्। ६ वटा आरोहण अभियानको नेतृत्व गरिसकेका उनले धेरैलाई नेपालका हिमाल आरोहण गराइसकेका छन्। आरोही नेपालमा ल्याउनको लागि नेपालका चर्चित आरोही लगेर प्रचारप्रसार समेत गर्छन्।

२१ पटक सगरमाथा चढेका आप्पा शेर्पा, २२ पटक सगरमाथा चढेका कामीरिता शेर्पा र सगरमाथा आरोही माया शेर्पालाई पनि महाराष्ट्र पुनेमा लगेर नेपालका हिमाल र पर्यटनबारे प्रचारप्रसार गरिसकेका छन्। नेपालसँग भावनात्मक सम्बन्ध रहेको बताउने उनी भारतीय नागरिक भए पनि नेपालीजस्तै लाग्ने बताउँछन्। उनी भारत र नेपाल उतिउति समय बिताउँछन्। नेपालमा उनले भूकम्प आउँदा राहत वितरण गरे भने केही विद्यार्थीलाई अध्ययनमा समेत सघाएका छन्। अबको दिनमा पनि यस्तै अभियानमा लाग्ने उनले बताए।

प्रकाशित: २३ चैत्र २०७५ ०५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App