१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

चितवनको विजयी सुरुआत

चितवन- नारायणगढ क्याम्पाचौरमा सोमबार सुरु१२ औं टुबोर्ग विकास रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगितामा घरेलु टोली चितवन–११ ले विजयी सुरुआत गरेको छ। चितवनले हिमालयन युथ क्लब कैलालीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको हो। निर्धारित समयमा १–१ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।  खेलको ३८ औं मिनेटमा चितवनका बाबु बानियाँले पहिलो गोल गरेका थिए। हिमालयन युथले दोस्रो हाफको १५ औं मिनेटमा गोल फर्काउँदै बराबरी गरेका थिए। हिमालयनका लागि कप्तान प्रणय अन्जानले गोल गरेका हुन्।

पेनाल्टी सुटआउटमा कैलालीका दुई र चितवनका एक खेलाडीको प्रहार गोलमा परिणत हुन सकेन।

चितवनका गोलरक्षक मनोज गुरुङ सोमबार म्यान अफ दी म्याच भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए।

मंगलबार सशस्त्र प्रहरीको एपिएफ क्लब र पोखराको सहारा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको उद्घाटन शिक्षामन्त्री धनीराम पौडेलले गरेका थिए।  चितवन र हिमालयन युथसहित प्रतियोगितामा विभागीय टोलीहरू नेपाल पुलिस, त्रिभुवन आर्मी र एपिएफ तथा झापा ११, सहारा क्लब, मोरङ फुटबल क्लब, संकटा क्लब, मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा क्लबले भाग लिएका छन।

विकास रनिङ सिल्ड खेल्न भारतबाट बिहार सिवानको युनाइटेड क्लब, खर्साङको युनाइटेड खर्साङ फुटबल क्लब, एपेक्स फुटबल क्लब कालिङपोङ र सिक्किम ११ आउने छन्।

चितवनमा २०३१ सालदेखि हुँदै आएको विकास रनिङ सिल्डको यो १२ औं संस्करण हो। ५७ सालयता प्रतियोगिता भएको छैन।

विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक विकास सिल्ड समिति चितवनका अध्यक्ष श्यामकुमार पियाले जनाएका छन्।

फेयर प्ले अवार्ड पाउने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउने छ।   उत्कृष्ट खेलाडीले २५ हजार र सर्वाधिक गोलकर्ताले १५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।

२०५७ सालमा भएको विकास रनिङ सिल्डको ११ औं संस्करणको विजेता तत्कालीन शाही औषधि लिमिटेड हो। …३१ सालदेखि ४२ सालसम्म बीचमा दुई वर्ष रोकिए पनि प्रतियोगिता हुँदै आएको थियो। ०४२ सालमा आयोजना भएपछि एकैपटक ५७ सालमा भयो। त्यसपछि अहिले गर्दैछौं' अध्यक्ष पियाले भने। अब भने प्रत्येक वर्ष प्रतियोगिता आयोजना हुने उनले बताए।

आर्थिक समितिका संयोजक उत्तमलाल चुकेले प्रायोजकसँग लामो समयका लागि सम्झौता भएको जानकारी दिँदै आउँदो वर्षदेखि प्रतियोगिता निरन्तर हुने बताए। प्रतियोगिता सम्पन्न गर्न ६७ लाख ४३ हजार रुपैयाँ खर्च लाग्ने अनुमान छ।

प्रकाशित: २ कार्तिक २०७३ ०३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App