१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

चुहावट नगर्ने ग्राहकलाई चाेरीमा फसाउँदै

नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्र, भक्तपुरको कार्यालय भवन। तस्बिर: काष्ठमण्डप

भक्तपुर नगरपालिका वडा नं ८ लिवाली भक्तपुरकी मोहनकेशरी छेतलाले घरको विद्युत मर्मत गरिदिन भन्दै केही दिनअघि नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रमा निवेदन दिइन्। विद्युत मिटरको मुख्य स्विच तल झरेर छिनछिनमा विद्युत बन्द हुने गरेको उनले दुखेसो पोखिन्। त्यसको केही दिनमा वितरण केन्द्रका कर्मचारी उनको घरमा विद्युत बनाउन आए। तर, कर्मचारीले विद्युत मर्मत गरेनन्, मिटर उठाएर कार्यालय लगे। केही समयमा उनी कार्यालय पुगिन्। तर, उनलाई कर्मचारीले विद्युत चुहावट गरेको भन्दै ६५ हजार रुपैयाँ जरिवानासहितको बिल थमाइदिए। ‘हामीले विद्युत चुहावट गरेका होइनौ भनी धेरै बिन्ती बिसाइयो। तर, हाकिमसा’बले कुरै सुन्नुुभएन, उनले गुनासो गरिन्, ‘त्यसपछि एकजना चिनेको सरलाई विद्युत कार्यालयमा बोलाएर हाकिमसा’बसँग कुरा गराउन लगाए। त्यसपछि जरिवाना केही घटाउनुभयो। अन्ततः ४५ हजार रूपैयाँ जरिवाना तिरेर मिटर जडान गरे।’

भक्तपुर नगरपालिका वडा नं ७ हर्कबहादुर मानन्धरको पनि उस्तै व्यथा छ। तार चुँडिएर घरमा विद्युत आपूर्ति नभएपछि उनले पनि तार मर्मत गरिदिन भक्तपुर वितरण केन्द्रमा निवेदन दिए। तार मर्मत गर्ने भन्दै कर्मचारी उनको घरमा आए। र, मिटर खोलेर लगे।

छेतला र मानन्धर त उदाहरण मात्रै हुन्, अचेल दैनिक दर्जनौं ग्राहक यही पीडामा छन्। ‘घरमा विद्युत बिग्रियो भनेर निवेदन हाल्नु भनेको मैले घरमा चुहावट गरेको छु, पक्रन आउनुहोला भनेर निवेदन हाल्नुजस्तै भएको छ,’ उनीहरूको सामूहिक बुझाई छ, नियमसंगत निवेदन हाली काम गरौंभन्दा उल्टो अपराधी बन्नुपर्ने अवस्था छ।’ यसले कर्मचारीलाई घुस खुवाई काम गराउने परिपाटीलाई मलजल मिलेको उनीहरूको भनाई छ।

अर्का पीडित रामकृष्ण श्रेष्ठ मुचुल्का नउठाई मिटर उठाइदिँदा समस्या हुने गरेको सुनाउँछन्। विद्युतका कर्मचारीले झुक्याएर मिटर लगी चुहावटको जरिवाना तिराउने गरेको उनले दुखेसो पोखे। ‘सुरुमा घटना सामान्यीकरण गर्ने र कार्यालयमा मिटर पु-याएपछि ठूलो मुद्दा बनाइ कर्मचारीले ठग्ने गरेका छन्,’ उनले भने।

भक्तपुर नगरपालिका वडा नं ७ हर्कबहादुर मानन्धरको पनि उस्तै व्यथा छ। तार चुँडिएर घरमा विद्युत आपूर्ति नभएपछि उनले पनि तार मर्मत गरिदिन भक्तपुर वितरण केन्द्रमा निवेदन दिए।

मिटर मुचुल्का नउठाई उठाइदिँदा थप समस्या परेको उनको अनुभव छ। घरमा ठिक भनेको मिटर कार्यालयमा पुगेपछि चुहावटमा पारेर अपराध स्वीकार गर्न लगाउने प्रक्रिया चलाएपछि प्रतिरोध गर्दा मिटरमा थप गल्ती देखाई ठूलो जरिवाना गराउने गरेको उनको भनाई छ। ‘विद्युत बनाउन आउँदा मुचुल्का नउठाई मिटर वितरण गर्ने अनि त्यहाँ पुगेपछि यो भएन, त्यो भएन, यता मिलेन, उता मिलेर, मिटर नै नक्कली परयो भन्ने जस्ता अनेक आरोप हामीमाथि लगाउने गरेको छन्,’ उनले भने, पहिला ठिक भएको मिटर पछि कसरी बेठिक भयो भनी विवाद गर्दा मिटर थप बिगारी रिसिइवी साँध्छन्।’

त्यसकारण अब आइन्दा मिटर उठाउन खोज्दा मुचुल्का गराउन उनी ग्राहकलाई सुझाउँछन्।

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन सबैलाई एउटै डालोमा राखेर विद्युत चुहावटको मुद्दामा नपरेका ग्राहकलाई पनि अपराधी बनाउनु झन ठूलो अपराध भएको बताउँछन्। ‘निरअपराधलाई पनि अपराध कबोलको तयार कागजपत्रमा सही गराउनु झन ठूलो अपराध हो,’ उनले नागरिकसँंग भने, ‘यस विषयमा हामी गम्भीर छौं।’

केन्द्रदेखि देशभरका शाखाशाखा तहमा पनि यही तयार कागजपत्रमा सही गर्नुपर्ने भएकाले आफू गम्भीर भएको उनको भनाई छ। ‘नौजना अपराधीहरु छुटून् तर एकजना निरअपराध नपरुन्’ भन्ने न्यायको सिद्धातलाई प्राधिकरणले ध्यान दिनुपर्ने खाँचो उनी औंल्याउँछन्।

पहुँच अनुसार चुहावटको विल बनाएर मनोमानी गर्ने भएकाले सामान्य जनता झनै बढी पीडित हुने गरेको पीडितको भनाई छ। ‘चुहावटको बिल कुलमान सर (नेपाल विद्युत प्राधिकरण केन्द्र) ले बनाउने हो, हामीले बनाउने होइन, त्यसकारण म केही पनि गर्न सक्दिनँ भनी सोझोसिधा ग्राहकलाई झुक्याएर जिल्ला शाखामै मनोमानी चुहावट विल बनाउने पीडितको भनाई छ। साथै नियम अनुसार कुनकुनमा विद्युत खपटमा के कति चुहावट भयो भनी चुहावटको लिस्ट दिनुपर्ने नियम भए पनि नदिएर जरिवाना रकम जथाभाबी गर्ने गरेको उनीहरूको आरोप छ।

नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रका, प्रमुख प्रज्जवलमान श्रेष्ठ विद्युत चुहावट नगरेको प्रष्ट भए पनि प्राविधिक कारणले विद्युत चुहावटमा पार्न आफू बाध्य भएको बाध्यता पोख्छन्। ‘मिटर बिग्रनेबित्तिकै विद्युत चुहावट गरेको हो भन्न सकिन्न। तर, मिटर बिग्रने बित्तिकै चुहावटमा पर्छन्,’ उनी भन्छन्, ‘त्यसकारण कोही निर्दोष पनि चुहावटमा परेर फसेका होलान्।’

प्रकाशित: २२ चैत्र २०७५ ०७:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App