१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उडायो सपना सबै हुरीले

दुवै मृगौला खराब भई उपचारको लागि गाउँबाट चन्दा संकलन गरेर राखेको नगदसहित उडाएर लग्दा अब कसरी उपचार गर्ने भनी सोचमा डुबेका कृष्ण साह र श्रीमती सरिता साह। तस्बिर : मदन/नागरिक

बारा (बलिरामपुर) - ‘उडायो सपना सबै हुरीले ...’ गायक मुरलीधरको शब्द, संगीत र स्वरमा रहेको गीतको यो अंश यतिखेर बारा र पर्साका हावाहुरीपीडितको जीवनमा मलेको छ। सोही गीतमा भनेजस्तो त्यो ‘अलच्छिने बतास’ कहाँबाट आयो पीडितहरूलाई केही थाहा छैन तर त्यही ‘निठुरी’ले उनीहरूको सपना भने ‘उडाइलगेको’ छ। आइतबार साँझ दुई मिनेटमात्रै आएको हुरीले दर्जनभन्दा बढी परिवारका सदस्य नै लग्यो। धेरैलाई घरबारविहीन बनायो। घरसँगै उनीहरूले सजाएका सपना पनि विलीन भए।

गरिबका पनि आ–आफ्नै सपना र इच्छा हुन्छन्। त्यो सपना पूरा गर्न दुःख गरेरै उनीहरूले केही जोरजाम गरिरहेका हुन्छन्। यस्तै एउटा सपना थियो, कलैया–१३ बलिरामपुरका वीरबहादुर साह कानूको। ऋण गरेरै भए पनि उनी आफ्नै आँगनबाट छोरीको विवाह धुमधामसाथ गर्न चाहन्थे। उनको यो सपना साकार हुनै पनि लागेको थियो। केही दिनअघि वीरगन्ज छपकैया घर भएका मंगल साहको छोरा अनिलसँग २० वर्षीया छोरी सीमाकुमारीको फूलमाला पनि गरिसकेका थिए। वीरबहादुरको परिवार विवाहको तयारीमा जुटेको थियो। विवाहको मिति वैशाख पहिलो साता तोक्ने तयारी थियो।

छोरीको विवाहका लागि भनेर वीरबहादुरले डेढ तोलाको सुनको टीका, नाकको फुली, नथिया, बनाएर घरमा राखेका थिए। निर्धन उत्थान लघुवित्त संस्था कलैयाबाट विवाहका लागि दुई लाख ऋण पनि लिएका थिए उनले। तर उनको सपना आइतबार रातिको त्यो हुरीसँगै बिलायो। हुरीले घर भत्काउँदा घरमै रहेको डेढ तोलाभन्दा बढीको गरगहना र दुई लाख रुपैयाँ त्यसैमा पुरियो। तर अहिले पनि उनी त्यो भग्नावशेषमा पुरिएको ‘खुसी’को खोजिरहेका छन्। ‘चार दिन भयो, भत्किएको घर पन्छाएर गहना र पैसा खोजिरहेको छु,’ वीरबहादुरले निकै भावुक मुद्रामा भने, ‘तर भेटिएको छैन।’
अहिले उनको परिवारको बास खुला आकाशमुनि छ। उनको गाउँमा त्रिपालबाहेकको राहत पुग्न सकेको छैन। भत्किएको घरमा पुरिएको खुसी भेटिन्छ कि भन्ने आस अझै मरेको छैन वीरबहादुरको। ‘यतै कतै छ,’ आशाको भावमा उनी भन्छन् ‘भेटिन्छ जस्तो लाग्छ।’

छोरीको विवाह छिनिसकिएको छ। घर भत्किएको पीडा त छँदै छ, त्योभन्दा ठूलो पीडा छोरीको विवाह कसरी गर्ने भन्ने छ। ‘विवाह छिनेको छ। गहना र पैसा भेटिएन भने कसरी विवाह गर्ने ? चिन्ता छ,’ उनले नागरिकसँग भने।
हावाहुरीबाट क्षति भएको खबर सुनेपछि केटा पक्ष आएर सहनाभूति जनाएका थिए। उनीहरुले जसरी भए पनि बिहे वैशाखमै हुन्छ भन्दा केही राहत अनुभव भए पनि बिहेमा हुने खर्चका लागि फेरि गाउँमा साहु–महाजनसँग ऋण लिनुपर्ने बाध्यता सिर्जना भएको वीरबहादुरकी श्रीमती सरितादेवी कानूले बताइन्।

वीरबहादुरको घरसँगै जोडिएका नातेदार कृष्ण साह कानूको पीडा पनि उस्तै छ। साहका दुवै मृगौला खराब छन्। त्रिवि शिक्षण अस्पतालमा उनको उपचार हुँदै छ उपचारका लागि चन्दा उठाएर जम्मा गरेको ३५ हजार रुपैयाँ पनि हुरीसँगै कहाँ उड्यो, अत्तोपत्तो छैन।
भेटिन्छ कि भन्ने झिनो आशा भने बाँकी नै छ। त्यही आसमा कृष्णा र उनकी श्रीमती सरितादेवी चार दिनदेखि भत्किएको घरको भग्नावशेष कोट्याउने काममा लागिपरेका छन्, ‘उहाँको उपचार गरेर केही गर्न सक्नुहुन्छ कि भन्ने आशा थियो। हामीसँग भएको सबै पैसा सकिएपछि चन्दा उठाएका थियौं,’ सरितादेवीले भनिन्, ‘तर उपचार गरेर बिसेक हुने सपना हावाले उडाएको छ।’

चार दिनमा पनि खुलेन अवरुद्ध सडक
हावाहुरीका कारण चार दिनदेखि अवरुद्ध बाराको बलिरामपुरदेखि छोटकी फुलबरियासम्म जोड्न सडक बिहीबार दिउँसोसम्म पनि सञ्चालन हुन सकेको छैन। सडकमा ढलेका सिसौका रूख, बाँस आदि पन्छाउन सरोकारवालाहरूले ध्यान नदिँदा सो सडक सञ्चालनमा आउन नसकेको हो।
सडक सञ्चालन हुन नसकेका कारण कलैया–१३ बलिरामपुरका हुरीपीडितले राहत पाउन नसकेको गुनासो गरेका छन्। ‘राहत ल्याउन आउनेहरू बाटोको अवस्था देखेरै आउँदैनन्,’ स्थानीय रामचन्द्र साहले भने, ‘हामीले त्रिपालबाहेक अहिलेसम्म केही पनि पाएका छैनौं।’
सो सडकको अवस्थाबारे जिज्ञासा राख्दा कैलया उपमहानगरपालिकाका मेयर राजेश यादवले ‘आफूले भर्खरै मात्र जानकारी पाएको,’ बताए। ‘मैले भर्खर मात्रै जानकारी पाएको छु। अब काम अगाडि बढ्छ,’ उनले नागरिकसँग भने, ‘चाँडै बाटो खुल्छ।’ हुरीका कारण बलिरामपुरका १० परिवारलाई विस्थापित भएको छन्।

प्रकाशित: २२ चैत्र २०७५ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App