१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पेट्रोलियम भण्डारण क्षमता पाँचगुणा बढाइँदै

काठमाडौं- उपभोक्तालाई सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन नेपाल आयल निगमले इन्धन भण्डारण क्षमता पाँच गुणा बढाउने तयारी गरेको छ। अहिलेको भण्डारण क्षमतालाई संरचनागत रुपमै बढाई करिब ३९ करोड लिटर पुर्‍याउने निगमको योजना कार्यान्वयन चरणमा लगिँदै छ। त्यसका लागि निगमले यही वर्ष ५ अर्ब रुपैयाँ बजेटसमेत छुट्ट्याएको छ।

निगमको विद्यमान डिपो क्षमतामा थप ३१ करोड १७ लाख लिटर (३ लाख १७ हजार किलोलिटर) पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन) भण्डारण गर्न (ट्यांक) निगम पूर्वाधार निर्माणमा जुट्न लागेको हो।

अहिले रहेको ७१ हजार किलोलिटर (७ करोड १० लाख लिटर) क्षमताले बजार माग दुई साता पनि नथेगेपछि भण्डारण क्षमता विस्तार गरेर ३ लाख ८८ हजार किलोलिटर (३८ करोड ८० लिटर) पुर्‍याउन लागिएको निगमले जनाएको छ। १ किलोलिटर बराबर १ हजार लिटर हुन्छ।

पूर्वाधारसहित भण्डारण क्षमता बढाउन आव ०७३/७४ मै ५ अर्ब रुपैयाँ विनियोजन गरिएको निगमका कार्यकारी निर्देशक गोपाल खड्काले जानकारी दिए। 'काठमाडौंसहित देशभर भण्डारण क्षमता बढाउन कार्ययोजना तयार छ, बजेट पनि स्वीकृत भएको छ,' खड्काले भने, 'यो वर्ष नै जग्गा खरिद गरेर विस्तारको काम सुरु हुन्छ।'

लामो समययता क्षमता विस्तार गर्ने योजना बनाएको भए पनि चालु आर्थिक वर्षमा बजेटै विनियोजन गरी काम गर्न लागेको उनको भनाइ छ।

नाफा कमाउन थाल्दा पनि उपभोक्ता अपेक्षाअनुसार मूल्य नघटाएको आरोप लागिरहेका बेला निगमले नाफा रकम पूर्वाधार निर्माणमा खर्चन थालेको हो। यस्तो योजनाले उपभोक्तालाई सहज रुपमा इन्धन आपूर्ति गर्न भने सघाउनेछ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन ल्याएर बिक्री गर्न एकाधिकार पाएको निगमले सम्पूर्ण ऋण तिरेर नाफामा गएपछि पेट्रोलियम पदार्थ बिक्रीबाट आएको नाफाबाट पूर्वाधार निर्माण गर्ने योजनालाई पहिलो प्राथमिकतामा राखेको छ। निगमको प्रक्षेपणअनुसार अहिले मासिक करिब ३५ करोड रुपैयाँ नाफा छ।

मुलुक संघीय संरचनामा गएसँगै निगमले सातै प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारण गर्न डिपोको सुधार विस्तारसहित नयाँ संरचना निर्माण गर्न लागेको हो। निगमको योजनाअनुसार प्रदेश नं १ को झापा चारआलीमा ५५ हजार किलोलिटर, २ को जनकपुरमा ३६ हजार किलोलिटर, ३ को काठमाडौंमा १ लाख ३७ हजार किलोलिटर, ४ को पोखरामा ४० हजार किलोलिटर, ५ को भैरहवा भलवाडीमा ६५ हजार किलोलिटर, ६ को सुर्खेतमा ३० हजार किलोलिटर र ७ को धनगढीमा २५ हजार किलोलिटर पुर्‍याउन नयाँ भण्डारण स्थलसहित क्षमता बनाउने तयारी छ।

अहिलेको पेट्रोलियम पदार्थ माग, बढ्दो सवारी चापलाई समेत मध्यनजर गरेर निगमले योजना बनाएको हो। मुलुक संघीय संरचनामा जाँदा त्यहाँको मागअनुसार सहज रुपमा पेट्रोलियम पदार्थ आपूर्ति व्यवस्थापन सजिलोका लागि नयाँ खाका तयार पारिएको खड्काले जानकारी दिए। 'पुराना डिपो भएको ठाउँमा क्षमता बढाउँदै छौं,' खड्काले भने, 'नभएको ठाउँमा नयाँ निर्माण गर्छौं।'

निगमले यस वर्ष अपुग बजेट अर्को वर्षको नाफा र अन्य स्रोतबाट खोजी गर्ने योजना बनाएको छ। हाल निगमका १० डिपोको ७१ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण क्षमता छ। इन्धन भण्डारण क्षमता बढाउन सके तीन महिनालाई पुर्‍याउन सकिने निगमको दाबी छ। हाल भइरहेको भण्डारण गृहले पेट्रोल ५ दिन, डिजेल १९ दिन, मट्टीतेल ९९ दिन र हवाई इन्धन २० दिन पुग्ने निगमले जनाएको छ।

नयाँ योजनाअनुसार संरचना तयार भएर इन्धन भण्डारण गरे ९० दिनलाई पुग्ने निगमको वितरण विभाग प्रमुख सीताराम पोख्रेलले बताए। 'करिब तीन महिनालाई पुग्ने गरी क्षमता विस्तार गर्दैछौं,' पोख्रेलले भने, 'निगमले सबै ऋण तिरिसकेकले नाफाको रकम भण्डारण क्षमता बढाउन खर्चन लागेका हौं।' अहिले भएको संरचनामा पनि पूरा स्टक राख्ने योजना बनाएको उनले जानए।

पेट्रोलियम बजारलाई व्यवस्थित गर्न निगमले सबै क्षेत्रमा भण्डारण क्षमता बढाउने तयारी स्वागतयोग्य भएको नेपाल पेट्रोलियम डिसर्ल एसोसिएसनको प्रतिक्रिया छ। पेट्रोलियम पदार्थ आयातमा सामान्य अवरोध हुनासाथ वितरण अव्यवस्थित हुने भएकाले नयाँ परियोजनालाई तुरुन्त कार्यान्वयनमा लैजानुपर्ने एसोसिएसन अध्यक्ष लीलेन्द्र प्रधानले बताए।

'सम्बन्धित क्षेत्रमा डिपो बनाएर वितरण गर्दा पेट्रोल पम्प सञ्चालकलाई पनि सहज हुन्छ,' अध्यक्ष प्रधानले भने, 'निगमको योजनामा सरकारले पनि सघाउनुपर्छ।'

मट्टीतेलको माग घट्दै गएपछि निगमले बनाएका मट्टीतेलका ट्यांकलाई पेट्रोल र डिजेलमा रुपान्तरण गर्ने प्रक्रियासमेत सुरु गरेको छ। निगमले थानकोटमा रहेको ४२ लाख लिटर मट्टीतेल राख्ने ट्यांकलाई पेट्रोलमा परिणत गर्न भारतीय कम्पनीलाई ठेक्का दिइसकेको छ। निगमसँग थानकोटमा अहिले १८ लाख लिटर पेट्रोल भण्डारण गर्ने क्षमता छ। दुई ट्यांक पेट्रोलमा परिणत गरेपछि थानकोटको क्षमता ६० लाख लिटर पुग्नेछ।

थानकोट डिपोमा रहेका २१ लाख लिटरका दुई मट्टीतेल ट्यांक प्रयोगविहीन थिए। भारतको नाकाबन्दीपछि इन्धन भण्डारण क्षमता कमजोर हुँदा छोटो समयमै मुलुकभर इन्धनको हाहाकार भएको थियो। नेपाल इन्धनमा भारतको मात्रै भर पर्नुपरिरहेका बेला आयात, ढुवानीमा समान्य अवरोध हुनासाथ राजधानीसहित देशभर त्यसको प्रत्यक्ष असर देखिने गरेको छ।

विस्तारपछिकोे भण्डारण क्षमता

स्थान क्षमता (किलोलिटर)

झापा ५५ हजार

जनकपुर ३६ हजार

काठमाडौं १ लाख ३७ हजार

पोखरा ४० हजार

भैरहवा ६५ हजार

सुर्खेत ३० हजार

धनगढी २५ हजार

जम्मा ३ लाख ८८ हजार

स्रोत :  नेपाल आयल निगम

 

 

प्रकाशित: २ कार्तिक २०७३ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App