१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दिक्तेल–च्यानडाँडा सडकखण्डमा कालोपत्रे सुरु

दिक्तेल–चखेवा भन्ज्याङ सडकको सोल्मा होराखामा बिच्छ्याइएको प्राइम। तस्बिर : दमन/नागरिक

खोटाङ- मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवा भन्ज्याङ सडकखण्डमा कालोपत्रेका लागि प्राइम राख्न सुरु गरिएको छ। सो लोकमार्गको दिक्तेलदेखि जयराम खण्डमा मात्र कालोपत्रे गर्ने काम भइरहेकोमा दिक्तेल–चखेवा भन्ज्याङबिचको ३६ किलोमिटर सडकखण्डमा पनि प्राइम राख्न सुरु गरिएको हो।

दुई वर्षभित्र पूरा गर्नेगरी आव २०७१÷७२ मा टेन्डर पाएको निर्माण कम्पनी रमन–गोल्डेन गुड जेभीले २०७२ चैतदेखि कल्भर्ट, कजवे, ग्याभिन वाल हाल्ने, ग्राभेल गर्ने, आरसीसी पर्खाल, पुल निर्माणलगायत काम सुरु गरेको थियो। साथै आगामी असारसम्ममा १८ किलोमिटर सडकखण्डमा कालोपत्रे गर्नेगरी चैत १७ गतेदेखि प्राइम राख्न थालिएको निर्माण कम्पनीले बताएको छ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको होराखा क्षेत्रबाट कालोपत्रेको प्रारम्भिक चरण मानिने प्राइम राख्न थालिएको हो। हालसम्म धुलाम्मे सडकमा प्राइम राख्न थालेपछि स्थानीयमा उत्साह जागेको छ। प्राइम सुकेपछि डिबिएसटी फस्र्टकोड कालोपत्रे र सेकेन्ड कोड कालोपत्रे सुरु गरिने मध्यपहाडी सडक आयोजना पूर्वी खण्डका इन्जिनियर दीपक खड्काले बताए। ‘दिक्तेल–चखेवा भन्ज्याङ सडकमा औपचारिक रूपमा कालोपत्रेको काम सुरु भएको हो,’ इन्जिनियर खड्काले भने, ‘प्राइम सुकेपछि फस्र्टकोड राख्ने काम सुरु हुन्छ।’ करिब एक अर्ब नौ करोड रुपैयाँको लगानीमा २०७५ सालभित्र कालोपत्रेको काम पूरा गर्नेगरी निर्माण सुरु भएको उनले जानकारी दिए।

मध्यपहाडी सडक आयोजना पूर्वी खण्डका अनुसार दिक्तेल–चखेवा भन्ज्याङको दिक्तेल–कालीखोला (नौ किलोमिटर), कालीखोला–दारुला (नौ किलोमिटर), दारुला–पेलुङ (आठ किलोमिटर) र पेलुङ–च्यानडाँडा (१० किलोमिटर) खण्डको काम रमन–गोल्डेन गुड जेभीले गरिरहेको छ। च्यानडाँडा–चखेवा भन्ज्याङ सडकको काम भने मैनाचुली सिद्धिसाई निर्माण कम्पनीले गरिरहेको छ। मध्यपहाडी लोकमार्गकै बिजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल सडकको तुलनामा दिक्तेल–चखेवा भन्ज्याङ सडक कालोपत्रेको काम सन्तोषजनक रूपमा अघि बढेको स्थानीयको भनाइ छ। हालसम्म दिक्तेल–कालीखोलाको काम ८० प्रतिशत, कालीखोला–दारुलाको काम ७० प्रतिशत, दारुला–पेलुङको काम ५० प्रतिशत र पेलुङ–च्यानडाँडा खण्डको काम ५० प्रतिशत पूरा भएको कम्पनीले बताएको छ।

सकिँदै कालोपत्रेको म्याद
दिक्तेल–चखेवा भन्ज्याङ सडकका चारखण्डमध्ये २०७२ साल असारमा सम्झौता गरिएको दारुला–पेलुङको म्याद गत पुसमा सकिइसकेको छ। यस्तै २०७२ साल चैतमा सम्झौता गरिएको पेलुङ–च्यानडाँडा खण्डको म्याद यही चैत मसान्तसम्म मात्र बाँकी छ। २०७२ साल वैशाखमा सम्झौता भएको दिक्तेल–कालीखोला र कालीखोला–दारुला सडकखण्डको म्याद पनि आगामी असारसम्म मात्र बाँकी रहेको बताइएको छ।

दुईवटा पुल मात्र तयार
दिक्तेल–च्यानडाँडा सडकखण्डमा पर्ने कालीखोला र लप्से दुधुले खोलामा १५÷१५ मिटरको डेक्स स्ल्याब मोटरेबल पुल निर्माण भइसकेको छ। सो सडकखण्डमा पर्ने दाम्दे र साप्सु खोलाको पुलको काम अझै बाँकी रहेको छ। यस्तै दिक्तेल–चखेवा भन्ज्याङ खण्डकै भुलभुले खोला, पंखु खोला, सेखुवा, मेवा, छेपे र भालु खोलाको मोटरेबल पुल पनि तयार हुन सकेको छैन। पुल निर्माणको कामको प्रगति सन्तोषजनक नदेखिएको स्थानीयको गुनासो छ।

गुणस्तरमा प्रश्नै–प्रश्न
मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवा भन्ज्याङ सडकखण्डको काम अन्य खण्डको तुलनामा बढी देखिए पनि गुणस्तरका विषयमा भने प्रश्न उठिरहेको छ। सडकका अधिकांश पर्खाल, नाली र डिलमा बनाइएका पिल्लरलाई कोट्याउँदा सहजै कोटिने, चोइटिने र धुलो झर्ने गरेपछि कामको गुणस्तरको विषयमा स्थानीयले प्रश्न उठाउँदै आएका छन्। दिक्तेल–चखेवालगायत सडकखण्डमा गुणस्तरहीन काम भइरहेको गुनासोका आधारमा प्रशासनको संयोजकत्वमा २०७३ माघ १८ गते बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकको निर्णयअनुसार प्राविधिकसहित स्थलगत अध्ययन गरिएको थियो। यस्तै, जिल्ला समन्वय समितिले यही चैत १८ गते बोलाएको निर्माण व्यवसायीसँगको बैठकमा समेत सो सडकखण्डको गुणस्तरका विषयमा प्रश्न उठेको थियो। कतिपय पुलको पर्खाल निर्माणलगत्तै चर्किएको पाइएको योङ कम्युनिस्ट लिग खोटाङका अध्यक्ष मिलनचन्द्र राईले बताए।

प्रकाशित: २१ चैत्र २०७५ ०३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App