१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फोरम र नयाँशक्तिबीच भित्रभित्रै एकताको गृहकार्य

काठमााडौं - संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच पार्टी एकताका लागि चिठीमार्फत सम्वाद आदानप्रदान भइरहेको छ, तर फोरमको पहिलो ध्यान भने राजपाभन्दा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीतिर गएको छ।

फोरम स्रोतका अनुसार फोरम र राजपाबीचको वार्ताबारे बाहिर जति चर्चा छ, त्योभन्दा बढी वार्ता र छलफल नयाँ शक्तिका नेताहरूसँग भित्रभित्रै भइरहेको छ। राजपासँग एकीकरण गर्नुअघि नै नयाँ शक्तिसँग पार्टी एकीकरण गर्ने फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रयास रहेको स्रोतले बतायो।

चुनावअघि पनि फोरम र नयाँ शक्तिबीचको एकीकरण प्रयास गरिएको थियो। त्यतिखेर एकीकरणका लागि विधान र घोषणापत्रसमेत तयार भएको थियो तर एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा विवाद हुँदा एकीकरण प्रयास तुहिएको थियो। त्यो प्रयास हाल फेरि सुरु भएको फोरमका नेताहरूले जनाएका छन्। फोरमका महासचिव रामसाह यादवले पनि नयाँ शक्तिसँग पार्टी एकीकरणका लागि वार्ता र छलफल भइरहेको स्वीकार गरे। उनले भने, ‘वार्ता र छलफल भइरहेको छ तर एकीकरणका लागि ठोस प्रगति भने भएको छैन।’

स्रोतका अनुसार नेपाल कम्युनिस्ट पार्टीको मोडलबाट पार्टी एकीकरण गर्न यादव र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई सहमत भएका छन्। यादव र भट्टराई दुवै नेता एकीकृत पार्टीको अध्यक्ष हुनेगरी पार्टी एकीकरण गर्न प्रयास भइरहेको फोरम स्रोतले बतायो। स्रोतले भन्यो, दुई पार्टीको वार्ता टोलीले आगामी वैशाख १८ गते पार्टी एकीकरण गर्ने मितिसमेत प्रस्ताव गरेको थियो तर केही विषयमा सहमति नजुट्दा वैशाख १८ को मिति टर्‍यो।’ फोरमका एक नेताका अनुसार एकीकृत पार्टीमा यादव र भट्टराई अध्यक्ष भएमा पहिलो अध्यक्ष को हुने भन्ने विषयमा अझै कुरा मिलेको छैन।

फोरमको वार्ता टोलीले नयाँ शक्तिभन्दा फोरम ठूलो पार्टी भएकाले ठूलो पार्टीको हैसियतबाट यादव एकीकृत पार्टीको पहिलो अध्यक्ष हुनुपर्ने प्रस्ताव गरेका छन्। तर, नयाँ शक्तिका नेताहरू भने भट्टराई पूर्वप्रधानमन्त्री भइसकेका व्यक्ति भएकाले राजनीतिक वरिष्ठताको आधारमा पनि पहिलो अध्यक्ष भट्टराई हुनुपर्ने अडान राखेका छन्। ‘यो मिल्ने सक्ने विषय हो,’ स्रातले भन्यो।

फोरम र नयाँ शक्तिबीच पार्टी एकता भएका एकीकृत पार्टीको नाम फेर्न दुवै पार्टीका नेताहरू तयार छन्। चुनावअघि एकीकृत पार्टीको नामसमेत तयार भएको थियो। नयाँ शक्तिसँग वार्ता गर्न फोरमले पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्त टोली बनाएको छ भने नयाँ शक्तिले नवराज सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। दुइ टोलीवीच २÷३ पटक औपचारिक वार्ता भएको फोरमका नेताहरूले जनाएका छन्। यसैगरी, अनौपचारिक वार्ता पनि दुइ तीन पटक भएको छ। यसैगरी फोरमका अध्यक्ष यादव र नयाँ शक्तिका संयोजक भट्टराइवीच पनि छुट्टै संवाद भएको स्रोतले बतायो। फोरम स्रोतले भन्यो, चुनाव पछि फोरमसँग पार्टी एकीकरण गर्न नयाँ शक्ति पहिलेको भन्दा बढी लचिलो भएको छ। त्यसैले फोरम र नयाँ शक्तिको एकताको सम्भावना नजिकिदै गएको फोरमका एक नेताले बताए।
बक्स

राजपाको चिठी कुर्दै फोरम
करिब सात दिनअघि फोरमले राजपालाई पठाएको चिठीको जवाफ राजपाले अहिलेसम्म पठाएको छैन। फोरमले राजपालाई अहिलेसम्म दुईवटा चिठी पठाइसकेको छ तर राजपाले एउटा मात्र पठाएको छ। राजपाका महासचिव केशव झाले एकदुई दिनभित्रै फोरमले पठाएको चिठीको जवाफ दिने बताए। राजपाको अध्यक्षमण्डलको बैठक तत्काल बोलाउने तयारी भइरहेको भन्दै बैठकपछि फोरमलाई चिठीको जवाफ पठाइने झाले जानकारी गराए।

राजपासँग पार्टी एकीकरण गर्न सुरुमा फोरमले नै राजपालाई प्रस्ताव गरेको थियो। त्यसको एक महिनापछि मात्र राजपाले फोरमलाई चिठीको जवाफ पठाएको थियो। चिठी आदानप्रदान भइरहे पनि अहिलेसम्म फोरम र राजपाबीच एकपटक पनि औपचारिक वार्ता हुन सकेको छैन। फोरमले राजपा र नयाँ शक्ति दुवै पार्टीसँग पार्टी एकीकरणका लागि प्रयास सुरु गरेका छ तर नयाँ शक्तिसँग भने फोरमले औपचारिक र अनौपचारिक कुराकानी अघि बढाएको छ।

राजपाले फोरमसँग पार्टी एकीकरण गर्न फोरमले सरकार छाड्नु पर्ने सर्त राखेको छ। फोरमलाई पठाइएको चिठीमा पनि यस्तो आसय राखिएको छ तर नयाँ शक्तिले भने पार्टी एकीकरण गर्न फोरम सरकार छाड्नुपर्ने सर्त राखेको छैन।
 

प्रकाशित: २१ चैत्र २०७५ ०१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App