१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

राष्ट्रिय विकास परिषद्को बैठक आजबाट

काठमाडौं– राष्ट्रिय विकास परिषद्को बैठक बुधबारबाट बस्ने भएको छ। राष्ट्रिय योजना आयोगले तयार पारेको १५ औं योजनाको आधारपत्रमाथि छलफल गर्न बैठक बस्न लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा दुई दिनसम्म चल्ने बैठकले १५ औं योजनाको आधारपत्रलाई अन्तिम रुप दिन आवश्यक सुझाव र निर्देशन दिने आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले जानकारी दिए। ‘१५ औं योजनाको खाकामाथि अन्तिम परामर्शका रुपमा परिषद्को बैठक बोलाइएको हो,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘बैठकबाट आउने सुझाव र निर्देशनलाई समावेश गरेर आधारपत्रलाई अन्तिम रुप दिई आयोगको पूर्ण बैठक र मन्त्रिपरिषद्मा पेस गर्नेछौं।’

उपाध्यक्ष कँडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई सार्थक बनाउने लक्ष्यसहित दीर्घकालीन सोचको तयारी गरिरहेको जानकारी दिए । १५औं योजना दीर्घकालीन सोच कार्यान्वयनको पहिलो योजना भएकाले त्यसैअनुरुप आधारपत्रलाई अन्तिम रुप दिने तयारी भएको उनले बताए। आगामी वैशाख पहिलो सातासम्ममा दीर्घकालीन सोचको आधारपत्र तयार गरिसक्ने उनले जानकारी दिए।

बैठकमा परिषद्को ९४ जनासहित करिब तीन सय ५० जनाको सहभागिता रहने आयोगले जानकारी दिएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद्मा उपप्रधानमन्त्री तथा मन्त्रीहरु, योजना आयोगका उपाध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेश सरकारका मुख्यमन्त्री, संघीय संसद्अन्तर्गत विभिन्न समितिका सभापति, राष्ट्र बैंकका गभर्नर, जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका प्रतिनिधि लगायत सरकारले मनोनित गरेका २५ जना सदस्य रहने व्यवस्था छ। सरकारले केही दिनअघि मात्र विभिन्न क्षेत्रका २५ जनालाई परिषद् सदस्यमा मनोनित गरेको थियो। 

पत्रकार सम्मेलनमा आयोगका सदस्य मीनबहादुर शाहीले २५ वर्षे दीर्घकालीन सोचसहित १५औं योजनाको तयारी गरिरहेको जानकारी दिए। उनले १५ औं योजनालाई नीतिगत फड्को मार्ने योजनाको रूपमा कार्यान्वयनमा ल्याउन लागिएको बताए।
आयोगका सचिव लक्ष्मण अर्यालले विभिन्न चरणमा छलफल गरी १५औं योजनाको आधारपत्रलाई अन्तिम रुप दिने तयारी भइरहेको जानकारी दिए। स्थानीय तह, प्रदेश सरकार र निजी क्षेत्रसमेतको सहभागितामा छलफल गरिएको उनले बताए। ‘यो संघीयता कार्यान्वयन र वित्तीय संघीयता व्यवस्थापनको पहिलो योजना भएकोले यसले विशेष महत्व राख्छ,’ सचिव अर्यालले भने, ‘आधारपत्र तयार भएपछि योजनाको लक्ष्य अनुसार कार्यक्रम तय गर्नेछौं।’ आगामी बजेट, मध्यमकालीन खर्च संरचना तथा प्रदेश र स्थानीय तहमा बन्ने योजनामा समेत १५ औं योजनाको लक्ष्यलाई समावेश गरिने उनले बताए।

 

प्रकाशित: २० चैत्र २०७५ ०६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App