१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शर्मामाथि छानबिन गरिने

काठमाडाैँ – साझा प्रकाशनका तत्कालीन अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्मामाथि छानबिन हुने भएको छ। प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक हुँदा अनियमितता गरेको आरोप लागेका शर्मामाथि सञ्चालक समितिले छानबिनको तयारी गरेको छ।

अनियमिताको आरोपमा शिक्षा मन्त्रालयबाट बर्खास्तमा परेका शर्मासँग सञ्चालक समितिले हित विपरीत काम गरेको भन्दै फागुन २८ मा स्पष्टिकरण सोधेको थियो। बर्खास्त हुने डरले शर्माले स्पष्टीकरण नबुझाई महाप्रबन्धकबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भइसकेको छ। राजीनामा स्वीकृत गरेको सञ्चालक समितिले उनले संस्थामा गरेको अनियमितता बारेमा पनि छानबिन गर्न लागेको एक सञ्चालक सदस्यले बताए। ‘उहाँ संस्थामा हुँदा भएका अनियमितता बारे विस्तृतमा अनुसन्धान गर्छौं,’ एक सदस्यले भने।

साझामा हुँदा शर्माले अनियमितता गरेको घटना सार्वजनिक भएपछि उनलाई २०७४ असोजमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले बर्खास्त गरेको थियो। मन्त्रालयविरुद्ध शर्मा सर्वाेच्च गएपछि सर्वाेच्चले कारबाही गर्नका लागि शिक्षा मन्त्रालय तालुकवाला मन्त्रालय नभएको भन्दै शर्माको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो। त्यसपछि शर्मा पुनः साझामै फर्किएका थिए। शर्मालाई शिक्षा मन्त्रालयले नै महाप्रबन्धकमा नियुक्त गरेको थियो। सर्वाेच्चको निर्णयपछि शर्मा साझामा फर्किए पनि पूर्वकर्मचारीको आन्दोलनका कारण उनी नियमित रुपमा कार्यालय भने जान पाएका थिएनन्।

शर्माका क्रियाकलाप सन्तोषजनक नभएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट फागुन १९ मा साझा प्रकाशनबाट मन्त्रालयमा तान्ने निर्णय गरेको थियो। शर्मालाई मन्त्रालयमा तानेपछि उनको सट्टामा मन्त्रालयका उपसचिव ऋषिराम पंगेनीलाई नियुक्त गरिएको छ। शर्माले आफूलाई मन्त्रालयमा तान्ने निर्णयविरुद्ध सर्वाेच्चमा रिट हालेका थिए। सर्वाेच्चले उनको रिट पनि खारेज गरिदिएको थियो।

प्रकाशित: २० चैत्र २०७५ ०३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App