१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

समृद्धिका लागि ऊर्जा विकास

नेपाल प्राकृतिक सम्पदा र जलस्रोतमा धनी देश हो। करिब ६ हजार नदीनाला भएको नेपालमा सैद्धान्तिकरूपले ८३ हजार मेघावाट जलविद्युत् उत्पादनको सम्भावना छ। नेपालमा १ सय ८ वर्षअगाडि पहिलोपटक सन् १९११ मा फर्पिङ  जलविद्युत् आयोजना बनेको थियो। जसको क्षमता ५ सय किलोवाट थियो। त्यसको १ वर्षपछिमात्र चीनको हुनानमा २ सय ४० किलोवाट क्षमताको पहिलो जलविद्युत् आयोजना निर्माण भएको थियो। एसियाको पहिलो जलविद्युत् आयोजना भने भारतको दार्जिलिङमा १८९७ नोभेम्बर १० मा बनेको थियो। जसले १ सय ३० किलोवाट विद्युत् उत्पादन गरेको थियो।

भारतमा अंग्रेज सरकारले जलविद्युत् उत्पादन गरेको १४ वर्षपछि नै नेपालमा पनि उत्पादन हुनु भनेको विकासलाई पछ्याइएको नै मान्नुपर्छ। गर्विलो इतिहास र सुनौलो भविष्य हँुदाहुँदै पनि हाम्रो वर्तमान भने सन्तोषजनक नरहेको कुरा सबै सामु छर्लङ्गै छ। हालसम्म नेपालमा ऊर्जा उत्पादन जम्मा १०७०.१६ मेघावाट र हाइड्राेपावरबाट मात्र १०१६.०७ मेघावाट भएको छ। भारतमा ऊर्जा उत्पादन जम्मा ३४७२१९.३८ मेघावाट र हाइड्राेपावरबाट मात्र ४९९०६.१७ मेघावाट भएको पाइन्छ भने चीनमा जम्मा १६ लाख ७७ हजार १ सय ३३ मेघावाट र हाइड्राेपावरबाट मात्र ३ लाख ५८ हजार ७ सय ६३ मेघावाट ऊर्जा उत्पादन भइसकेको छ।

भारत र चीनलाई हेरेर नेपालले ऊर्जा विकासलाई तीव्रता दिनुको विकल्प छैन जसले नेपाल र नेपालीको मुहार फेर्नेछ।

ऊर्जा उत्पादनमा विश्वका मुलुकमध्ये प्रथम चीनले हालसम्मकै ठूलो थ्री गर्जेज हाइड्राेपावर २२ हजार ५०० मेघावाटको निर्माण गरिसकेको छ। नेपाल धनी हुन अति नै उपयुक्त प्राकृतिक स्रोतमध्ये हाइड्राेपावर निर्माणमा विगतका सरकारहरूको ध्यान नपुगेकै देखिन्छ। देशमा अस्थिरता, द्वन्द्वलगायत अनेकन् कारण देखाइए पनि यसमा दूरदृष्टिको कमी नै हो भन्न सकिन्छ। छिमेकी देश र विश्वको विकास गति पछ्याउन नेपालले नसकेकै हो। पाकिस्तानजस्तो द्वन्द्वग्रस्त देशमा समेत आफू स्वतन्त्र हुँदा  सन् १९४७ मा २३ दशमलव १ मेघावाट विद्युत् उत्पादन हुने गरेकामा अहिले हाइड्र«ोपावरबाट मात्र १० हजार १ सय २६ दशमलव ८९ मेघावाटसहित जम्मा ३६ हजार ६८ दशमलव ५४ मेघावाट ऊर्जा उत्पादन गरिसकेको छ। नेपाल, भारत र चीनको ऊर्जा उत्पादन र जनसंख्याको अनुपात हेर्ने हो भने नेपालको ०.००००३५, भारतको ०.०००२५३ र चीनको ०.००११८१ देखिन्छ।  

विश्वका विकसित मुलुकहरूको विकासको ‘ट्रेन’ हेर्ने हो भने जससँग ऊर्जाशक्ति,  जनशक्ति, प्रविधि र प्राविधिक शक्ति छ उसैको प्रगति तीव्र गतिमा भइरहेको देखिन्छ। कुनै पनि देश अरू कसैले बनाइदिएको इतिहास छैन। नेपाल पनि नेपाली आफैंले बनाउने हो र बनाउनुपर्छ। नेपाल र नेपालीसँग ऊर्जाशक्तिमात्र होइन, काम गर्न उमेरको जनशक्ति पनि छ। कमी नेतृत्वकर्तामा इच्छाशक्तिको मात्र हो। आर्थिक व्यवस्थापन नेतृत्वकर्ताले गर्नुपर्ने बुद्धिमतापूर्ण काम हो। करिब ८ लाखमात्र जनसंख्या भएको भुटानले समेत १ हजार ६ सय २२ मेघावाट विद्युत् हाइड्र«ोपावरबाट निकालिसकेको छ। नेपालबाट ऊर्जा लिन सहमत भइसकेको बंगलादेशमा भने करिब २० हजार मेघावाटमध्ये २ सय ३० मेघावाटमात्र  हाइड्र«ोपावरबाट विद्युत् उत्पादन गरेको छ।

हामीले ऊर्जा उत्पादन गर्नसके विश्वमा सबैभन्दा धैरै जनसंख्या १ अर्ब ४२ करोड भएको एउटा छिमेकी चीन र दोस्रोमा धेरै जनसंख्या १ अर्ब ३६ करोड भएको अर्को छिमेकी भारत तथा आठौं ठूलो जनसंख्या १६ करोड भएको बंगलादेश हामीसँग विद्युत् लिन सहमत भइसकेका छन्। गत महिनामात्र नेपाल–भारतबीच ‘इनर्जी बैंकिङ’मा सहमति भइसकेको छ। उद्योग, कलकारखाना सञ्चालन गर्न होस् वा रेल, विद्युतीय सवारीसाधन होस् अथवा सहरीकरण– पहिलो सर्त विद्युत् नै हुने गर्छ। हामीले विद्युत् उत्पादनमात्र गर्न सक्यौं भने अन्तर्राष्ट्रिय लगानीकर्ता आफैं उत्साहित हुँदै हाम्रो देश आउनेछन् जहाँ काम गर्ने उमेरको जनशक्ति पनि उपलब्ध छ, जुन अहिले वैदेशिक रोजगारीमा जान बाध्य छ।

रोजगारी पनि सिर्जना हुने, अर्थतन्त्र सुध्रने अनि देश समृद्ध र नेपाली सुखी हुने ऊर्जा क्षेत्रको विकास कागजी प्राथमिकतामामात्र होइन, व्यावहारिक रूपमा पनि कार्यान्वयन गर्नुपर्‍यो। ऊर्जा उत्पादन गरेर अगाडि बढ्नसके, यसैले नेपाल र नेपाली धनी हुनेछन्। ऊर्जामा वास्तविक विकासका लागि जुन कानुनी र प्रक्रियागत कठिनाइ छन् तिनलाई व्यावहारिक र कामकाजी हुनेगरी संशोधन गर्न भने जरुरी छ। नेतृत्व गर्नेले देश बनाउने प्रण गर्‍यो भने यस्ता कुरा गौण हुन्। सुधार गर्न सकिन्छ। नेपालमा अहिले ‘ब्रेनडे«न’(उच्च क्षमताको जनशक्ति विदेश पलायन) भइरहेको छ भन्ने कुरा साँचो हो। अध्ययनका लागि विश्वका विभिन्न विश्वविद्यालयमा गएका धेरैजसो नेपाली विद्यार्थीले उत्कृष्टता हासिल गरेका छन् भने अन्य मुलुकमा उच्च स्तरका प्राविधिक र व्यावसायिक क्षेत्र तथा ठूल्ठूला आयोजनामा काम गर्ने नेपाली पनि उत्तिकै छन्। राज्यले खोज्नमात्र सक्नुपर्‍यो। विदेशमा अनुभव हासिल गरेका नेपाली विज्ञ र प्राविधिकहरू आफ्नै देशमा काम गर्न इच्छुक रहेको कुरासमेत बेलाबेलामा बाहिर आएकै हुन्।  

रोजगारी पनि सिर्जना हुने, अर्थतन्त्र सुध्रने अनि देश समृद्ध र जनता सुखी हुने ऊर्जा विकास कागजी प्राथमिकतामामात्र होइन, व्यावहारिक रूपमा पनि कार्यान्वयन गर्नुपर्‍यो।

चीनले २० वर्षमै गुणात्मक विकासमा फड्को मार्‍यो। दिगो विकास र अर्थतन्त्रमा उल्लेख्य प्रगति गर्‍यो। अहिले विश्वको सबैभन्दा बढी वैदेशिक मुद्रा सञ्चिति भएको देश चीन हो भने विश्वको सबैभन्दा बढी पुँजी भएका बैंकहरू क्रमशः १ देखि ४ सम्म यही देशमा छन्। यसो हुनु राष्ट्र नेतृत्वकर्ताको ‘भिजन’ र ‘एक्सन’ का साथै चिनियाँ जनताको कामप्रतिको लगावकै परिणाम हुन्। नेपाली राजनितिक दल र नेतृत्व तहले पनि अधिकार र राजनीतिक चेतनामात्र होइन, काम र कर्तव्यप्रति लगावको भावना पनि विकास गर्न जरुरी छ। श्रम र मेहनतभन्दा दलालीतन्त्र, उत्पादनभन्दा ‘ट्रेडिङ’ तथा कामभन्दा कमिसन मन पराउने प्रवृत्तिले देशको मुहार फेरिँदैन। वस्तु उत्पादन र पूर्वाधार निर्माणबिना विश्वका कुनै राष्ट्र विकसित र समृद्ध भएको पाइँदैन। विश्वको शक्तिशाली दौडमा रहेको भारत पनि ठूलो वैदेशिक मुद्रा सञ्चिति भएको देशको सूचीमा पर्छ। यसले पनि आफ्नो विकासका लागि ऊर्जा उत्पादनलाई नै उच्च महत्वका साथ अगाडि बढाइरहेको छ। देशमा जति विकास हुँदै गयो उति ऊर्जाशक्तिको आवश्यकता र खपत बढ्ने गर्छ। नेपालमा अझै पनि घरमा बिजुली बाल्न पाउनु नै ठूलो उपलब्धिजस्तो मानिन्छ।

विद्युतीय सामान उपयोग गर्नु भनेको सौखिन बनेको रूपमा मात्र हेरिन्छ। तर विकसित राष्ट्रमा यसलाई आधारभूत आवश्यकताकै रूपमा लिइन्छ। चीनमा एक दिन यो पंक्तिकार बसेको ठाँउमा प्राविधिक कारणले विद्युत् आपूर्ति बन्द हुँदा खानेकुरा केही पाइएन, स्कुल–कलेज बन्दसरह भए, सवारीसाधन धेरै कम चले अर्थात् जनजीवन अस्तव्यस्त बन्यो। नेपालको भाषामा बन्दको अनुभूति भयो। मैले पछि थाहा पाएँ– धेरै वर्षपछि यस्तो भएको रहेछ। विद्युत् उत्पादन गरेरमात्र हँुदैन, पूर्व–पश्चिम, उत्तर–दक्षिण र विद्युतीय करिडोरअनुसार उच्च गतिको प्रसारण लाइनको व्यवस्था गर्नु पनि उत्तिकै आवश्यक छ।  दुई देशबीच उच्च क्षमताको ‘क्रस बोर्डर ट्र«ान्समिसन लाइन’ बनाउनुपर्ने हुन्छ। यसका लागि सरकारले पहिलेदेखि प्राथमिकताका साथ योजना कार्यान्वयनमा लानुपर्ने हुन्छ। नेपालमा ट्रान्समिसन लाइन निर्माणमा ढिलाइले गर्दा उत्पादित विद्युत् ग्रिडसम्म जोड्न नसकेर खेर गएको तीतो यथार्थ हाम्रा सामु छन्। यसतर्फ पनि त्यति नै ध्यान दिनुपर्ने हुन्छ। यसमा राज्यको ठूलो धनराशि खर्च हुनेछ तर प्रतिफल पनि ठूलै हात लाग्नेछ।

नेपालमा विकासको अवरोध भनेको ‘लिगेसी’ र निरन्तरताको हो। नेपालमा व्यक्ति र दलपिच्छे फरक अवधारणा आउनु नै देश विकास नहुनाको प्रमुख कारण हो। यदि देशको विकास चाहने नेतृत्वकर्ता हुन्थ्यो भने राम्रो कामको निरन्तरता हुनुपर्ने हो, अपसोच अहिलेसम्म त्यस्तो भएको पाइँदैन। यो अल्पविकसित मुलुकको राजनीतिक चरित्र नै हो। हाम्रा नेता देश विकासका नाममा राजनीति गर्ने तर आफू सत्तामा पुगेपछि दिगो विकास र दूरदृष्टि राख्नेतिरभन्दा सानातिना, जनताका आँखामा छारो हाल्ने र कार्यकर्तामुखी काममै बढी केन्द्रित हुने गरेका छन्। जनता र कार्यकताले पनि कामको पद्धतिप्रति प्रश्न उठाउने तथा रचनात्मक दीर्घकालीन काम गर्न सुझाव दिनेतिर रुचि राखेको देखिँदैन। फलस्वरूप राज्यले ठूलो उपलब्धि प्राप्त गर्न सकेको छैन। विज्ञताको सही मूल्यांकन नहुनु तथा विज्ञले पनि वास्तविक गुण–दोष नकेलाइकनै आग्रह–पूर्वाग्रहका आधारमा धारणा र विषयवस्तु प्रस्तुत गर्ने प्रवृत्ति नै देशका लागि दुर्भाग्य हो।  

यस्ता देशमा विज्ञ र विज्ञता– पद र पैसाका अगाडि हल्का र फिका तथा यसैमा बिक्ने हुन्छन्। कुनै पनि काम थालनी नै नगरे कसरी अगाडि बढ्छ र कसैले सुरुवात गरेका काम अर्काेले निरन्तरता नदिए कसरी निष्कर्षमा पुग्छ र ! जबसम्म देशमा विकास र राम्रा काममा ‘लिगेसी’को थालनी हुँदैन तबसम्म विकास र समृद्धि भाषण, लेख र कागजमा मात्र सीमित हुन्छन्। भन्ने बेलामा– देश र जनताका लागि भन्ने तर गर्ने बेला आफ्ना आफन्तका लागि गर्ने परिपाटीको अन्त्य नभएसम्म देश विकास सम्भव छैन।

स्थिर सरकार नभएका कारण नेपालमा विकास भएन भन्ने भनाइ आइरहेका बेला स्थिर सरकार बनेको ठीक १ वर्ष पुगेको दिन विकासको आधारशिला तयार भइरहेको जनाउस्वरूप प्रधानमन्त्रीले जनताको जलविद्युत् आयोजना कार्यक्रम शुभारम्भ भएको घोषणा गरेका छन्। पहिलोपटक प्रधानमन्त्री हँुदा १ वर्षभित्र आधारभूत रूपमा लोडसेडिङ अन्त्य हुन्छ भन्दा तरंग पैदा भएको थियो। हाल नभन्दै भारतबाट विद्युत् आपूर्ति गरेर लोडसेडिङ अन्त्य गर्दा हामी जनता जति खुसी छौं अबको केही वर्षपछाडि नेपालले विद्युत् उत्पादन गरी बढी भएको ऊर्जा छिमेकी मुलुकहरूलाई बिक्री गरेर आएको आम्दानीले अर्काे परियोजना सुरु भएको सुन्न पाइयो भने झन् कति गुणा बढी खुसी हुन्छौं, सुखी हुन्छौं।

ऊर्जा विकासमा स्वच्छ प्रतिस्पर्धा, सबैले सहयोग गर्ने र कसैले अवरोध नगर्ने हो भने देशको कायापलट यसै क्षेत्रले गर्नेछ। कुनै पनि देश आफ्नो आन्तरिक स्रोत–शक्तिबिना समृद्ध बनेको उदाहरण छैन। यसर्थ नेपालको ऊर्जाशक्ति र जनशक्ति नै देश विकासको आधार हो। यसैमा टेकेर अगाडि बढ्ने हो भने यो काम गर्ने व्यक्तिको इतिहास लेखिनेछ। जसरी अहिले चीन विकासको अभियानमा देङ सियाओपिङलाई चिनियाँ जनताले सम्झिरहेका मात्र छैनन्, पुजिरहेका छन् र सबैले उनकै पथ पछ्याइरहेका छन्। नेपालले भारत र चीनलाई हेरेर ऊर्जा विकासलाई तीव्रता दिनुको विकल्प छैन जसले नेपाल र नेपालीको मुहार फेर्नेछ।

प्रकाशित: २० चैत्र २०७५ ०२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App