१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

वैशाख पहिलो साताबाट ५५ दिने बास्केटबल लिग

काठमाडौं – वैशाखको पहिलो सातादेखि ५५ दिने नेपालको सबैभन्दा लामो नेपाल बास्केटबल लिग हुने भएको छ। प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पडिसिएन) को आयोजनामा करिब दुई महिना लामो नेपाली खेलकुदमा लिग हुन लागेको हो। पडिसिएनले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै लिगबारे जानकारी दिएको हो। कुल ५५ दिनसम्म चल्ने लिगमा ८ टोलीको सहभागिता रहनेछ। 

सहभागी टोलीहरूले एकअर्कासँग डबल राउन्ड रोबिन लिगका आधारमा होम एन्ड अवे गरी दुई–दुई खेल खेल्नेछन्। प्रतियोगिता अवधिभर कुल ६८ खेल हुनेछन्। यो प्रतियोगिता गत वर्ष क्विक्स बास्केटबल लिगको नाममा खेलाइएको थियो। दुई चरणको लिगपछि पहिलो चार स्थान प्राप्त गर्ने टोली प्ले अफका लागि छानिनेछन्। 

फाइनल बाहेक प्ले–अफमा बेस्ट अफ थ्री खेल हुनेछन्। प्लेअफमा पहिलो र दोस्रो स्थान हासिल गर्ने टोलीले बेस्ट अफ थ्रीका आधारमा पहिलो क्वालिफायर खेल्नेछन्। यी दुईबीचको विजेता टोली सीधै फाइनल प्रवेश गर्नेछ। तेस्रो र चौथो स्थानको टोलीले पनि एलिमिनेटर खेल्नेछन्। 

यीबीचका विजेता टोलीले पहिलो क्वालिफायरको पराजित टोलीसँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ। दोस्रो क्वालिफायर पनि बेस्ट अफ थ्रीकै आधारमा खेलाइनेछ। फाइनलमा भने एक खेल मात्र हुनेछ। प्ले–अफ र फाइनलका सबै खेल राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा खेलाइनेछ। 

प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन गोल्डेनगेट इन्टरनेसनल कलेज हो। प्रतियोगितामा पहिलो र दोस्रो हुने टोलीले क्रमशः दुई लाख र एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। मोस्ट भ्यालुएबल प्लेयर र हाइएस्ट स्कोररका लागि पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताका साझेदारका रूपमा सानिमा जनरल इन्स्योरेन्स, कंगारु ऐजुकेसन फाउन्डेसन र केटिएम सिटी छन्। 

सानिमा जनरल इन्स्योरेन्सले प्रतियोगिताका सम्पूर्ण खेलाडी, प्रशिक्षक, रेफ्री र स्वयंसेवक गरी १ सय ६८ जनाको प्रतिव्यक्ति ५ लाख रुपैयाँका दरले कुल १० करोड रुपैयाँबराबरको बिमा गराएको पडिसिएनका अध्यक्ष अरुण कार्कीले जानकारी दिएका छन्। शैक्षिक साझेदार कंगारुले प्रथम पुरस्कारको प्रायोजन गर्नुका साथै खेलहरूको तथ्यांक राख्ने कार्यमा आयोजकलाई सघाउनेछ। 

यस्तै क्लोथिङ पार्टनर केटिएम सिटीले प्रतियोगिताभरिकै ६८ म्यान अफ दी म्याचलाई रु ३ हजारबराबरको गिफ्ट ह्याम्पर प्रदान गर्नेछ। प्रतियोगिताका लागि नेपाल बास्केटबल संघले प्राविधिक सहयोग प्रदान गरेको छ।

यस्तै यस पटक महिलाहरूको पनि लिग आयोजनका गरिने पनि आयोजकले स्पष्ट पारेको छ। नेपाली राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदीश प्रधानले यस पटक लिग अझै रोमाञ्चक बन्ने आशा व्यक्त गरेका थिए। ‘पछिल्लो पटक हामीले यो लिग खेल्दा देशकै उत्कृष्ट बास्केटबल प्रतियोगिताको रूपमा लिएका थियौं,’ प्रधानले भने, ‘आशा छ यो वर्ष लिग अझै रोमाञ्चक र उत्कृष्ट बन्नेछ।’

प्लेअफका दौरान सेलिब्रेटीबीच एउटा खेल पनि खेलाइनेछ भने मिड सिजनमा अल स्टार गेम पनि गराइनेछ। अल स्टार गेम प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडीहरूको दुई टोली बनाई खेलाइनेछ। लिगमा गोल्डेनगेट इन्टरनेसनल क्लब, त्रिभुवन आर्मी, नेपाल पुलिस, बुढानीलकण्ठ म्युनिसिप्यालिटी, रोयल बास्केटबल, कीर्तिपुर बास्केटबल, टाइम्स इन्टरनेसनल र साउथ साइडर्स बास्केटबल क्लबको सहभागिता रहनेछ।

 

प्रकाशित: १९ चैत्र २०७५ ०६:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App