१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आँधीपीडितका लागि दलद्वारा आर्थिक सहयोगको घोषणा

काठमाडौं - प्रमुख राजनीतिक दलहरूले बारा–पर्सामा आइतबार राति आएको हुरीबतासपीडितलाई सहयोग तथा उद्धारमा जुट्न सबैमा अपिल गरेका छन्। साथै उनीहरूले आ–आफ्नो तर्फबाट आर्थिक सहयोगको घोषणा गरेका छन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, परिवार दल र विवेकशील साझा पार्टी नेपालसहितका दलले राहतका लागि आर्थिक सहयोग घोषणा गरेका हुन्। साथै उनीहरूले उद्धार र राहतमा खटिन आ–आफ्ना पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।

सत्तारुढ नेकपाले संघीय संसदका आफ्ना सांसदहरूको एक दिनको तलब सहयोग गर्ने घोषणा गरेको छ। संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई जो जहाँ छ, त्यहीबाट बारा र पर्सामा आएको त्रासद आँधी प्रभावित परिवारको सहयोगार्थ जुट्न आग्रह गरे। दलका नेतासमेत रहेका प्रधानमन्त्रीको घोषणामा भनिएको छ, ‘संघीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरूबाट एक दिनको पारिश्रमिक बराबर रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेसमेत जानकारी गराउँछु।’ प्रधानमन्त्री ओली स्थलगत अवलोकन भ्रमणका लागि पूर्वनिर्धारित कार्यक्रम रद्द गरी प्रभावित क्षेत्रमा समेत पुगेका छन्।

प्रमुख प्रतिपक्ष कांग्रेसले संघीय संसद्मा रहेका सांसदहरूको दुई दिनको तलब प्रभावितहरूको सहयोगमा दिने घोषणा गरेको छ। संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा सांसदहरूले दुई दिन बराबरको तलब सहयोग गर्ने उल्लेख छ। कांग्रेस प्रदेश २ का सांसदीय दलका नेता तथा सांसदले दुई÷दुई लाख तथा पार्टी उपसभापति विमलेन्द्र निधि, सो प्रदेशका जिल्ला सभापतिहरू र नेताहरूका तर्फबाट थप ६ लाख गरी १० लाख सहयोग गर्ने घोषणा गरेको छ।

उपसभापति निधिसहितको टोलीले सोमबार त्यस क्षेत्रको अनुगमन गरेका थिए। त्यसपछि प्रभावितहरूको राहतका लागि तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जानकारी दिँदै निधिले भने, ‘बाराका प्रमुख जिल्ला अधिकारीमार्फत प्रभावितलाई तत्काल सहयोगका लागि १० लाख दिने निर्णय गरेका छौं।’

त्यस्तै तराई–मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपालले पनि ५ लाख नगद दिने घोषणा गरेको छ। सो पार्टीका अध्यक्षमण्डलका संयोजक शरदसिंह भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै ५ लाख नगद सहयोग गर्ने घोषणा गरेका हुन्। ‘पार्टीले राहत कार्यका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै पार्टीका नेता कार्यकर्ताहरूले राहत सहयोग संकलन गरी पीडित परिवारलाई सहयोग गर्न आमनागरिक, व्यवसायी, उद्योगी, संघसंस्था तथा देशविदेशमा रहेका सबैलाई दुःखद घडीमा आर्थिक सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं।’ राजपाले प्रदेश सरकारको पहलकदमीको पनि प्रशंसा गरेको छ।

उता, संसद बाहिर रहेको एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलले समेत नगद सहयोगको घोषणा गरेको छ। सोमबार बसेको उक्त पार्टीको केन्द्रीय समितिको बैठकले ५० लाख नगद दिने घोषणा गरेको अध्यक्ष ढकालले जानकारी दिएका छन्। रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझ पार्टी, नेपालले बारा पर्साका आँधीपीडितका लागि आर्थिक सहयोगका लागि आह्वान गरेको छ। अध्यक्ष मिश्रका अनुसार साँझसम्म २ लाख २ हजार ५ सय रकम संकलन भइसकेको छ।

यस्तै, प्रदेश नम्बर २ को सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई जनही ३ लाख रुपैयाँ राहत तथा घाइतेको सम्पूर्ण उपचार प्रदेश सरकारले व्योहोर्ने निर्णय गरेको छ। गृह मन्त्रालयका सचिव प्रेमवहादुर राईले आँधीहुरीले घरवारविहीन भएकाका घर संघीय सरकारले बनाई दिने घोषणा गरेका छन। स्थलगत अध्ययनका लागि बारा पुगेका गृहसचिव राईले उक्त जानकारी दिएका हुन्। दलहरूका स्थानीयदेखि केन्द्रीय तहसम्मका नेताहरू घटनास्थलमा पुगेका छन्। सत्तारुढ नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबेउवा, घटनास्थल पुगेका संघीय फोरमका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापालगायतले राहात र उद्धारमा खटन आ–आफनो कार्यकर्तालाई निर्देशन दिएका छन्।

उद्धारमा जुट्न आग्रह
बारा पर्सामा आएको हावाहुरीबाट धनजनको क्षति भएपछि दलहरूले राहत र उद्धारमा जुट्न आग्रह गरेका छन्। नेकपाको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले विज्ञप्तिमार्फत दुःख व्यक्त गर्दे राहत तथा उद्धारमा जुट्न आग्रह गरेका हुन्। ‘हिजो साँझ आएको हावाहुरीबाट बाराका भलुही, परैनिया परसौन, बिजबनियाका साथै पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा गरी हालसम्म २७ जनाको मृत्यु भइसकेको र पाँच सयभन्दा बढी घाइते भएको खबरबाट हाम्रो पार्टी स्तब्ध भएको छ। हावाहुरीका कारण इँटाभट्टा भत्केर, बिजुलीका पोल लडेर, गुडिरहेका सवारीसाधन पल्टेर र घर भत्केर भएको यस अकल्पनीय त्रासदीमा परी ज्यान गुमाउनेहरूप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ। साथै, मृतकहरूका शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गर्दछ। यस घटनामा परी घाइते हुनेहरूको हाम्रो पार्टी शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ,’ सो पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘ त्यस्तै सो घटना हुनासाथ सरकारका तर्फबाट उद्धारमा देखाइएको तत्परताले थप मानवीय क्षति हुनबाट बचाएको छ। हाम्रो पार्टी थप उद्धार, पीडितहरूलाई राहत र क्षतिपूर्तिका साथै घाइतेहरूको उपचारका लागि कुनै कसर बाँकी नराख्न सरकारको ध्यानाकर्षण गराएको छ। ’

त्यसैगरी, नेपाली कांग्रेसले पनि एक विज्ञप्ति जारी गरी यथाशीघ्र राहत तथा उद्धारमा खटिन सबै पक्षलाई आगह गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार बारा र पर्सामा भएको जनधनको क्षतिले स्तब्ध पारेको र मृतकका शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ। साथै सो पार्टीले थप मानवीय क्षति हुनबाट जोगाउँदै घाइतेको उपचार तथा पीडितलाई राहत पुनर्वासका लागि सरकारसँग आग्रह गरेको छ। सो पार्टीका उपसभापति विमलेन्द्र निधिले प्रदेश न २ को तर्फबाट बारा पर्साका पीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। नेपाली कांग्रसका केन्द्रीय उपसभापति निधि, केन्द्रीय सदस्य आनन्द ढुंगाना ,२ न प्रदेश संसदीय दलका नेता रामसरोज यादवसहित धनुषा कांग्रसको टोली बारा जिल्लामा आएको हावाहुरीबाट भएको धनजनको क्षतिबारे निरीक्षण गर्न तथा पीडित परिवार लाई सहयोग गर्न प्रभावित क्षेत्रमा पुगेका छन।

राष्ट्रपतिद्वारा दुःख व्यक्त, राहतमा जुट्न आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले चैत्र १७ गते आइतबार साँझ वर्षासँगै आएको हावाहुरीका कारण बारा र पर्सालगायतका जिल्लामा भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गरेकी छिन्। उनले शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दे यस घटनामा ठूलो संख्यामा जनसमुदाय घाइते भएकोमा सहानुभूति प्रकट गरेकी छिन्। उनले घाइतेको यथाशीघ्र उपचारको प्रवन्ध मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छिन्। सो आँधिबेहरीले त्यस क्षेत्रमा रहेका घर, सवारीसाधन, अन्नबाली, फलफूलखेतीका साथै अन्य भौतिक संरचनामा पु‍¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दे राहतको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने बताएकी छिन्।

साथै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि सो घट्नाप्रति दुःख व्यक्त गरेका छन्। प्रतिनिधिसभाका सभामुख कृष्णवहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि सो घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार र राहातमा जुटन आह्वान गरेका छन्।

प्रकाशित: १९ चैत्र २०७५ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App