१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हुन्डरीले लग्यो एकै परिवारका चार सदस्य

फेटा (बारा) - भत्किएका घरका सामान असरल्ल छन्। भान्साका सामग्री छरपस्ट छन्। घरको भग्नावशेषमा सामान भेटिने छाँट छैन। आइतबारको भीषण हुन्डरीमा परिवारका सातमध्ये चार सदस्य गुमाउने फेटाका ७० वर्षीय इजहार अन्सारी नयाँ मान्छे भेट्नेबित्तिकै बिलौना गर्छन्। उनी एक्लै बर्बराइरहन्छन्।

‘अचानक आएको भीषण हावाहुरीले उत्पात मच्चायो, मेरो परिवारका चारजनालाई एकै चिहान बनायो, यो पीडामा कसरी सम्हालिनु, मलाई थाहा छैन,’ भक्कानिँदै इजहारले भने। हुन्डरीले भत्काएको घरले थिचेर इजहारकी पत्नी ६० वर्षीया मीना, ३५ वर्षीया बुहारी सकिमा, नातिनीहरु १२ वर्षीया सम्सिदा र १० वर्षीया रोक्सारको मृत्यु भयो।

४० वर्षीय छोरा हैदर अली भन्ने साहबुद्दिन अन्सारी गम्भीर घाइते भएका छन्। उनलाई प्रहरी र स्थानीयले उपचारका लागि कलैया अस्पताल पु-याएका थिए। अझै अचेत रहेका उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। हुन्डरीले गाउँमा बितन्डा मच्चाइरहेका बेला इजहार काम विशेषले रौतहट, कटहरियाको जमुनिया गएका थिए। उतै रात बिताएकाले उनी बाँचें। उनका नौ वर्षीय नाति साहेब अन्सारी भारत, घुघरडिहास्थित मामाघर भएकाले हुन्डरीको चपेटामा परेनन्।

फेटा गाउँपालिका वडा नं. ३ र ६ का अधिकांश परिवारमा हुन्डरीले बज्रपात भएको छ। यहाँका ५ सयमध्ये आधाभन्दा बढी घर पूरै ध्वस्तै भएका छन्। हुरीले अधिकांश घरमा कुनै न कुनै रूपमा नोक्सान प-याएको छ।

गाउँमा हुन्डरीले ठूलो क्षति पु-याएको खबर सोमबार बिहानमात्र इजहारको कानमा प¥यो। उनी गाउँ पुग्दा तहसनहस भइसकेको थियो। अधिकांश घर, रुख र बिजुलीको पोल ढलेर गाउँको पूरै संरचना नै ध्वस्त भएपछि उनलाई आफ्नै घर ठम्याउन गाह्रो भयो। ‘प्रकृतिको यस्तो लीला होला भनेर सोचेकै थिइनँ, यो गाउँलाई हुन्डरीले केही क्षणमै उजाड बनाइदियो,’ उनले मलिन स्वरमा भने। नौ वर्षीय साहेब माइजू आमना खातुनसँग सोमबार बिहानमात्र मामाघरबाट घर आएका थिए। यी नाबालकलाई हुन्डरीमा ज्यान गुमाएका परिवारका सदस्यको बारेमा जानकारी दिइएको छैन। गछिया टोलाकी ४० वर्षीया नजमा खातुन खाना पकाउने तयारीमा थिइन्।

आइतबार साँझ करिब साढे सात बजे खाना पकाउन सर्जाम ठिकठाक पारेर नजमा चुलोमा आगो बाल्न खोज्दै थिइन्, घर नै उडाउलाजस्तो गरी भयंकर आँधीहुरी आयो। उनी ६ महिनाकी छोरी र दुई वर्षीय छोरालाई लिएर हत्तपत्त खाटमुनि लुक्न पुगिन्। नजमाका पति अलीअख्तर खान १२ वर्षीय छोरा नजरुल, आठ वर्षीय छोरा सलमान र ६ वर्षीय छोरा अरबाजलाई लिएर घरको कुनामा लुके। हावाहुरी यति भीषण थियो कि उनीहरूले एकै ठाउँमा आउनका लागि पाइला चाल्नै सकेनन्। हेर्दाहेर्दै भत्किएको घरले अलीलाई च्याप्यो। हुन्डरी अलिक कम भएपछि नजमाले आफ्ना छोराहरूको मद्दतले च्यापिएका श्रीमान्लाई निकालिन्। त्यसबेला उनी बेहोस थिए।

एक घन्टापछि मात्र अलीको होस खुल्यो। अहिले उनको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ। ‘आफूसहित घरका सबै सदस्य घाइते छन्। अब घर छैन, कहाँ सुत्ने ? कहाँ खाने ? के गर्ने ? केही सोच्न सकेकी छैन,’ रुँदै नजमाले भनिन्। इजहार र नजमाको परिवारमा मात्र होइन, फेटा गाउँपालिका वडा नं. ३ र ६ का अधिकांश परिवारमा हुन्डरीले बज्रपात भएको छ। यहाँका ५ सयमध्ये आधाभन्दा बढी घर पूरै ध्वस्तै भएका छन्। हुरीले अधिकांश घरमा कुनै न कुनै रूपमा नोक्सान पु-याएको छ। बिजुलीका सबै पोल ढलेका छन्। बाटो छेउछाउका रुख सखाप भएका छन्। बालीनाली सोत्तर भएको छ। हावाहुरीले बबन्डर मच्चाएलगत्तै आएको असिनापानीले घाउमाथि नुन छर्ने काम गरिदियो। ढलेका रुख र बिजुलीका पोलले बाटो अवरुद्ध भएकाले तत्काल उद्घारका लागि गाउँ पुग्न समस्या भएको फेटा गाउँपालिका वडा नं. ३ का अध्यक्ष उपेन्द्र साह बताउँछन्। ‘हुन्डरीपछि आएको असिनापानीले गर्दा पीडितलाई सकस भयो, रातभर उद्घार खटियौं, विभिन्न निकायसँग समन्वय गरेर घाइतेको उपचार गराइरहेका छौं,’ उनले भने।

गाउँका सबैजसो घर ध्वस्त भएकाले शरण लिने ठाउँ छैन। खेतको बाली र घरको अन्न नास भएको छ। ‘मृतकका परिवारको पीडा सुनिनसक्नु छ। घाइतेको चित्कार उस्तै छ,’ उपेन्द्र भन्छन्, ‘आधा घन्टामै हावाहुरीले गाउँमा अकल्पनीय विनाश ल्याइदियो, यो फिल्मको दृश्यजस्तै लागेको छ।’ हावाहुरीले गछिया टोलको पहिचानमा संकट ल्याइदिएको छ। चारैतिर गाछी रहेको गछिया टोल अब रुखविहीन बनेको छ। फेटा गाउँपालिका वडा नं. १ को भलुई भरबलियामा तीनजनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन्। गाउँमा करिब एक सय घर ध्वस्त भएको वडाध्यक्ष जयप्रकाश दासले जानकारी दिए। ‘यस्तो हावाहुरीको मैले कहिल्यै कल्पना गरेको थिइनँ,’ उनले भने।

गाउँ नै शोकमा
फेटा गाउँपालिकाका प्रमुख अमिरीलाल प्रसादले प्राकृतिक विपद्पछि पूरै गाउँ शोकमग्न भएको प्रतिक्रिया दिए। ‘अकल्पनीय हावाहुरीले व्यापक क्षति पु¥याएकोले सहयोगको खाँचो छ, तत्काल खाने र बस्ने व्यवस्था चाहिएको छ। घाइतेलाई उपचार जरुरी छ,’ उनले भने। छिमेकी गाउँबाट राति नै उद्धारका लागि गाउँले आएकाले धेरै मानवीय क्षति हुनबाट जोगिएको प्रसादले बताए। ‘आङमा लगाएको कपडाबाहेक केही बचेको छैन, भाडाकुँडा छैन, अस्थायी आवासका लागि त्रिपाल जरुरी छ,’ उनले थपे।

क्याप्सन ः
१. परिवारका चार सदस्य गुमाएका बाराको फेटा गाउँपालिकाका इजहार मियाँ।

२. घरले चेपिएर सकुशल उद्धार गरिएकी बाराको फेटा गाउँपालिका गछियाकी नजमा खातुनसहित उनका परिवार। तस्बिर ः मदन÷नागरिक

प्रकाशित: १९ चैत्र २०७५ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App