१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

धनुषा –५ मा अझै अनिश्चित, जिल्ला पनि अन्यौलमै

जनकपुर–पार्टीको महाधिवेशन अघि विभिन्न पटक गरी तीन चोटी कार्यतालिका बनाएर केन्द्रबाटै प्रतिनिधि खटाइएपनि सम्पन्न हुन नसकेको धनुषा –५ को कांग्रेस क्षेत्रीय अधिवेशन अझै अनिश्चित छ। असार पहिलो साता जसरी पनि सम्पन्न गरिसक्नुपर्ने नेतृत्व तहमा समझदारी भएको जिल्ला अधिवेशनसमेत क्षेत्रीय अधिवेशन हुन नसकेकै कारण अन्योलमा परेको छ ।

देशभरका २ सय ४० मध्ये एकमात्र क्षेत्रीय अधिवेशन पार्टी महाधिवेशन भन्दा अगाडि हुन सकेन। अहिलेसम्म क्षेत्रीय अधिवेशन सम्पन्न हुन नसक्नुको मुख्य कारण हो, पार्टीभित्रको चरम गुटबन्दी।

यो क्षेत्रमा कोइराला (संस्थापन) र शेरबहादुर देउवा पक्षीय दुई समूहको गोरुजुधाइ नयाँ होइन। ‘बरु, अन्य पार्टीका कार्यकर्तासँग मिल्न सक्छन् तर, आफ्नै पार्टीभित्र यी दुई पक्षबीचको दुरी घट्ने छाँटकाँट देखिन्न’, स्थानीय कार्यकर्ताको बुझाइ छ ।
पूर्व राष्ट्रपति रामवरण यादवले पहिलो संविधान सभाको चुनाव जितेको उक्त क्षेत्रमा उनी राष्ट्रपति चुनिइसकेपछि उपचुनावमा पार्टीले यादवपुत्र चन्द्रमोहनलाई उम्मेदवार बनायो। यादव राष्ट्रपति पदमा पुगेपछि खाली भएको क्षेत्र आफूले हाँक्ने पहिलेदेखि सपना देख्दै आएका पार्टी केन्द्रीय सदस्य महेन्द्र यादवले घात गरेकै कारण चन्द्रमोहन पहिलो निर्वाचनमा हार व्यहोर्नुपरेको एक पक्षको आरोप छ।
दोस्रो संविधानसभाको निर्वाचनमा जसरी पनि टिकट लिएरै छाड्ने चन्द्रमोहनको जिद्दी र कुनै हालतमा उम्मेदवार बन्न नदिने महेन्द्रको अडानले नेतृत्वलाई निर्णय लिन निकै सकस परेको थियो। चन्द्रमोहनले आफूले टिकट पाउनुपर्छ भन्दै जिल्ला पार्टी कार्यालयदेखि केन्द्रीय कार्यालयसम्म अनसन बस्नुपर्यो। जिल्लामा हप्तौसम्म उनी पक्षधर कार्यकर्ताले प्रदर्शन गरिरहे। अन्ततः उनले टिकट पाए र चुनाव जिते पनि। त्यो चुनावमा आफ्नै पार्टीले हराउन जुनसुकै हरकत गरेपनि जनताको साथले आफू निर्वाचित भएको चन्द्रमोहनले अहिले पनि बेहिचक भनिरहेका छन्।
महाधिवेशन पूर्व क्षेत्रीय अधिवेशन सम्पन्न भए चन्द्रमोहन महाधिवेशन प्रतिनिधि भएर केन्द्रीय कोषाध्यक्षको उम्मेदवार बन्ने तयारीमा रहेको चर्चा चलेपछि अधिवेशनै हुन नदिन अर्को पक्षबाट अवरोध सिर्जना गरिएको संस्थापन पक्षको आरोप छ ।
यता, देउवा पक्षीय गुटका नेता एंव जिल्ला सभापति रामसरोज यादवले चन्द्रमोहनकै अवरोधको कारण अधिवेशन हुन नसकेको जिकिर गर्छन् ।
‘जिल्ला सभापतिको रुपमा पनि मैले निर्धारित समयमै सबै अधिवेशन पूरा गर्ने प्रयासमा थिए’, उनले भने, ‘अहिले पनि हामीले पार्टी निर्देशिकाको अधिनमा रहेर अधिवेशन गराउने प्रयासमा छौं। तर, चन्द्रमोहनकै समूहले अहिले पनि अवरोध खडा गरिरहेको छ।’ चन्द्रमोहनले भने निर्देशिका विपरित जालझेल गर्न थालिएपछि आफूले नियम मिच्न नदिएपछि अनावश्यक आरोप लगाउने गरेको बताउँछन् ।
पूर्व निर्धारित समय तालिका अनुसार माघ महिनाको दोस्रो सातामै अधिवेशन पूरा गर्न केन्द्रबाट परशुराम कोइरालालाई खटाइएको थियो। केही दिनमै उनको क्रियाकलाप पक्षपातपूर्ण भएको आरोप लागेपछि कोइरालालाई फिर्ता बोलाएर सागर विष्टलाई पठाइएको थियो। महाधिवेशनको दुई दिन अगाडिसम्म प्रयास गरेपनि विष्टसमेत यो क्षेत्रको अधिवेशन गराउन असफल भएर फर्के।
अहिले पछिल्लो पटक बाँकी रहेका जिल्ला अधिवेशन असारको पहिलो साताभित्र सम्पन्न गर्न केन्द्रले निर्देशन गरेपनि दोस्रो साता बित्न लाग्दासम्म तयारी पनि सुरु हुन सकेको छैन। एक हप्ता अघि सागर विष्ट नै अधिवेशन गराउने केन्द्रीय प्रतिनिधिको रुपमा आएपनि फेरि उनीविरुद्ध आरोपप्रत्यारोप सुरु भएपछि फर्केका छन् ।
पार्टीका जिल्ला सभापति रामसरोज यादवले विवाद मिलाउने प्रयास सुरु भएको बताउँदै असार मसान्तसम्म क्षेत्र र जिल्ला दुवै अधिवेशन पुरा हुने विश्वास व्यक्त गरेका छन्। ‘क्षेत्रमा उम्मेदवारी परिसकेर मतदान प्रक्रिया सुरु हुनु अगाडि मात्रै विवाद सिर्जना भएकोले अब अर्को प्रतिनिधि आउने बित्तिकै सम्पन्न हुन्छ’, उनले भने, ‘जिल्ला अधिवेशनमा पनि अर्को पक्ष (संस्थापन) को पकड राम्रो नदेखिएकोले खासै अप्ठेरो हुन्छ जस्तो मलाई लाग्दैन।’
उनले क्षेत्र र जिल्ला दुवै अधिवेशनमा आफ्नै पक्ष (देउवा गुट) को बाहुल्यता रहेको विश्लेषण गर्दै विपक्षीबाट एकजना पनि जित्ने सम्भावना नरहेको ठोकुवा गरे । चन्द्रमोहनले भने पार्टी सभापतिको आडमा आफू विरुद्ध जालझेल नभए सम्मानजनक स्थानमा रहेको दावी गर्दै आएका छन् ।  
फागुन २० देखि २३ गतेसम्म सम्पन्न भएको पार्टीको तेह्रौ महाधिवेशनका लागि गत माघ १५ गतेसम्म गाउँ, नगर र वडा, २२ गतेसम्म क्षेत्रीय तथा माघ २५ गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्देशिका जारी भएको थियो। आन्तरिक गुट र उपगुटबीचको विवादका कारण अहिलेसम्म एकमात्र धनुषाको ५ नम्बर क्षेत्रीय अधिवेशन तथा धनुषा, महोत्तरी, सिरहा, पर्सा र डोल्पा लगायत ५ जिल्लाको अधिवेशन बाँकी नै छ ।
 

 

प्रकाशित: १२ असार २०७३ ०८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App