१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बालविवाह विरुद्ध क्लबको अभियान

अछाम– अछामको वान्नीगढी जयगढ गाँउपालिका उपाध्यक्ष लोगबहादुर साउद आइतवार दिउँसो कार्यालयको काममा व्यस्त थिए। कार्यालयमा झुण्डिएको घडीले २ः३० बजेको संकेत गरिरहेको थियो। दुई जना कलिला नानीहरु साउदलाई खोज्दै उनको कार्यकक्षमा आइपुगे। ‘सर हाम्रो गाँउमा बालविवाह भयो रोकिदिनु पर्यो’ भन्दै नानीहरुले गाँउपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक साउदलाई निवेदन बुझाए।

गाउँपालिकाको वडा नम्वर ६ दर्नामा गठित सुवाशील बाल क्लबकी अध्यक्ष विन्दु साउदले भनिन्, ‘वान्नीगढी जयगढ गाँउपालिका वडा नम्वर ६ दर्नामा बाल विवाह भयो। हामीले विवाह भएको जानकारी पाएपछि क्लबको बैठक बसेर यो निवेदन लेखेर पेश गरेका हौं।’ सुवाशील बालक्लबले गाउँसमाजमा बालविवाह, महिला हिंसा न्यूनिकरणको लागि पहल गर्ने गरेको उनले जानकारी दिइन्। ‘यही चैत १० गतेका दिन विन्देवासिनीमा विमाझेडानामा कक्षा सातमा पढ्दै गरेकी १५ वर्षीया बालिकालाई मंगलसेन नगरपालिका वडा नम्वर ४ बागापाटा बस्ने युवकले ललाई फकाई गरेर विवाह ग¥यो। १५ वर्षे कलिलो उमेरमा विवाह गर्दा हामीजस्ता कयौंको भविष्य अन्धकारतिर धकिलिने गरेको छ’, उनले भनिन्। 

पछिल्लो समय कानुनद्वारा प्रतिबन्धित कार्य भित्रमा पर्ने बालविवाह रोक्नका लागि अछाममा स्वयम् बालबालिकाहरु नै सक्रिय हुन थालेका छन्। बालविवाह गर्दाका बेफाइदाबारे सचेत हुन थालेपछि बालबालिकाहरु नै गैरकानुनी कार्य बालबिबाह रोक्ने अभियानमा सक्रिय भएका छन्। 

टोलदेखि वडा स्तरसम्ममा बाल क्लब गठन गरेर उनीहरु बलविवाह गर्न नहुने कारणबारे आफ्नो समूहमा छलफल गर्नुका साथै त्यसबारे अभिभावकलाई सचेत पार्नेदेखि लिएर बालविवाह हुनै लागेको भए त्यसलाई रोक्ने सम्मका कार्यमा सक्रिय हुन थालेका छन्।

बल क्लबले दिएको निवेदन दर्ता गर्दै न्यायिक समिति संयोजक साउदले इलाका प्रहरी कार्यालय जयगढमार्फत जिल्ला प्रहरी कार्यालयमा पठाइएका छन्। 

बालविवाह गर्ने बालबालिकाको स्वयम् स्वास्थ्य, शिक्षादेखि समग्र जीवन पद्धतिमा प्रत्यक्ष नकरात्मक असर पर्ने भएकाले समाजबाट बालविवाह गर्ने कार्य पूर्णरुपमा अन्त्य गर्ने उद्देश्यका साथ बालबालिकाहरु बाल क्लबमा संगठित हुँदै बालबिबाह बिरुद्धको अभियानमा सक्रिय हुन थालेको सुवाशील बाल क्लब दर्नाका झरना साउदले सुनाइन। 

‘कलिलै उमेरमा बिहे गर्दा बालबालिका प्राय सबैको पढाई प्रभावित हुनुका साथै छिट्टै बच्चा जन्मिने भएकाले आमाको स्वास्थ्य नै खतरमा पर्न सक्ने सम्भावना धेरै हुँदा बालबिबाह रोक्न हामी सक्रिय भएका हौं’, साउदले भनिन।

जिल्लामा बालविवाहको अवस्थाको एकिन तथ्यांक त कसैसँग छैन। तर ९१ वडामध्ये १६ वटा वडामा एक गैरसरकारी संस्थाले संकलन गरेको गएको तीन बर्षको तथ्यांकअनुसार बालविवाह गर्ने दर घट्दो अवस्थामा रहेको पाइएको छ। तथ्यांकअनुसार सन् २०१४ मा १६ वडामा तीन सय ९० वटा बालविवाह भएकोमा सन् २०१५ मा दुई सय २२ तथा २०१६ मा एक सय ३८ वटा बालविवाह भएका छन्। 

बाल क्लबको सक्रियताका कारणले समाजमा यस सम्बन्धी सचेतना फैलिँदा बालविवाहको दर घट्दो अवस्थामा देखिए पनि यसलाई पूर्ण रुपमा न्यूनिकरण गर्न निकै चुनौती रहेको छ। 

‘हामीले सबै सरोकारवालाको पहलमा वान्नीगढी जयगढ गाँउपालिका वडा नम्वर ५ कालिकालाई वालविवाहमुक्त वडा घोषणा गर्न सफल भएका छौं’, वान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ५ कालिकाका वडा अध्यक्ष लाल कामीले बताए। बालविवाह न्यूनिकरण गर्न बालक्लबको मात्र सक्रियताले नपुगेर समाजका सबै पक्षले ध्यान दिन जरुरी रहेको उनले औंल्याए।

प्रकाशित: १७ चैत्र २०७५ १२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App