सोलुखुम्बु- टिस्युकल्चर प्रविधिबारे ज्ञान र सीप पाएपछि कृषकले ऊर्जा थपिएको बताएका छन्। बागवानी केन्द्र फाप्लुको आयोजनामा बीउ आलु उत्पादन प्रविधि सम्बन्धी जिल्लास्तरीय कृषक गोष्ठीमा सहभागी कृषकले नयाँ प्रविधिको ज्ञानले आलु खेतीमा हौसला थपिएको बताएका हुन्।
गोष्ठीमा जिल्लाका चार स्थानीय तहका कृषक र कृषि प्राविधिक सहभागी थिए। उनीहरु सोलुदूधकुण्ड नगरपालिका, नेचासल्यान, थुलुङ दूधकोशी र माप्यदूधकोशी गाउँपालिकाबाट सहभागी भएका हुन्। स्थानीयस्तरमा आलु उत्पादनलाई बढवा दिँदै आम्दानीको बलियो स्रोत बनाउन टिस्युकल्चर प्रविधिबारे जानकारी पाउँदा राम्रो सहयोग पुगेको सहभागी कृषकको भनाइ छ।
सोलुदूधकुण्ड नगरपालिका–७ गार्माका कृषक तारा राईले सैद्धान्तिक र प्रयोगात्मक ज्ञान र सीप पाएपछि आलु उत्पादनका लागि टिस्युकल्चर प्रविधि अपनाउन सक्ने बताइन्। उनले भनिन्, ‘परम्परागत रुपमा स्थानीय जातको आलु रोप्दै आएकामा यो प्रविधिले बढी लाभ दिने भएकाले आलु उत्पादक कृषकलाई ज्ञान र सीप प्रदान गर्दा राम्रो हुने देखियो।’ नेचासल्यान गाउँपालिका–२ सल्यानका कृषक थिरप्रसाद निरौलाले उत्पादकत्व वृद्धिका लागि स्वस्थ बीउको प्रयोग गर्न सल्लाह दिए। ‘मैले पनि थाहा पाएको थिएन, गोष्ठीबाट जुन कुरा थाहा पाए,’ उनले भने, ‘व्यवहारिक रुपमा प्रयोगमा ल्याउने मनसायमा पुगे।’
राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्र खुमलटारका बीउ आलुविज्ञ श्यामप्रसाद ढकालले उत्पादकत्व वृद्धिका लागि टिस्युकल्चर प्रविधि उपयुक्त भएको बताए। प्रमुख बाली नै आलु रहेको जिल्लामा यो प्रविधि फलदायी हुने भएकाले कृषकले आत्मसाथ गर्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘यो प्रविधि अवलम्बन गरे उत्पादन वृद्धिका लागि क्षेत्र विस्तार आवश्यक रहँदैन।’ सोलुखुम्बुका लागि सिफारिस गरिएको जनकदेव, खुमल सेतो र खुमल विकास जातको आलुको बीउ रोप्न सुझाव दिए।
वर्षौंदेखि निजी क्षेत्रबाट आलुको बीउ उत्पादन गर्दै आएको नेपाल बीउबिजन उत्पादन केन्द्र गोदावरीका रामभरोस नेपालले टिस्यु प्रविधिबाट आलुको बीउ उत्पादन गर्ने र रोप्ने कामले कृषकलाई फाइदा पुग्ने बताए। ‘परम्परागत रुपमा आलु रोप्दा उत्पादन घट्दै जाने भएकाले उत्पादकत्व वृद्धिका लागि स्वस्थ बीउको प्रयोगमा ध्यान दिन आवश्यक छ,’ उनले भने।
टिस्युकल्चर प्रविधिबारे ज्ञान र सीप पाएपछि कृषकमा आलु खेती गर्न हौसला थपिएको हो।
नेपाल बीउबिजन उत्पादन केन्द्रबाट खरिद गरिएको केही सय बिरुवा बागवानी केन्द्रको स्क्रिन हाउसमा रोपिएको छ। गोष्ठीमा सहभागी कृषक र प्राविधिकलाई प्रयोगात्मक सीप दिलाउने उद्देश्यले आलुको बीउ उत्पादनका लागि टिस्युकल्चर प्रविधिबाट तयार पारिएको बिरुवा रापिएको हो। रोपिएको बिरुवाबाट बीउ आलु तयार पारी कृषकलाई वितरण गरिने बागवानी केन्द्रले जनाएको छ।
वरिष्ठ बागवानी विकास अधिकृत चन्द्रमान श्रेष्ठले बाक्लो आलु खेती गरिने जिल्लामा प्रविधिबारे जानकारी दिलाउने कार्यक्रमअन्तर्गत आलुको बीउ उत्पादन प्रविधि टिस्युकल्चर प्रविधि छनौट गरेको बताए। उनले भने, ‘जिल्लामा १० हेक्टरभन्दा बढी क्षेत्रमा आलु खेती गरिन्छ। खायन आलु रोप्ने परम्परालाई निर्मूल पार्न प्रविधि प्रयोगमा जोड दिन लागेका हौं।’ सोलुको आलुको माग बढ्दै गएको अवस्थामा पनि कृषकले प्रविधिको प्रयोग गरी स्वस्थ बनाइएको बीउ आलु नरोप्दा चाहेजति उत्पादन लिन सकिरहेका छैनन्। कोसेलीका रुपमा निर्यात हुने आलुको उत्पादकत्व प्रतिहेक्टर १६ मेट्रिक टनबाट दोब्बर बनाउन सकिने बताइएको छ।
अघिल्लो वर्षसम्म मुलुकभर आलु उत्पादनमा पहेलो रहेको सोलुलाई उछिन्दै झापा अग्रभागमा देखिएको छ। यो वर्षको आलु उत्पादनको प्रतिवेदनअनुसार सोलुखुम्बु दोस्रो स्थानमा झरेको हो। बर्सेनि एक लाख ५५ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने तथ्यांकले देखाएको छ। मुलुकभर करिब दुई लाख हेक्टरमा हुने आलु खेतीबाट २८ लाख मेट्रिक टन आलु उत्पादन हुँदै आएको छ। यो आलु खपतका हिसाबले नेपाल ९० प्रतिशत आत्मनिर्भर देखिएको छ।
प्रकाशित: १७ चैत्र २०७५ ०५:२१ आइतबार





