१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कृषकलाई मौरी घार वितरण

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिकाका कृषकलाई मौरीको घार वितरण गरिएको छ। गाउँपालिकामा महको उत्पादन बढाउन गाउँपालिकाको कृषि शाखाले कृषकलाई मौरीको घार वितरण गरेको हो।

मौरीपालक कृषक बढ्दै गएका कारण ५० वटा घार वितरण गरिएको गाउँपालिकाले जनाएको छ। ४५ वटा मौरीसहित र पाँचवटा खाली घार वितरण गरिएको शाखा प्रमुख शम्भुप्रसाद राईले बताए। ‘हामीले गत वर्ष ३० वटा घार वितरण गरेका थियौं,’ उनले भने, ‘यो वर्ष पनि कार्यक्रमले निरन्तरता पाएको हो।’

गाउँपालिकाको वडा नम्बर ३ देखि ६ सम्मका कृषकले ७५ प्रतिशत अनुदानमा घार पाएका छन्। घारका साथै २० थान घुम्टी वितरण गरिएको छ। मौरीपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि मौरीपालन सुरु गरिएको नौकुण्ड गाउँपालिका–४ का कृषक श्याम बहादुर पाख्रिनले बताए। ‘मौरीपालनबाट फाइदा हुने रैछ,’ उनले भने, ‘व्यावसायिक रूपमा मौरी पाल्दा राम्रो आम्दानी गर्न सकिन्छ।’

जिल्लाका मौरीपालक कृषकले क्षेत्र विस्तार गर्दै लगेका छन्। जिल्लामा आठ सय २० मौरीपालक कृषक छन्। जिल्लाको कालिका, उत्तरगया, नौकुण्ड र गोसाईकुण्ड गाउँपालिकामा स्थानीय तथा उन्नत जातका मौरीको घार गरी दुई हजार सात सय ५३ घार रहेका छन्।

स्थानीय जातको मौरीको एक हजार एक सय ५२ र उन्नत जातको मौरीको एक हजार ६ सय एक घार रहेको कार्यालयले जनाएको छ। जिल्लामा वार्षिक रूपमा १८ क्विन्टल मह उत्पादन हुँदै आएको छ।

प्रकाशित: १७ चैत्र २०७५ ०५:१३ आइतबार

कृषक मौरी घार वितरण