१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चन्द्रागिरिमा पर्यटन विकासको प्रयास

काठमाडौं – ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको स्थान चन्द्रागिरि नगरपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ।

प्रदेश नं ३ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र चन्द्रागिरि विकास मञ्चद्वारा आज यहाँ आयोजित ‘हाइकिङ’ उद्घाटन कार्यक्रममा प्रदेश–३ का पर्यटनमन्त्री अरुण नेपालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न पर्यटन क्षेत्रको विकास हुनु आवश्यक रहेको बताए। ‘मुलुकको समृद्धिको आधार पर्यटन हो, पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार विभिन्न कार्ययोजना बनाएर अगाडि बढिरहेको छ,’ उनले भने, ‘चन्द्रागिरि नगरपालिका प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ।’

प्रदेश नं ३ उद्योग पर्यटन वन तथा वातावरण समिति सभापति रमा आलेमगरले पर्यटनको विकाससँगै स्थानीय क्षेत्रमा पनि रोजगारी सिर्जना हुँदै जाने भएकाले यसको विकासका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए। उनले पर्यटन विकासले चन्द्रागिरि क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको विकासमा टेवा पुग्ने उल्लेख गरे।

चन्द्रागिरि क्षेत्रका २०० व्यक्ति हाइकिङमा सहभागी भएको चन्द्रागिरि विकास मञ्चका सदस्य श्रीहरि थापाले जनाए। चन्द्रागिरिको पर्यटकीय क्षेत्र दहचोक–इन्द्रदह–काजी कालु पाँडे समाधिस्थल–झाँगाझिटी–बाँडभञ्ज्याङको मसिनेसम्म हाइकिङ गरिएको थियो।

प्रकाशित: १७ चैत्र २०७५ ०५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App