१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पश्चिममा विप्लव नेकपालाई धक्का

नेपालगन्ज - सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै प्रदेश ५ मा प्रहरीले उसका गतिविधि रोक्न सक्रियता बढाएको छ। प्रदेशका १२ वटै जिल्लामा उच्च सुरक्षा सर्तकता अपनाइएको प्रदेश प्रहरीले जनाएको छ। प्रहरी सक्रियता बढेसँगै विप्लव नेकपाका नेता, कार्यकर्ता पक्राउ पर्ने क्रम बढेको छ। पछिल्लो दुई सातामा १० जना पक्राउ परेका छन्। प्रक्राउ पर्नेमा पार्टीका जिल्ला इन्चार्ज, भातृ संगठनका अध्यक्ष, विभाग प्रमुख तथा सैन्य इन्चार्ज पनि छन्।

पश्चिम नवलपरासीका जिल्ला इन्र्चाज गंगा ज्ञवाली ‘सुमन’ सोमबार राति पक्राउ परे। उनलाई प्रहरीले आगजनी मुद्दामा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। रूपन्देहीको खैरेनी घर भएका उनी यसअघि अर्घाखाँची इन्चार्ज थिए। रूपन्देहीबाट पार्टीको युवा संगठनका जिल्ला अध्यक्ष महेन्द्र टण्डन पक्राउ परेका छन्। गुल्मी छत्रकोटका टण्डनलाई प्रहरीले बुटवलको तिनकुनेबाट पक्रेको हो। उनको साथबाट विस्फोटक पदार्थ पनि बरामद भएको प्रदेश प्रहरी कार्यालय दाङका डिएसपी टीका कार्कीले बताए। पार्टीको भातृ संगठन ट्रेड युनियन क्रान्तिकारीका जिल्ला सदस्य युवराज न्यौपाने ‘अक्कल’लाई प्रहरीले भैरहवा मायादेवी चोकबाट पक्राउ गरी हिरासतमा राखेको छ। पाल्पाको तिनाउ गाँउपालिका–२, का उनी हाल रूपन्देहीको देवदह १० मा बस्दथे।

विशेषगरी रोल्पा, रुकुम, प्युठान, दाङ, कपिलवस्तुलाई बढी संवेदनशील जिल्लाका रूपमा लिइएको छ। सुरक्षामा जनपद, अनुसन्धान र सशस्त्र प्रहरी परिचालन गरिएको छ। नेता पक्राउ गर्ने, हतियारसहित भेटिए घुँडामुनि गोली हान्ने सम्मको सर्कुलर रहेको यसअघि नै बताइएको छ।

प्युठानबाट नुवाखर डुम्रे र पदमप्रसाद पोखरेल पक्राउ परेका छन्। पोखरेल अनेरास्वीयु क्रान्तिकारीका केन्द्रीय सदस्य तथा राप्ती समन्वय समितिका संयोजक हुन भने डुम्रेको पद खुलाइएको छैन। बाँकेबाट सबैभन्दा धेरै ५ जना पक्राउ परेका छन्। जनपरिषद् बाँकेका अध्यक्ष कृष्णबहादुर शाहीलाई चैत ११ गते बैजनाथ गाँउपालिकाबाट पक्राउ गरिएको हो। १२ गते बाँकेको कोहलपुरबाट दुईजना पक्राउ परे। कोहलपुरबाट हुम्ला घर भएका भेरी ब्यूरो सैन्य इन्र्चाज दानबहादुर फडेरा र सन्तोष बस्नेत पक्राउ परेका हुन्। फागुन २९ गते पार्टी सदस्य तथा न्याय विभाग प्रमुख चित्रबहादुर विक ‘कुमार’ नेपालगन्जबाट र अनेमसंघ क्रान्तिकारीका अध्यक्ष बन्धकुमारी शाह (चन्द) पनि नेपालगन्जबाटै चैत ११ पक्राउ परे। शाह सल्यानकी हुन्।

यस प्रदेशमा विशेषगरी रोल्पा, रुकुम, प्युठान, दाङ, कपिलवस्तुलाई बढी संवेदनशील जिल्लाका रूपमा लिइएको छ। सुरक्षामा जनपद, अनुसन्धान र सशस्त्र प्रहरी परिचालन गरिएको छ। नेता पक्राउ गर्ने, हतियारसहित भेटिए घुँडामुनि गोली हान्ने सम्मको सर्कुलर रहेको यसअघि नै बताइएको छ। रोल्पाको इरिबाङ पार्टीका महासचिव विप्लवको पुरानो थलो हो।

सञ्चार र सामाजिक सञ्जालबाट समेत टाढिएका छन। चिनिएका कार्यकर्तासमेत लाखापाखा लागेका छन्। जिल्ला जिल्लामा विप्लवका नेता तथा कार्यकर्तालाई निगरानीमा राखेको प्रहरीले सुदूरपश्चिममा पनि ५ जना पक्राउ गरेको छ। प्रहरीको उच्च स्रोतका अनुसार कैलालीबाट १ र अछामबाट ४ जना विप्लवका कार्यकर्ता पक्राउ परेका छन्। विप्लव माओवादीको युवा संगठन योङ रेड फोर्स नेपालका कैलाली जिल्ला अध्यक्ष रूपेश देवकरलाई दुई दिनअघि धनगढीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। यसैगरी, मंगलबार अछामको रामारोशन गाउँपालिका–४, बाटुलासेनको झाताबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेकपा माओवादी विप्लव पाटीका जिल्ला कमिटी सदस्य सुरेश रावत, जिल्ला सदस्य सुरेश साउँद, जिल्ला सदस्य गोमानसिंह साउँद र अखिल नेपाल महिला सघ क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष भुमीसरा धामी पक्राउ परेको अछाम प्रहरी कार्यालयका प्रहरी निरीक्षक कलेन्द्र शाहीले बताए।

उनी लुकेको सूचनाका आधारमा प्रहरी त्यहाँ गएको थियो। प्रहरीले दोहोरो फायर भएको बताएको छ। त्यहाँ ९ जनाको समूहमा रहेका र अन्य ५ जना फरार भएको प्रहरीले बताएको छ। प्रहरीले विप्लव माओवादीका कार्यकर्ताको खोजी कार्य तीव्र बनाएको एक प्रहरी अधिकारीले बताए। माओवादीका कार्यकर्ता मोबाइल स्विचअफ गरेर भूमिगत भएको स्रोतले बताएको छ। सरकारले नेकपाका कार्यकर्ताविरुद्ध प्रहरीले विशेष निगरानी राखेको छ। उक्त समूहले जनप्रतिनिधि, सरकारी कर्मचारी, शिक्षक तथा व्यापारीसँग चन्दा असुली गरिरहेको जनगुनासो बढिरहेका बेला प्रहरीले निगरानी बढाएको हो। निगरानी गर्ने क्रममा प्रहरीले उक्त समूहका ४ जना कार्यकर्र्ता बाँकेमा पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) अरुण पौडेलका अनुसार नेपालगन्ज उपमहानगरपालिका–२०, का चित्रबहादुर विक, हुम्ला घर भई हाल कोहलपुर–११, मा बस्दै आएका दानबहादुर फडेरा, राप्तीसोनारी गाउँपालिका–१, कुसुम निवासी सन्तोष बस्नेत र बैजनाथ गाउँपालिका–१, चिसापानी निवासी कृष्णबहादुर शाही पक्राउ परेका छन्। उनीहरू विरुद्ध केहीलाई मुद्दा चलाइएको र केहीको विषयमा अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ। सरकारले विप्लव समूहको नेकपामाथि प्रतिबन्ध लगाएपछि सुरक्षा निगरानी कडा पारेको एसपी पौडेलले बताए। विभिन्न ठाउँमा प्रहरी परिचालन भएर विप्लव समूहका कार्यकर्ताको निगरानी बढाइरहेको उनले जनाए।

बाँकेमा जनप्रतिनिधि, सरकारी कर्मचारी, शिक्षक तथा व्यापारीसँग विप्लव समूहले चन्दा असुली गरिरहेको हल्ला चले पनि आधिकारिकरूपमा कसैले पनि उजुरी नगरेको एसपी पौडेलले बताए। गैरकानुनी कामका लागि कसैले पनि चन्दा दिन नपाइने बताउँदै पौडेलले चन्दा दिने व्यक्तिलाई पनि कारबाही हुने चेतावनी दिए।

१५ नेता–कार्यकर्ता पक्राउ
सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीमाथि प्रतिबन्ध लगाएयता कर्णाली प्रदेशमा १५ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीका १० मध्ये छ जिल्लाबाट १५ जना नेता तथा कार्यकर्ता पक्राउ परेका हुन्। पक्राउ परेकाहरूलाई प्रहरीले सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसुर, विष्फोटक पदार्थ र संगठित अपराध कसुरमा मुद्दा चलाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) महेशविक्रम शाहका अनुसार सुर्खेत जिल्लाबाट तीनजना विप्लवका कार्यकर्ता पक्राउ परेका छन्। जिल्ला कमिटी सदस्य सिद्धबहादुर खड्का, मनबहादुर केसी र इलाका इन्चार्ज गणेश आरसी सुर्खेतबाट पक्राउ परेका छन्।

यस्तै सल्यानबाट जिल्ला कमिटी उपाध्यक्ष भीमबहादुर वली, सचिव खोमलाल केसी र मदन उखेडा पक्राउ परेका छन् भने डोल्पाबाट पंखे नेवार पक्राउ परेको उनले जानकारी दिए। प्रहरीका अनुसार कालिकोटबाट बुद्धिजीवी परिषद्का भेरी–कर्णाली इन्चार्ज धनबहादुर शाही सोमबार पक्राउ परेका छन्। विष्फोटक पदार्थसहित पक्राउ परेका शाहीलाई विस्फोटक पदार्थ र संगठित अपराध अन्र्तगत मुद्दा चलाइएको छ। यस्तै कालिकोटका जिल्ला मजदूर संगठन इन्चार्ज भरत शाही र जिल्ला सूचना तथा सञ्चार प्रमुख कर्णबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको आरोपमा मुद्दा चलाइएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार रुकुमबाट विद्यार्थी नेताहरु मुकुन्द रावल, प्रकाश विक र रमेश परियार पक्राउ परेका छन्। पक्राउ परेका मध्ये विक दैलेखका हुन् भने परियार कालिकोटका हुन्। दैलेखबाट विप्लवका दुई कार्यकर्ता पक्राउ परेका छन्। कालिकोटको खाँडाचक्र नगरपालिका–२ का वीरेन्द्र नेपाली र ओमसिंह नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रेखा भुसाल/बुटवल, दिलबहादुर छत्याल/धनगढी, नगेन्द्र उपाध्याय/सुर्खेत, अर्जुन ओली/नेपालगन्ज

प्रकाशित: १७ चैत्र २०७५ ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App