१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अख्तियारको छानबिनपछि अध्यागमनको टेन्डर रद्द

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अघि बढाएपछि अध्यागमन विभागले सर्भर, स्टोरेज तथा नेटवर्किङलगायत उपकरण खरिदका लागि आह्वान गरेको टेन्डर रद्द गरेको छ। सार्वजनिक खरिद कानुनविपरीत प्रतिस्पर्धालाई सीमित गर्नेगरी एउटा मात्र ब्रान्डको उपकरण खरिद गर्ने उद्देश्यले टेन्डर आह्वान गरेपछि सर्भर, स्टोरेज तथा नेटवर्किङ उपकरण खरिदका लागि एउटा मात्र कम्पनीको प्रस्ताव परेको थियो।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले अध्यागमनमा ती उपकरण खरिदका लागि टेन्डर सेटिङ भएको उजुरीका आधारमा छानबिन प्रक्रिया अघि बढिरहेको बताए। आयोगले कानुनबमोजिम छानबिन अघि बढाएकाले सबै कुरा खोल्न नमिल्ने उनको भनाइ छ। सार्वजनिक खरिद अनुगमन कार्यालयका पूर्वसचिव मधुप्रसाद रेग्मीले अख्तियारको छानबिनलाई छल्न बदनियतपूर्वक टेन्डर रद्द गरेको हुन सक्ने आशंका व्यक्त गरे।

अख्तियारको कारबाहीबाट बच्न राजीनामा दिने गरेको दृष्टान्त पेस गर्दै उनले विभागीय कारबाहीबाट जोगिन टेन्डर रद्द गरेको हुनसक्ने बताए। कुनै ब्रान्डको उपकरणको मोडलसँग मेल खानेगरी ‘स्पेसिफिकेसन्स’ तयार गरिएको पुष्टि भए विभागीय कारबाही गर्न अख्तियारले सम्बन्धित निकायलाई निर्देशन दिन सक्ने पूर्वसचिव रेग्मीले स्पष्ट पारे।

स्रोतका अनुसार ती उपकरण खरिदका लागि थकरालको सहायक कम्पनी आस्ट्रल कम्प्युटर्स नेपाल प्रालिले अध्यागमनसँग सेटिङ मिलाएर तीन करोड २२ लाखमा आपूर्ति गर्नेगरी एकलौटी रूपमा प्रस्ताव हालेको थियो। उक्त रकम लागत अनुमान हाराहारी होे। यो तथ्यले पनि सर्भर, स्टोरेज तथा नेटवर्किङलगायत उपकरण खरिदमा अध्यागमनमा टेन्डर सेटिङ भएको पुष्टि हुन्छ। प्रतिस्पर्धामा आउन अन्य कम्पनीको स्पेसिफिकेसन नमिल्ने भएपछि थकरालले अघि सारेको आस्ट्रलले लागत अनुमानको हाराहारीमा प्रस्ताव हालेको स्रोतको भनाइ छ।

प्रकाशित: १७ चैत्र २०७५ ०१:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App