१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

औषधि छन्, स्वास्थ्यकर्मी छैनन्

हुम्ला- विगतमा स्वास्थ्य संस्थामा औषधि अभावका कारण बिरामीले सास्ती भोग्नुपरेको घटना सुनिँदै आएको हो। तर, हुम्लाका स्वास्थ्य संस्थामा भने अवस्था अर्कै छ।  स्वास्थ्यकर्मी नहुँदा बिरामीले सास्ती भोगिरहेका छन्।

जहिले पनि औषधि अभावकै समस्या झेलेको हुम्लाले स्थानीय सरकार गठनपछि स्वास्थ्यकर्मी समस्या भोग्दै आएको छ।

सामान्य झाडापखाला, टाउको दुख्ने जस्ता समस्याकोे उपचारकै लागि नजिकैको रायाँ स्वास्थ्यचौकी पुग्दा औषधि पाए पनि स्वास्थ्यकर्मी नभेटिएको बताइन् खार्पुनाथकी पञ्चसरी रावलले। भनिन्, ‘कोही भेटिएनन्, उपचार नगरी फर्किनुपयो।’ 

एक जना हेल्थ असिस्टेन्ट, एक अहेव, दुई जना अनमी र २ जना कार्यालय सहयोगी गरी ६ जनाको दरबन्दी छ यस राया स्वास्थ्यचौकीमा । 

तर, स्वास्थ्यकर्मी नै नभएपछि बिरामी मार्कामा पर्दै आएका छन्। स्वास्थ्यकर्मी नभएपछि सरसफाइ स्वच्छता प्रवद्र्धनका कर्मचारी जरम शाहीले किडबक्सबाट दिएको पारा सिटामोल र मेट्रो औषधि लिएर घर आउनुपरेको सेवाग्राहीको गुनासो छ।

प्राप्त जानकारीअनुसार स्वास्थ्य इन्चार्ज भगवती श्रेष्ठ र अनमी लोकमाया ओली घरबिदामा छन्। त्यस्तै, अनमी कविता बुढा तालिमकै सिलसिलामा सुर्खेत छिन् भने अहेव ओमप्रकाश कुसुवाहा होली मनाएर औषधि लिएर आउने भन्दै सदरमुकाम सिमकोट गएका छन्। 

अहिले स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीले सेवा पाउन नसकेको वडा अध्यक्ष गुलाम रावल स्वीकार्छन्। यस्तै, सिमकोट गाउँपालिका–७ स्थित धारापोरी स्वास्थ्यचौकीमा महिला स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ। महिला स्वास्थ्यकर्मी नहुँदा गर्भवती भएका महिलाहरुलाई चेकजाँच गराउन समस्या भएको सिमकोट गाउँकार्यपालिका विनोद विकले बताए। २ जना अनमीको दरबन्दी रहेता पनि तालिम भन्दै नेपागञ्ज सुर्खेत झरेकाले समस्या भएको उनको भनाइ छ। 

स्वास्थ्यकर्मी अभावकै कारण गर्भवती महिला एक दिन पैदल हिँडेर जिल्ला अस्पताल धाउनु पर्ने बाध्यता छ। उता सर्केगाड गाउँपालिका वडा २ रिपगाउमा रहेको स्वास्थ्यचौकीमा पनि स्वास्थ्यकर्मी नहुदा बिरामीलाई त्यही समस्या भएको स्थानीय गुरु कार्कीले बताए। सडक सञ्जालमा नजोडिएको कारण पनि नागरीक विरामी हुँदा स्टेचर, डोको र पिठ्युमा बिरामीलाई बोकेर २ दिनको पैदल हिडेर जिल्ला अस्पताल सिमकोटमा ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

यी त प्रतिनीधि पात्र मात्रै हुन। जिल्लाभरीका स्वास्थ्य चौकीको अवस्था यस्तै रहेको स्थानीयको गुनासो छ। स्वास्थ्यचौकीमा औषधि भएर पनि स्वास्थ्यकर्मी नहुँदा विरामीहरु फर्कनुपर्ने अवस्था समृद्दिको बाटोमा लम्किरहेको मुलुकका लागि बिडम्बनापूर्ण रहेको छ।

अहिले सरकारले कर्मचारी समायोजन प्रकृया अघि बढाइरहँदा स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरुको अहिले सम्म समायोजन हुन नसकेका कारण पनि यो समस्या आएको हुन सक्ने खार्पुनाथ गाउपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले बताए। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सम्बन्धित निकाय गम्भीर बन्न आवश्यक देखिन्छ।

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई पिठ्यँमा बोकेर जिल्ला अस्पताल सिमकोट लगिँदै । 

प्रकाशित: १६ चैत्र २०७५ ११:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App