१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आठौं राष्ट्रिय खेलकुदको तालिका सार्वजनिक

काठमाडौं – प्रदेश नम्बर ५ मा आगामी वैशाख ५ गतेदेखि हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका धेरैजसो खेल बाँकेमा हुने भएको छ। शुक्रबार आठौं राष्ट्रिय खेलकुदको मिति घोषणा भएसँगै राष्ट्रिय खेलकुद परिषद्ले शनिबार जारी गरेको खेलतालिका अनुसार बाँकेमा १७ वटा खेल हुनेछ।

त्यसैगरी दाङमा ७, रुपन्देहीमा ४, बर्दियामा ४ तथा ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौंमा एक–एक खेल आयोजना गरिनेछ। वैशाख ५ गते औपचारिक उद्घाटन गरिने प्रतियोगिताअन्तर्गत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन्।

त्यसैगरी दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याडमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन्। यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ। बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौंमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ।

प्रदेश नं ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौंमा गर्न लागिएको हो। प्रतियोगिताको औपचारिक उद्घाटन आगामी वैशाख ५ गते नेपालगञ्ज रंगशालामा र समापन पनि वैशाख ११ गते सोही रङ्गशालामा गरिनेछ।

गएको मंसिरमै तय भएको प्रतियोगिता पूर्वाधार तयार नहुँदा पटक–पटक सर्दै आएको थियो। राखेपको शुक्रबार बसेको सञ्चालक समिति बैठकले प्रतियोगिता वैशाख ५ देखि गर्ने निर्णय गरेको हो।

 

प्रकाशित: १६ चैत्र २०७५ ०८:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App