१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

औषधि छ, स्वास्थ्यकर्मी छैनन्

हुम्ला - जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधि भए पनि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ। अधिकांश स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई बोकी एक दिन पैदल हिँडेर उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने बाध्यता रहेको गुनासो स्थानीयको छ।

सर्केगाड गाउँपालिका रिपस्थित स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा यहाँको बिरामीलाई उपचारका लागि बोकेर एक दिन पैदल हिँडेर जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने समस्या छ। यस्तै जिल्लाको खार्पुनाथ गाउँपालिका–३ का नागरिक सामान्य झाडापखाला र टाउको दुख्ने बिरामी हुँदा पनि जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता छ। त्यहाँका नागरिक बिरामी हुँदा उपचारका लागि नजिकैमा रहेको रायाँ स्वास्थ्यचौकीमा पुग्दा औषधि दिने मान्छे कोही नभएको स्थानीय मानबहादुर परियारले गुनासो गरे।

परियारका अनुसार आफ्ना बुबा दमका रोगी भएको र आमालाई घुँडा, गोडा दुख्ने रोगले सताएकाले उनीहरुका लागि आवश्यक पर्ने औषधि र सुई सिमकोटस्थित फार्मेसीबाट खरिद गरेर लगेको तर सुई लगाउने स्वास्थ्यकर्मी पनि रायाँ स्वास्थ्यचौकीमा नपाएको गुनासो गरे।

स्वास्थ्यचौकीमा सिटामोल भए पनि दिने मान्छे नभएको परियारले बताए। अहिले त्यहाँका नागरिक बिरामी हुँदा जिल्ला अस्पताल सिमकोट नै धाउनुपर्ने बाध्यता छ। रायाँ स्वास्थ्यचौकीमा चारजनाको दरबन्दी छ। एकजना हेल्थ असिस्टेन्ट, एक अहेब र दुईजना अनमी गरी चारजनाको दरबन्दी भए पनि स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा बिरामी उपचारबिना नै फर्कनुपर्ने अवस्था छ। स्वास्थ्यकर्मी नभएपछि सरसफाइ स्वच्छता प्रवद्र्धनका कर्मचारी जरम शाहीले दिएको सिटामोल र मेट्रो औषधि लिएर त्यहाँका बिरामी घर फर्किने गरेका छन्।

कार्यालय प्रमुख भगवती श्रेष्ठ र अनमी लोकमाया ओली घर बिदामा गएका छन् भने अनमी कविता बुढा तालिमकै सिलसिलामा सुर्खेतमा छन्। स्वास्थ्यचौकीका अहेब ओमप्रकाश कुसुहा होली मनाएर औषधि लिएर आउने भन्दै सदरमुकाम सिमकोट झरेका थिए। उनी अझै नफर्किएको स्थानीयको भनाइ छ। अहिले स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा औषधि भए पनि सेवाग्राहीले सेवा पाउन नसकेको वडाध्यक्ष गुमन रावलको भनाइ छ।

यस्तै सिमकोट गाउँपालिका–७ स्थित धारापोरी स्वास्थ्यचौकीमा महिला स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलालाई उपचार गराउन समस्या भएको स्थानीय विनोद विकले बताए। ती स्वास्थ्यचौकीमा दुईजना अनमीको दरबन्दी रहे पनि तालिम भन्दै नेपालगन्ज र सुर्खेत झरेकाले समस्या भएको गाउँ कार्यपालिकाका सदस्यसमेत रहेका विकले बताए। महिला स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्योपचारका लागि गर्भवतीले एक दिन पैदल हिँडेर भए पनि जिल्ला अस्पताल पुग्ने गर्छन्।

प्रकाशित: १६ चैत्र २०७५ ०३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App