१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

थुनुवालाई टीभी

तस्बिर : प्रहरीलाई टेलिभिजन हस्तान्तरण गर्दै चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही।

सुर्खेत - जिल्ला प्रहरी कार्यालयले थुनुवाहरुलाई टेलिभिजको व्यवस्था गरिदिएको छ। बराहताल र चौकुने गाउँपालिकाले उपलब्ध गराएका पाँच वटा टेलिभिजन हिरासत कक्षमा राखिएका छन्।

‘थुनुवाहरुलाई जनचेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम देखाउने उद्देश्यले दुई वटा गाउँपालिकाको सहयोगमा पाँच वटा टेलिभिजन सेट हिरासत कक्षमा जडान गरेका छौं’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले भने।

प्रहरीले तीन वटा टेलिभिजन पुरुष थुनुवा कक्षमा जडान गरेको छ भने एक–एक वटा टेलिभिजन महिला तथा बालबालिका थुनुवा कक्षमा जडान गरेको छ। प्रहरीले टेलिभिजनमार्फत सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बनाइएका विभिन्न जनचेतनामूलक भिडियो सामग्रीलाई पनि प्रसारण गर्ने गरेको छ।

‘यसका साथै केवुलमार्फत मनोरञ्जनात्मक कार्यक्रम पनि देखाउने गरेका छौं’, उनले भने, ‘थुनुवाहरुको मानव अधिकारको सम्मान गर्न पनि हिरासत कक्षमा टेलिभिजन जडान गरेका हौं।’ चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले विभिन्न अभियोगमा पक्राउ परेकाहरुलाई बाह्य संसारबारे जानकारी दिने उद्देश्यले दुई वटा टेलिभिजन सेट प्रहरीलाई हस्तान्तरण गरिएको बताए।

‘हिरासतमा खाली बस्दा नकारात्मक सोचको विकास हुने देखिएकाले उनीहरुको मनोरञ्जनका लागि टेलिभिजन सेट उपलब्ध गराएका हौं’, उनले भने। हिरासत कक्षका लागि बराहताल गाउँपालिकाले तीन वटा टेलिभिजन उपलब्ध गराएको छ। 

प्रकाशित: १५ चैत्र २०७५ ०८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App