१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधान संशोधनमा खुल्दै कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा आधिकारिक धारणा बनाउन पार्टी केन्द्रीय समिति बैठक बोलाएको छ। नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठकमार्फत संविधान संशोधनसहितका विषयमा आधिकारिक धारणा बनाउन माग गरिरहेका बेला सभापति शेरबहादुर देउवाले बिहीबार बैठक बोलाएका हुन्।

पार्टी केन्द्रीय कार्यालय, सानेपामा बिहान ११ बजे बस्ने बैठकमा मधेसकेन्द्रित राजनीतिक दलले उठाउँदै आएका माग सम्बोधन गर्ने र स्थानीय निकाय निर्वाचनका विषयमा आधिकारिक धारणा तय गर्नेछ।

सभापतिनिकट केन्द्रीय सदस्य मीन विकले संविधान संशोधन, स्थानीय निकाय निर्वाचन र पार्टी संगठनका विषयमा बैठकमा छलफल हुने जानकारी दिए। 'संविधान संशोधनका विषयमा पार्टीले एउटा धारणा बनाउनुपर्ने अवस्था छ भने स्थानीय निकाय निर्वाचन र पार्टीको आन्तरिक संगठनका विषयमा छलफल हुन्छ,' विकले भने।

बैठकमा संविधानप्रति असन्तुष्ट मधेसकेन्द्रित दलले उठाउँदै आएका नागरिकता, भाषा, प्रदेशको सीमांकनका साथै मधेस आन्दोलनका मुद्दा फिर्तासहितका विषयमा छलफल हुनेछ।  कैलाली घटनाका दोषीलाई उन्मुक्ति दिन लागेको भन्दै सरकारको आलोचना भइरहेका बेला कांग्रेसले त्यस विषयमा पनि नेताहरुको राय लिनेछ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेले संविधान संशोधन, स्थानीय निकाय निर्वाचनका साथै सरकारमा पार्टीको उपस्थिति र भूमिका विषयमा छलफल हुने बताए। 'तराई/मधेसका सबै जिल्ला समेटेर दुई प्रदेश हुनुपर्ने विषय पनि आइरहेको छ,' घिमिरेले भने, 'संविधान संशोधन र स्थानीय निकाय निर्वाचनका विषयमा पनि पार्टीले एउटा धारणा बनाउनेछ।'

पार्टीको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भए पनि संविधान संशोधनसहितका विषयमा छलफल नभएको भन्दै पौडेलपक्षीय नेताले असन्तुष्टि जनाउँदै आएका छन्।

केन्द्रीय सदस्य रामशरण महतले संविधानलाई लिएर असन्तुष्ट पक्षका माग पूरा गर्न आवश्यक पहलै नगरेको आरोप लगाएका छन्। 'सरकार बनेको दुई महिना भइसक्यो तर संविधान संशोधनबारे अहिलेसम्म कुनै छलफल भएको छैन,' महतले आइतबार राजधानीमा आयोजना गरिएको साक्षात्कारमा भने, 'अरुसँग भए थाहा छैन, कांग्रेससँग भएको जानकारी मलाई छैन।'

सरकार कात्तिकभित्र असन्तुष्ट पक्षको माग सम्बोधन गर्ने गरी संविधान संशोधन गर्दै स्थानीय निकाय निर्वाचन मिति तोक्ने गृहकार्यमा छ।

त्यस्तै, विधानअनुसार पार्टी चल्न नसकेको भन्दै पौडेल पक्षले बैठकमा पदाधिकारीसहित विभाग गठनको विषय पनि तयारीमा छन्। पार्टी विधानले महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पदाधिकारी, केन्द्रीय सदस्य, विभागसहितका सबै निकायलाई पूर्णता दिनुपर्ने जनाए पनि सभापति देउवाले अहिलेसम्म ११ नेतालाई केन्द्रीय सदस्य मनोनीत मात्र गरेका छन्। बाँकी १० केन्द्रीय सदस्य मनोनयन बाँकी छ।

महाधिवेशनबाट पारित नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिइनसकेको कांग्रेसले पार्टी संसदीय समिति, कार्यसम्पादन समितिका साथै विभाग गठन गर्न पनि बाँकी छ। निर्वाचन, लेखासहितका केही समितिलाई विधानले स्थायी प्रकृतिको माने पनि त्यसले पूर्णता नपाउँदै जिल्ला/जिल्लाबाट क्रियाशील सदस्यता कार्ड माग हुँदै आए पनि वितरण हुन सकेको छैन। 

त्यस्तै, निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनीत गर्नुपर्ने एक/एक उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनीतको प्रस्ताव पनि सभापति देउवाले केन्द्रीय समितिमा अझै लगेका छैनन्। पार्टी भ्रातृसंगठन नेपाल तरुण दलको कात्तिक अन्तिम साता महाधिवेशनपछि मात्र पदाधिकारी मनोनयन प्रक्रिया अघि बढाउने निकटस्रोतले जनाएको छ।

नेता विमलेन्द्र निधिलाई उपसभपातिमा मनोनीत गर्ने पक्षमा सभापति देउवा रहे पनि नेता गोपालमान श्रेष्ठ र खुमबहादुर खड्काले पनि दाबेदारी प्रस्तुत गर्दै आएका छन्। श्रेष्ठले सभापति देउवा र नेता पौडेलपछि आफू पार्टीको तेस्रो वरीयतामा रहेको भन्दै उपसभापतिमा दाबी गर्दै आएका छन् भने खड्काले महाधिवेशनअघि नै आफूलाई उपसभापति बनाउने समझदारी बनेको जनाउँदै आएका छन्।

त्यस्तै, सभापति देउवा ज्ञानेन्द्रबहादुर कार्कीलाई महामन्त्री मनोनीत गर्ने पक्षमा रहे पनि नेता पूर्णबहादुर खड्काले पनि दाबी गर्दै आएका छन्। सहमहामन्त्री पौडेल पक्षले दाबी गर्दै आएका छन् भने नेता मानबहादुर विक पनि लबिङमा छन्। महाधिवेशनअघि पदाधिकारी मनोनीत गर्दा त्यसको असर निर्वाचनमा पर्ने जनाउँदै सभापति देउवाले त्यसलाई धकेल्दै आएका छन्।

दसैंअघि नै पार्टीका आठ नेतालाई राज्यमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी गराउने तयारीमा रहेका सभापति केन्द्रीय समिति बैठकपछि अरु नेतालाई सरकारमा सहभागी गराउने आन्तरिक तयारी छ। त्यसपछि मात्र विभाग गठन प्रक्रियाअघि बढाउने उनको तयारी छ।

पार्टी विधानमा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र सबै निकायलाई पूर्णता दिइसक्नुपर्ने उल्लेख छ। फागुन २४ गते सभापतिमा निर्वाचित देउवाले सबै सदस्यको कुरा सुन्ने तयारीसाथ केन्द्रीय समिति बैठक बोलाएको निकटका नेताको दाबी छ।

प्रकाशित: १ कार्तिक २०७३ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App