१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रोजगारी खोस्दै डोजर

बालुवाचौर–डार्ने–स्यार्पु सडक खण्डमा मर्मत सम्भारको काम गर्दै डोजर। तस्बिर : लोकेन्द्र/नागरिक

रुकुम - रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका–६ मग्मामा रहेको विउनटाकुरा–मेलडाँडा सडक खण्ड मर्मतका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा तीन लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो। तीन किलोमिटर लामो सडक बर्खाको समयमा भत्किएपछि अवरुद्ध भएको थियो। वर्षाका कारण ठाउँठाउँमा भत्किएको सडक मर्मतका लागि गाउँपालिकाले बजेट विनियोजन गरेपछि गाउँमै रोजगारी पाउने आशमा स्थानीय थिए।

बेरोजगारीको मारमा पिल्सिएका स्थानीयवासी सडक मर्मत सम्भारको काममा लागेर थोरै भए पनि आर्थिकोपार्जन गर्ने सोचमा थिए। तर सडक मर्मतका लागि न त उपभोक्ता समिति गठन भयो न त यहाँका स्थानीयले नै काम गर्ने मौका पाए। गाउँपालिकाले मानिसको सट्टा डोजर प्रयोग गरेर उक्त सडक मर्मत गरिएको यहाँका स्थानीय खड्कबहादुर कुसारीले बताए। आफूहरुले काम गर्छाैं भन्दा पनि वडा कार्यालयले आफैंले डोजर प्रयोग गरेर सडक मर्मत सम्भार गरेको उनको भनाइ छ।

गत असोज महिनामा भएको एक सार्वजनिक कार्यक्रममा यहाँका सबै जनप्रतिनिधिले आगामी दिनमा विकास निर्माणका कामका लागि डोजर प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। प्रतिबद्धताविपरित वडा कार्यालयले सडक मर्मतको काममा डोजर प्रयोग गरेर आफूहरुलाई रोजगारी पाउने अवसरबाट बञ्चित गरेको स्थानीयको गुनासो छ। आफ्नै गाउँमा रोजगारी पाउने आशमा रहेका स्थानीय जनप्रतिनिधिको प्रतिबद्धताविपरितको कार्यले रोजगारी खोसिएकामा चिन्तित छन्।

त्यस्तै बाँफिकोट गाउँपालिका–३ मा रहेको बालुवाचौर–डार्ने–स्यार्पु सडक खण्ड मर्मतका लागि चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले १५ लाख रुपैयाँ विनियोजन गरेको थियो। यहाँका स्थानीयले पनि सडक मर्मत सम्भार गरेर गाउँमै रोजगारी पाउने आशा गरेका थिए। यहाँ पनि कुनै जानकारी नै नदिई स्थानीय तहका प्रतिनिधिले एकाएक डोजर लगाएर काम गराउन थालेपछि यहाँका स्थानीय आक्रोशित भएका छन्। उपभोक्ता समिति गठन होला र सडक मर्मतको काम गरेर थोरै भए पनि गाउँमै आर्थिक आम्दानी गरौंला भन्ने आशमा रहेका स्थानीयको सपना अधुरै रह्यो।

यि दुई आयोजनाजस्तै जिल्लाका सबै ठाउँमा सञ्चालन भइरहेका काममा धमाधम डोजर प्रयोग हुँदै आएका छन्। साना एक लाख रुपैयाँ लगानीका योजना देखी करोडौंका योजनामा डोजरले काम गर्दै आएका छन्। डोजरका कारण गाउँमै भएको रोजगारी पनि गुम्दै गएको स्थानीयको गुनासो रहेको छ। सडक मर्मत गर्ने कामदेखि यहाँ नाली बनाउने काममा समेत डोजर प्रयोग गर्दा आफूहरुले रोजगारी नपाउने गरेको बाँफिकोट गाउँपालिका–३ डार्नेका चन्द्रबहादुर खत्रीले बताए।

स्थानीय सरकारले गाउँमै रोजगारीको व्यवस्था गर्ने भने पनि यहाँको विकास निर्माणमा समेत आफूहरुलाई काम गर्ने अवसर नदिएको उनको गुनासो छ। यहाँका पुरुष रोजगारीको खोजी गर्दै दैनिक भारतका विभिन्न ठाउँ तथा विदेशमा जाँने गरेका छन्। त्यहाँ गए आफुहरु कडा परिश्रम गरेर विकास निर्माणको काम गर्ने गरेको भएपनि आफ्नो गाउँमै हुने विकास निर्माणमा भने डोजरका कारण आफूहरुले काम गर्न नपाएको अर्का स्थानीय धनबहादुर कुसारीको भनाइ छ।

संघीय सरकारले एक करोड रुपैयाँभन्दा कम लगानीका योजनामा स्थानीयको सहभागिता गराएर काम सञ्चालन गर्ने कार्य बिधि बनाएको छ। उपभोक्ता समिति गठन गरेर जनसहभागितामा गाउँको विकास निर्माण गर्ने सरकारी नियम भए पनि त्यो कार्यान्वयन हुन सकेको छैन। नियम कार्यान्वयन गर्ने निकायले नै त्यसको उलंघन गर्ने गरेको कुसारीको भनाइ छ। सडक निर्माण तथा मर्मतको काम गर्दा डोजरको प्रयोग गर्ने गरिएको छ। सडकको नाली काट्नेदेखि सफा गर्ने र शौचालयको खाडल निर्माण गर्ने काममा समेत डोजरको प्रयोग हुने गरेको छ।
तर जनप्रतिनिधिले भने नयाँ काममा डोजर प्रयोग नगरेको दाबी गरेका छन्। मर्मतको काममा अतिआवश्यक भएकाले डोजर प्रयोग गर्नुपरेको बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताए। ‘हामीले नयाँ काममा डोजर प्रयोग गरेका छैनौं,’ उनले भने, ‘सडक तत्काल मर्मत गर्नुपर्दा काम गर्ने मान्छेसमेत नपाइँदा डोजर प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ।’ लामो समयसम्म सडक अवरुद्ध हुँदा यात्रुलाई समस्या हुने हुँदा तत्काल सञ्चालन गर्नुपर्ने बाध्यताले मर्मतको काममा डोजर प्रयोग गर्नुपरेको अध्यक्ष केसीको भनाइ छ। अबका दिनमा सकेसम्म मर्मत सम्भारका काममा समेत डोजरको प्रयोग नगर्ने उनले बताए।

प्रकाशित: १५ चैत्र २०७५ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App