१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रदेश नं.१ मा दुर्घटनाको मुख्य कारण मापसे

इटहरी—मादक पदार्थ सेवन गरि सवारी चलाउने चालककै कारण सबैभन्दा बढी दुर्घटनाका घटना भएको निश्कर्ष प्रदेश नं. १ ट्राफिक प्रहरीले निकालेको छ। अहिलेसम्म प्रदेश नं. १ का १४ जिल्लामा भएका सवारी दुर्घटनामध्ये ८० प्रतिशत मापसेकै कारण भएको ट्राफिक प्रहरीको तथ्यांक छ। 

सवारी साधनको संख्या थपिने क्रमसँगै सवारी साधन चालकले पनि होसियारी नअपनाउनाले गर्दा दुर्घटना बढेर गएको छ। यसरी दुर्घटना बढ्नुमा मापसे नै मुख्य कारक रहेको खुलेको हो। प्रदेश प्रहरीले चालु आर्थिक वर्षको आठ महिनाको अवधीमा ६ हजार ९३९ जना सवारी चालकलाई कारबाही गरेको छ। यो संख्या प्रदेश नं.१ मा अहिलेसम्मकै सवैभन्दा बढी हो। 

आर्थिक २०७४।०७५ साउनदेखि फागुनसम्ममा  दुई हजार ७०९ जनालाई मात्र कारबाही गरिएको थियो। चालु आर्थिक वर्षको सोही अवधिमा चार हजार २३० जना बढी चालक कारवाहीमा परेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी रवि पौडेलले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी मापसे गरेर सवारी चलाउनेमा मोटरसाइकल चालक नै पर्छन्।

पछिल्लो समय मोटरसाइकलको प्रयोग बढेर गएको छ। त्यसमा पनि युवायुवतीले तीव्र गतिमा मोटरसाइकल कुदाउने र कतिपयले मापसे गर्दा बढी दुर्घटना हुने गरेको पाइएको हो। कतिपय युवायुवतीले भने नियमनकारी निकायको आखा छल्दै एउटा मोटरसाइकलमा तीन जना सम्म चढ्ने गरेका छन्।

मापसेसँगै अन्य नियम उल्लंघन गर्ने एक लाख ७८ हजार ४४० सवारी साधनलाई आठ महिनाको अवधीमा कारवाही गरिएको छ। अघिल्लो आर्थिक वर्षको त्यही अवधी भन्दा यस वर्ष आठ हजार ८६ वटा सवारी साधन बढीलाई कारवाही गरिएको हो। आर्थिक वर्ष २०७४।०७५ को साउनदेखि फागुनसम्म एक लाख ७० हजार ३५४ वटा सवारी साधनलाई कारबाही गरिएको थियो। 

मापसे बाहेक प्रदेश नं. १ मा यात्रुमा बाटो काट्ने ज्ञान नभएर जथाभावी ढंगले बाटो काट्दा, एक–अर्को सवारी साधनबीच ओभरटेक गर्ने होडबाजी, तीव्र गति, यान्त्रिक गडबढी, ओभरलोड र सडकमा छाडा चौपाया छाड्नाले पनि दुर्घटना हुने गरेका छन्। ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न १५ दिने कार्यक्रम समेत सञ्चालन गरेको छ। दुर्घटना न्यूनीकरण कार्यक्रम फागुन ३० गतेदेखि सुरु भएर बिहीबार औपचारिक रुपमा टुंगिएको हो।

दुर्घटना न्यूनीकरणकै लागि प्रदेश नं.१ का १४० स्थानमा सडकको खाल्डाखुल्डी मर्मत, २०७ वटा पुराना ट्राफिक चिन्ह मर्मत तथा ३३४ वटा नयाँ ट्राफिक संकेत चिन्ह बोर्ड राखिएको छ। कार्यक्रम अन्तर्गत विवाह भ्रमण, पिकनिक, धार्मिक यात्रामा रहेका सवारी साधनलाई अनुगमन, २७८ जना ट्राफिक प्रहरीको स्वास्थ्य चेकजाँच र एक हजार ५६९ वटा सवारी साधनको मेकानिकल चेकजाँच गरिएको छ। 

 

प्रकाशित: १४ चैत्र २०७५ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App