१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्लाका एसइई केन्द्रमा अभिभावकको दबाव हट्दै

जुम्ला- जुम्लामा एसइई परिक्षा केन्द्र बाहिर अभिभावकको भीडभाड लाग्ने क्रम हटेको छ। गुणस्तरीय शिक्षा र एसइई परीक्षाको महत्वका बारेमा सचेत हुन थालेपछि परिक्षा केन्द्र बाहिर दबाव र प्रभाव पार्ने कार्य निरुत्साहित बन्दै गएको हो। जुम्लामा यो वर्ष एसइईमा २ हजार ३ सय ६२ परिक्षार्थी सहभागी छन्। पन्ध्र केन्द्र निर्धारण गरेर सञ्चालन भइरहेको सबैजसो केन्द्रमा अभिभावक केन्द्र बाहिर भीडभाड भएको देखिएको छैन्। शिक्षा विकास समन्वय इकाइ जुम्लाका प्रमुख महेशदत्त देवकोटा यो वर्षको परीक्षा निकै मर्यादित र अनुशासित रुपमा सञ्चालन भईरहेको बताउँछन्। 

देवकोटाले भने,“एक वर्ष अघिसम्म परीक्षा केन्द्र बाहिर भीडभाड लाग्ने, केन्द्राध्यक्ष र निरिक्षकलाई दबाव र प्रभावमा पार्न खाजेको भेटिन्थ्यो। अहिले केन्द्र बाहिर बिल्कुलै भीडभाड छैन्। केन्द्राध्यक्ष र निरिक्षक पनि मर्यादित रुपमा बसेका छन्।” परिक्षा केन्द्रमा स्थानीयतहले पनि साथ दिएका छन्। परीक्षाहलमा निरिक्षक र केन्द्राध्यक्षलाई पनि मोबाईल निषेध गरिएको छ। जिल्ला समन्वय समिति जुम्लाका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक र शिक्षा विकास समन्वय इकाइबाट निरन्तर भईरहेको अनुगमनले यो वर्षको परीक्षा शान्तिपुर्ण रुपमा चलिरहेको शिक्षा विकास समन्वय इकाइ जुम्लाका प्रमुख महेशदत्त देवकोटा बताउँछन्। 

अभिभावकमा पठनपाठन कडा हुनु पर्ने र परीक्षामा विद्यार्थी आफैले उर्तिण हुनु पर्ने मान्यता स्थापित भएको छ। विद्यार्थीहरुमा नियमित पठ्नपाठनले मात्रै गुणस्तरीय शिक्षा आर्जन गर्न सकिने छाप परेको छ। शिक्षकहरुको लापरवाहीका कारण कोर्ष समयमै नसकिने समस्या रहेको अभिभावकहरु गुनासो गर्दै आईरहेका छन्। एक वर्षमा एक सय ९२ दिन अनिवार्य पढाई हुनु पर्ने ब्यवस्था छ। तर शिक्षा विकास समन्वय इकाई जुम्लाका अनुसार  सरदर एक सय ७५ दिन सम्म पठनपाठन भईरहेको हुन्छ। विद्यालयमा नपढेको कोचिङ पढेर  पुरा गर्ने प्रचलन छ। 

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे परिक्षा केन्द्रमा निरिक्षक, विद्यार्थी र अभिभावक सबै मर्यादित रुपमा रहेकोे बताउँछिन्। “पहिले जस्तो केन्द्र बाहिर हुलहुज्जत गर्ने, केन्द्राध्यक्ष र निरिक्षकलाई प्रभावमा पार्न खोज्ने र चिट चोरेर उतिर्ण हुनु पर्ने मानसिकताको अन्त्य भईसकेको पाइयो।” उनले भनिन्,“विद्यालयमा नियमित पठनपाठन र अभिभावकको साथले मात्रै दक्ष जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षा प्रदान गर्न सकिनेमा दुईमत देखिएन्।” 

 जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढा परीक्षार्थीमा इमानदार बन्नु पर्छ भन्ने विकास भएको बताउँछन्। उनले भने,“अभिभावकमा सचेतना बढेको छ। परीक्षा केन्द्र सुनसान छन्,केन्द्र बाहिरको अवस्था शान्तिपुर्ण नै छ। यो वर्षको परीक्षा धेरै वर्ष पछिको नमुना हो। ”

 

प्रकाशित: १४ चैत्र २०७५ ०८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App