१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कतै आधा उत्पादनमा बस्नुपर्ने त होइन !

काठमाडौं - मुलुक सिमेन्ट र क्लिंकर उत्पादनमा आत्मनिर्भर भएको अवस्थामा निजी क्षेत्रका प्रतिनिधिले थप लगानी आवश्यक नभएको बताएका छन्।

लगानी बढ्दै जाने तर खपत बढाउन नसक्ने अवस्था हुँदा सिमेन्ट उद्योग नै धराशयी हुने हो कि भन्ने डर रहेको सम्बन्धित व्यवसायीको भनाइ छ। नेपाल सिमेन्ट उत्पादन संघका अध्यक्ष ध्रुव थापाले हाल मुलुक सिमेन्ट र क्लिंकरमा आत्मनिर्भर रहेको बताए। पछिल्लो केही महिनादेखि क्लिंकर समेत आयात नभएको अवस्थामा थप लगानीको भविष्य के हुने भन्ने डर रहेको उनले बताए।

‘अबको १० वर्षसम्मको लागि हाल सञ्चालनका रहेका उद्योगबाटै सिमेन्ट पर्याप्त हुनेछ,’ थापाले भने, ‘अर्बौंका लगानी थपिँदै जाँदा सबै उद्योगले क्षमताको आधामात्र उत्पादन गर्नुपर्ने अवस्था आउन सक्छ।’ स्वदेशलाई पर्याप्त रहेको अवस्थामा निर्यात गर्ने सम्भावना रहन्छ तर भारतमा निर्यात गर्न गाह्रो भएको उनले बताए।

भारतले आफूलाई चाहिनेभन्दा धेरै सिमेन्ट उत्पादन गरिरहेको उनले बताए। ‘भारतमा लागत कम छ र सस्तो मूल्यमा सिमेन्ट उत्पादन गरिहरेको छ,’ थापाले भने, ‘उसले आफूले चाहिनेभन्दा धेरै उत्पादन गरिहरेको बेला हामीले निर्यात गर्न गाह्रो पर्नेछ।’

कोइलाको आयात, खानीको समस्या, मजदुर अभाव लगायत विषयले गर्दा स्वदेशभित्र सिमेन्ट उत्पादनको लागत धेरै भएको उनले बताए। हरेक वर्ष विदेशबाट अर्बौंको लगानी यस क्षेत्रमा आएर सिमेन्ट उत्पादन धेरै हुँदा आधा मात्र उत्पादन गरेर बस्नुपर्ने अवस्था आउन सक्ने उनको अनुमान छ। संघका महासचिव ताराप्रसाद पोख्रेलले पनि डेढ दशकयता यस क्षेत्रमा निजी क्षेत्रको लगानी ह्वात्तै बढेको बताए। लगानीको रफ्तार हेर्दा केही समयमै सबै सिमेन्ट उद्योगले उत्पादन क्षमताभन्दा कम उत्पादन गर्नुपर्ने अवस्था आउन सक्ने उनी बताउँछन्।   

हाल सरकारी र निजी गरी एक सय १४ वटा सिमेन्ट उद्योग उद्योग विभागमा दर्ता भएका छन्। ती उद्योगमा करिब दुई खर्ब लगानी भएको अनुमान छ। दर्तामध्ये ६८ वटा उद्योग सञ्चालनमा रहेको पोख्रेलले बताए। यहाँका उद्योगले गुणस्तरीय पिपिसी, ओपिसी र पिएससी सिमेन्ट उत्पादन गरिरहेका छन्। चालु आर्थिक वर्षमा विभिन्न २६ वटा उद्योगबाट ८.५५ मिलियन टन क्लिंकर उत्पादन हुने अनुमान रहेको उनले बताए। यसैगरी, आगामी आर्थिक वर्ष ०७६÷७७ मा क्लिंकर उत्पादन २.७ मिलियन टनले थपिने र आर्थिक वर्ष ०७७÷७८ मा क्लिंकर ५.५५ मिलियन टन थप हुने उनको दाबी छ।

सिमेन्ट उत्पादनमा क्लिंकर प्रयोग चालु आर्थिक वर्षमा ८.२८ मिलियन टन र ०७६÷७७ मा यो बढेर ९.५२ पुग्ने अनुमान छ। यसैगरी, आर्थिक ०७८÷७९ सम्म क्लिंकर उपभोग १२.५९ मिलियन टन पुगी मागभन्दा ३३ प्रतिशत बढी उत्पादन हुने अनुमान छ। आर्थिक वर्ष ०७४÷७५ मा मुलुकमा सिमेन्टको माग नौ मिलियन टन थियो। माग प्रतिवर्ष १५ प्रतिशतका दरले वृद्धि हुने अनुमानका आधारमा ०७५÷७६ मा १०.३५ मिलियन टन हुने अनुमान गरिएको छ। यस वृद्धिको आधारमा हेर्दा ०७८÷७९ सम्ममा नेपालको कुल सिमेन्टको माग १५.७४ मिलियन टन पुग्ने अनुमान छ।

हाल सञ्चालमा रहेका र निर्माणाधीन उद्योगको उत्पादन क्षमता २३.७४ मिलियन टन छ। सञ्चालनमा रहेका र निर्माणाधीन उद्योगको क्षमता अनुसार उत्पादन हुँदा देशको ०७८÷७९ सम्मको माग पूरा गरी झन्डै शतप्रतिशत बढी सिमेन्ट उत्पादन हुन सक्ने भएकाले हालको अवस्थामा सिमेन्ट तथा क्लिंकर उद्योगमा थप लगानी आवश्यक नभएको पोख्रेलको धारणा छ। हाल सिमेन्ट तथा क्लिंकर उद्योग सञ्चालनको लागि आवश्यक सहायक इन्धनको रुपमा प्रयोग हुने कोइला उद्योगको क्षमता अनुसार सञ्चालन गर्न प्रतिदिन कम्तीमा दुई र्‍याक आवश्यक पर्छ। तर, हाल प्रतिमहिना १०–१२ र्‍याक मात्र उपलब्ध छ। बाँकी कोइला विभिन्न झन्झट बेहोर्दै ट्रकमार्फत ढुवानी गर्नुपर्ने अवस्था रहेको पोख्रोलले बताए।  

स्थानीय उद्योगहरुबाट भविष्यमा देशको मागभन्दा धेरै सिमेन्ट र क्लिंकर उत्पादन हुने अपेक्षाको आधारमा कुनै पनि प्रकारको थप लगानी यस क्षेत्रमा आवश्यक नभएको पोख्रेलले बताए। उत्पादित सिमेन्ट स्वदेशमा खपत हुने नसक्ने अवस्था आएमा यसको असर नकारात्मक हुने उनको दाबी छ।

प्रकाशित: १४ चैत्र २०७५ ०५:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App