१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डिएसपी जिसी पनि धरौटीमा रिहा

कञ्चनपुर - निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको मुद्दाका अभियुक्त सिआइबीका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसी नौ लाख धरौटी बुझाएर रिहा भएका छन्। कञ्चनपुर जिल्ला अदालतका न्यााजेन्द्रकुमार आचार्यको इजलासले बुधबार प्रमाण नष्ट गरेको मुद्दामा चार लाख र यातना दिएको मुद्दामा पाँच लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश दिएको हो।

बुधबार नै तोकिएको धरौटी बुझाएर जिसी रिहा भएको अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताएका छन्। जिसी गत सोमबार (चैत ११) गते आफंै कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका थिए। जिसीले निर्मला पन्त हत्याको प्रमाण नष्ट गरेको र दिलीप विष्टलाई यातना दिएको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले गत फागुन २२ गते कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। सरकारी वकिल कार्यालयले तत्कालीन एसपी डिल्ली विष्ट, सिआइबीका डिएसपी जिसी, डिएसपी ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक ऐकेन्द्र खड्काविरुद्ध प्रमाण नष्ट गरेको र यातना दिएको दुई मुद्दा दर्ता गराएको थियो। अन्य चार प्रहरीविरुद्ध भने प्रमाण नष्ट गरेको मुद्दा मात्र दर्ता गरिएको थियो।

बहुचर्चित र सरकारको धेरै आलोचना खेप्नुपरेको निर्मला बलात्कार तथा हत्या प्रकरण आठ महिना भइसक्दा पनि रहस्यको गर्भमै छ।

हत्याको प्रमाण नष्ट गरेको भन्दै आठ प्रहरीविरुद्ध पुसको पहिलो साता निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले र यातना दिएको भन्दै दिलिपका दाजु खडकबहादुर विष्टले चार प्रहरीविरुद्ध जाहेरी दिएका थिए। उनीहरूकै जाहेरीका आधारमा फौजदारी अपराध संहिताअनुसार सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो। अदालतको आदेशबमोजिम आठैजना धरौटीमा रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख विष्टले सबैभन्दा बढी साढे १० लाख धरौटी बुझाएका छन्। उनले प्रमाण नष्ट गरेको मुद्दामा चार लाख र यातना दिएको मुद्दामा ६ लाख धरौटी बुझाएका हुन्। प्रमाण नष्ट गरेको अभियोगमा सरकारले उनलाई भविष्यमा अयोग्य नहुने गरी जागिरबाट बर्खास्त गरिसकेको छ।

फागुन २२ गते अदालतमा मुद्दा दर्ता गराएकै दिन ६ जना प्रहरी उपस्थित भए पनि विष्ट र जिसी सम्पर्कविहीन भएका थिए। अदालतले दुवै जनाको नाममा वारेन्टसहितको ३५ दिने सूचना जारी गरेको थियो। चैत ५ गते बिष्ट आफैं अदालतमा उपस्थित भएर चैत १० गते धरौटीमा रिहा भएका थिए।

साउन १३ गते सिआइबीका डिएसपी अंगुर जिसी निर्मलाको बलात्कारपछि हत्या भएको प्रकरणमा अनुसन्धान गर्न कञ्चनपुर आएका थिए। जिसीसहितको टोलीको मानसिक सन्तुलन गुमाएका भनिएका ४१ वर्षीय दिलिप बिष्टलाई दोषी घोषणा गर्दै भदौ ४ गते सार्वजनिक गरेको थियो। निर्दोषलाई दोषी करार गरेको भन्दै स्थानीयले आन्दोलन चर्काउँदा भदौ ७ र ८ गते महेन्द्रनगरमा गोली चलेको थियो। प्रहरीको गोलीले शनि खुनाएको ज्यान गयो भने कयौं घाइते भएका थिए। निर्मलाको भेजाइनल स्वाबमा फेला परेको शुक्रकीटको अवशेषको प्रोफाइलसँग डिएनए रिर्पोट मेल नखाएपछि दिलिप रिहा भएका थिए। दोष सकार्न लगाउन यातना दिएको भन्दै दिलिपका दाजुले मुद्दा दर्ता गराएका हुन्।

सरकारी वकिल कार्यालयले अदालतमा आठ प्रहरीविरुद्ध मुद्दा दर्ता गरेपछि त्यतिबेला प्रहरी हिरासतमा दिलिपले घटनाको कथा मिल्दो गरी दोष स्वीकारेको अडियो र भिडियो सार्वजनिक गरिएको थियो। प्रहरीका केही अधिकारीले दिलिपको प्रमाण नमिले पनि उनले सुरुमा दिएको बयान हेर्दा दोषी हुन सक्ने बताउँदै आएका छन्। यातना दिएर दोष स्वीकारेको त्यही बयान दिन लगाएको भन्दै प्रहरीविरुद्ध मुद्दा परेको हो। काठमाडौंमा आइजिपी सवेन्द्र खनालकै उपस्थितिमा प्रदीप रावलले पनि घटना गरेको पत्याउन मिल्दो गरी निर्मलाको बलात्कार र हत्या आफूले गरेको बयान प्रहरीलाई दिएका थिए। पछि उनले प्रहरीको दबाबमा झुठो बयान दिएको भन्दै बयान बदलेका थिए।

बहुचर्चित र सरकारको धेरै आलोचना खेप्नुपरेको निर्मला बलात्कार तथा हत्या प्रकरण आठ महिना भइसक्दा पनि रहस्यको गर्भमै रहेको छ। निर्मलाको हत्या पत्ता लगाउनुपर्ने माग राख्दै अनिश्चितकालीन धर्नामा बसेका निर्मलाकी आमा दुर्गादेवी र बुबा यज्ञराज पनि घटनाको रहस्य नखुलेपछि धर्ना छोडेर घर बसेका छन्। मुद्दा दर्ता भएकै दिन अदालतमा उपस्थित भएका ६ जना प्रहरी फागुन ३० गते धरौटी बुझाएर रिहा भएका थिए।

अदालतको आदेशअनुसार डिएसपी ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक ऐकेन्द्रबहादुर खड्का यातना दिएकोमा पाँच लाख र प्रमाण नष्ट गरेकोमा चार लाख गरेर नौ–नौ लाख धरौटी बुझाएर रिहा भएका थिए भने प्रमाण नष्ट गरेकोमा प्रहरी निरीक्षक जगदीश भट्ट चार लाख, प्रहरी नायव निरीक्षक हरिसिह धामी तीन लाख ५० हजार, प्रहरी नायव निरीक्षक रामबहादुर धामी तीन लाख र प्रहरी जवान चादनी साउद दुई लाख ५० हजार धरौटीमा छुटेका थिए। यो मुद्दामा दोषीलाई वर्षसम्म जेल सजाय हुने कानुनी प्रावधान छ। निर्मला हत्या प्रकरणमा सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समिति र एआइजी धीरु बस्नेतको संयोजकत्वको छानबिन समितिको सिफारिसमा यसअघि प्रमाण नष्ट गरेको भन्दै एसपी बिष्ट र निरीक्षक खड्कालाई भविष्यमा अयोग्य नहुने गरी जागिरबाट बर्खास्त गरिएको छ भने जिसीसहित ६ जना प्रहरी निलम्बनमा परेका छन्।

साथी रोशनी बमको घरमा पढ्न गएका बेला साउन १० गते हराएकी निर्मलाको साउन ११ गते नग्न अवस्थामा शव फेला परेको थियो। कञ्चनपुरका एसपी दिनेश आचार्यले निर्मला हत्यामा अहिलेसम्म कुनै तथ्य फेला नपरेको र सबै कोणबाट अनुसन्धान भइरहेको बताएका छन्।

प्रकाशित: १४ चैत्र २०७५ ०२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App