१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एसइई परीक्षा: भाइवर, म्यासेन्जर र शौचालयबाट चिट

सिन्धुली- माध्यमिक शिक्षा परीक्षा(एसइई) मोवाइलको प्रयोग मार्फत चिट चोराउने गरेको खुलेको छ। यहि चैत १० गतेदेखि सुरु भएको परीक्षामा परीक्षार्थीलाई म्यासेन्जर भाइबरबाट चिट चोराउने गरेको गुनासो आएपछि यस्तो खुल्न आएको हो। 

बुधबार भएको अनिवार्य गणित विषयको परीक्षामा नीजि विद्यालयहरुको केन्द्र रहेको फोस्रेटार परीक्षा केन्द्रमा चिट चोरी व्यापक भएको प्रत्यक्षदर्शीले जनाए। सिन्धुली सदरमुकामका नीजि विद्यालयहरुको परीक्षा केन्द्र रहेको फोस्रटारमा गणित विषयको दिन परीक्षार्थीलाई मोवाइल, भाइवर, म्यासेन्जर र शौचालयको प्रयोग गरी चिट चोराउने काम भएको थियो। मोवाइलमार्फत प्रश्नपत्र बाहिर निकाल्ने र विषयगत शिक्षकले प्रश्नपत्रको हल गरेको पेपर सहित परीक्षामा गार्ड बस्नेलाई उपलब्ध गराएपछि शौचालयमा परीक्षार्थी बोलाई चिट दिने गरेको खुलेको हो। परीक्षा सुरु भएको केहि समय मर्यादित बनाइएपनि अन्तिमतिर परीक्षा अमर्यादित भई चिट चोराउने गरेको परीक्षालाई नियालिरहेका एक प्रत्यक्षदर्शीले बताए।

शिक्षाको क्षेत्रमा अब्बल मानिने जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा रहेका १२ ओटा नीजि विद्यालयका परीक्षार्थी रहेकै परीक्षा केन्द्रमा यसरी खुलेआम चिट चोरेर विद्यार्थीको ग्रेड बढाउने गरेको पाइएको हो। फोस्रेटार परीक्षा केन्द्रका केन्द्राक्ष भिमविक्रम थापाले चिट चोरी नभएको दावी गरे। ‘हल्ला जे पनि हुनसक्छ तर बाहिर हल्ला भएजस्तो अमर्यादित छैन’ परीक्षा केन्द्र उनले भने, ‘परीक्षामा गार्ड बस्ने बाहिरका कोहि छैनन्, मोवाइल पहिल्यै अफिसमा राख्न लगाएको छाैं। उनले परीक्षालाई मर्यादित बनाइएको बताए। विद्यार्थीले गार्डको आखा छलेर दायाँबायाँ कहिलेकाहि हेरे होलान्, तर खुलेआम चिट चोरी भएको छैन’, उनले थपे। मोटो रकम लिएर नीजि विद्यालयले दिएको शिक्षामा नै नीजि विद्यालयका शिक्षकहरु विश्वस्त नभई चिट चोराउनु राम्रो नभएको अभिभावक बताउछन्। नीजि विद्यालयकै विद्यार्थीले चोरेर पास गर्नुपर्ने अवस्था आउनु राम्रो होइन, अभिभावक भन्छन्, शिक्षा गुणस्तरिय बनाउनुपर्छ, चोराउनु हुदैन।

१२ नीजि विद्यालयका ३ सय ८३ जना विद्यार्थी फोस्रेटार परिक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन्। हाम्रोमा भ्यालीका नीजि विद्यालय सबै छन्, केन्द्राक्ष थापाले नागरिकसँग भने। शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका शाखा अधिकृत नेत्र गजुरेलले परीक्षा केन्द्रमा परीक्षालाई मर्यादित बनाउन चेकजाँच निरन्तर भइरहेको जनाए। चिटको आदानप्रदान भएको जानकारी हामीलाई आएको छैन, त्यस्तो थाहा पाएमा हामी कारवाही गर्छौ, उनले भने।

यस वर्षको एसइईमा  सिन्धुलीबाट ५ हजार ६ सय २० जना परीक्षार्थी सहभागी भएका छन्।  नियमित तर्फ ५ हजार ४ सय ८४ जना, २०७४ सालको ग्रेड बृद्धि तर्फ ८६ जना, २०७३ साल भन्दा अघिका ५० जनाले ग्रेढबृद्धिका लागि परीक्षा दिइरहेका छन्।  प्राविधिक तर्फ इन्जिनियरिङमा ६८ जना, कृषि तर्फ १ सय १३ जना गरी १ सय ८१ जनाले परीक्षा दिइरहेका शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका शाखा अधिकृत गजुरेलले बताए। यद्यपी  ७५ प्रतिशत हाजिरी नपुगेका, राजस्व नबुझाएका ४८ जना विद्यार्थीलाई भने परीक्षामा सहभागी हुन दिइएको छैन। शाखा अधिकृत गजुरेलका अनुसार जिल्लाभर २६ वटा परीक्षा केन्द्र तोकिएको छ।  एसइई परीक्षालाई ब्यवस्थित र मर्यादित तवरले सञ्चालन तथा सम्पन्न गर्न गत चैत ८ गते सवै केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण समेत दिइएको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीले जनाएको छ।

 

प्रकाशित: १३ चैत्र २०७५ ०७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App