१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बढी भाडा असुल्ने १८४ सवारी कारबाहीमा

चितवन- चाडपर्वको समयमा यात्रुलाई अप्ठेरोमा पारेर बढी भाडा असुल गर्ने १८४ गाडी चालकलाई यहाँ कारबाही गरिएको छ।

तिनीहरुमध्ये १२२ जनाबाट असुल गरेको बढी भाडा प्रहरीले फिर्ता गराएको छ भने ६२ जनालाई भाडा फिर्ता गराई एक हजार पाँच सय रुपैयाँका दरले जरीवाना तिराएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घटस्थापनायता शनिबारसम्म उनीहरुलाई कारबाही गरिएको हो । यो समयमा स्थानीय रुटमा चल्ने, चितवनबाट टिकट काटेर अन्य जिल्ला जाने र चितवन हुँदै अन्य जिल्लातर्फ जाने सवारीसाधनको जाँच गरी बढी भाडा फिर्ता र कारबाही गरिएको कार्यालयका प्रमुख राजन भेटुवालले बताए।

सवारी चालकले दोब्बरसम्म भाडा असुल गरेको उनले बताए। गोर्खाको भच्चेकबाट काठमाडौँका लागि भाडा ५६० रुपैयाँ तोकिएकामा एक हजार रुपैयाँसम्म लिइएको पाइएपछि प्रतिव्यक्ति ४४० रुपैयाँ फिर्ता गराइएको भेटुवालले बताए।

दसैँको समयमा जाँचलाई निकै कडा गरिएको थियो । यो समयमा नियम उल्लङ्घन गर्ने ५१८ सवारीसाधनलाई कारबाही गरिएको छ । सो क्रममा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने २८०, रुट परमिट नभएका ३० र मादकपदार्थ सेवन गरेर सवारी चलाउने २४ जनालाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। उनीहरुबाट पाँच लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ।

कार्यालयका अनुसार यस वर्ष दसैँका समयमा चितवनमा सामान्य दुर्घटनाबाहेक ठूला दुर्घटना भएनन् । ट्राफिक सचेतनाका कारण ठूला दुर्घटना नभएको कार्यालयका प्रमुख भेटुवालले जानकारी दिए। अघिल्लो वर्षको दसैँमा नौवटा दुर्घटना भएकामा यस वर्ष ६ वटा सामान्य दुर्घटना मात्रै भए।

ई–रिक्सा भाडादरको बोर्ड

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आज भरतपुर उपमहानगरपालिकाका विभिन्न १२ स्थानमा ई–रिक्साको भाडादर उल्लिखित बोर्ड झुन्ड्याएको छ। कार्यालयका प्रमुख भेटुवालका अनुसार नारायणगढको पोखरा बसपार्क, पुल्चोक, सहिदचोक, लायन्सचोक, चौबिसकोठी, हाकिमचोक, केन्द्रीय बस ट्रमिनल, मालपोत चोक, विशालचोक, आँपटारी र अस्पतालमा बोर्ड राखिएको हो । बढी भाडा असुल गर्ने समस्या आएपछि भाडादर सार्वजनिक स्थानमा राखिएको हो।

नगर क्षेत्रमा आठ सय हाराहारी ई–रिक्सा सञ्चालनमा छन् । ई–रिक्साको भाडादर न्यूनतम १० देखि बढीमा ३० रुपैयाँसम्म कायम गरिएको छ। रासस

 

प्रकाशित: ३० आश्विन २०७३ १०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App