१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

रमणको ‘आँखीझ्याल’माथि अन्तरक्रिया

काठमाडौं – निबन्धकार रमण घिमिरेको हालै प्रकाशित विभिन्न व्यक्तिहरूमाथि लेखिएका निबन्धहरूको कृति ‘आँखीझ्याल’ माथि राजधानीमा अन्तरक्रिया गरिएको छ। राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भइरहेको ‘पहिलो काठमाडौं पुस्तक मेला’मा कृतिमाथि टिप्पणी गर्दै कवि तथा रंगकर्मी अशेष मल्लले कृतिभित्रका कतिपय व्यक्तिहरूबारे पढ्दा आफ्ना आँखा रसाएको चर्चा गरे।

‘आज विश्वविद्यालयका विद्यार्थीहरू भूपि शेरचन को भनेर शिक्षकलाई प्रश्न सोधिरहँदा रमण घिमिरेको यस कृतिले यस्ता प्रश्नको राम्रो उत्तर दिएको छ,’ उनले भने, ‘पुराना पुस्ताका तर विभिन्न विधाका १३ जना व्यक्तित्वहरूलाई घिमिरेले जुन शैली र प्रस्तुतिमा वर्णन गरेका छन्। तिनीहरू एकएकका बारे भिन्नाभिन्नै फिल्म या नाटक बनाउँदा हुन्छ। त्यसैले यो पुस्तक आफैंमा एउटा अर्काइभ हो।’

पत्रकार तथा निबन्धकार शेखर खरेलले रमण घिमिरेको स्रष्टाहरूसँगको लामो संगतको परिणामस्वरूप किताब आएको बताए। ‘हरेक पात्रबारे पढ्दा यस पुस्तकले आफूले नसोचेको घटना र मोडमा पुर्याउँछ’, खरेलले भने, ‘ती १३ जना व्यक्तिहरूका बारे जुन रोचक प्रसंग वर्णन हुन्छ। त्यो हामीले कल्पनै गरेका हुँदैनौं।’

अर्का वक्ता पत्रकार यशोदा तिम्सिनाले पुस्तकमा केही मुद्रा राक्षस रहेको कुरा बताउँदै पुस्तक समावेशी नभएको तर्क राखिन। ‘पुस्तकमा व्यक्तिका सकारात्मक पक्ष मात्र आएका छन्। यिनका कमी–कमजोरीहरू पनि आएका भए अझ राम्रो हुन्थ्यो’, तिम्सिनाले भनिन्।

निबन्धकार घिमिरेले सिर्जनामा समावेशिताको ढिपी गर्नु आफैंमा उपयुक्त नहुने बताए। ‘मैले जीवनमा जोजो मानिसहरूसँग गहिरो संगत गरें। तिनका बारेमा मात्र लेखेको हुँ। मैले यो पुस्तक कसैको व्यक्तित्वलाई धमिल्याउन नभई उनीहरूको जीवन भोगाइ र उतारचढावको प्रसंगहरूलाई सम्मानका साथ अभिव्यक्त गर्ने अभिप्रायले लेखेको हुँदा दिवङ्गत भइसकेको यति आदरणीय व्यक्तित्वहरूको आलोचना गर्नु मलाई शोभा दिँदैन जस्तो लाग्यो। मैले तिनीहरूका भोगाइ र जीवनका केही पाटाहरूलाई खोतल्न यो पुस्तक लेखेको हुँ।’ लेखक घिमिरेले भने।

रमणको ‘आँखीझ्याल’ मा अम्बर गुरुङ, ईश्वरवल्लभ, कमल दीक्षित, क्षेत्रप्रताप अधिकारी, पेमाला गुरुवाचार्य, राममान तृषित, डाइमन्डशमशेर राणा, रामशरण दर्नाल, भीमबहादुर थापा, फत्तेमान, भीम विराग, जगदीश घिमिरे, माणिकरत्नका विचार र जीवन–दर्शनबारे चर्चा गरिएको छ। 

 

प्रकाशित: १३ चैत्र २०७५ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App