१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

११ योजनाको एउटै उपभोक्ता समितिमा अख्तियारको आँखा

खोटाङ – जन्तेढुंगा गाउँपालिकामा ११ अलग–अलग योजनाका लागि एउटै उपभोक्ता समिति गठन गरिएको विषयमा अख्तियारले जवाफ मागेको छ। अलग–अलग उपभोक्ता समितिमार्फत काम गर्नु–गराउनुपर्नेमा जन्तेढुंगा–५ चिसापानीमा ११ सडक योजनाका लागि एउटा मूल उपभोक्ता समिति गठन गरी काम अघि बढाइएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जन्तेढुंगा गाउँपालिकालाई आवश्यक विवरणसहित राय माग गरेको हो।

एउटा मूल उपभोक्ता समितिमार्फत ११ योजनाको काम तथा आर्थिक कारोबार गर्न लागिएको विषयमा अख्तियारले ‘पत्र प्राप्त भएको मितिबाट सात दिनभित्र सत्यतथ्य विवरण तथा आवश्यक कागजातसाथ राय–प्रतिक्रिया पठाउन’ गाउँपालिकालाई भनेको छ।

गत चैत ३ गते नागरिक दैनिकमा प्रकाशित ‘११ योजनाको उपभोक्ता समिति एउटै’ शीर्षकको समाचारका आधारमा उजुरी परेपछि गाउँपालिका र वडा कार्यालयलाई छानबिनका लागि पत्राचार गरिएको अख्तियारले जनाएको छ। नियमविपरित एउटा उपभोक्ता समितिमार्फत २८ लाख ५० हजारका ११ योजना अघि बढाइएपछि घटना अख्तियारको आँखामा परेको हो।

चिसापारुङखेल–हुम्मापोखरी सडक (एक लाख ४० हजार), खर्क–पाथीभरा सडक मर्मत (तीन लाख ५० हजार), डाँडाखर्क–मार्से कृषि सडक निर्माण (एक लाख), मालबासे–काजीधारादेखि बस्नेत बीचटोल कृषि सडक (एक लाख ३० हजार) पार्टीगैरादेखि काभ्रेखोला सडक स्तरोन्नति (चार लाख)को काम जीवन तामाङको अध्यक्षतामा बनेको मूल उपभोक्ता समितिलाई जिम्मा दिइएको छ। यस्तै, बाजगरादेखि काभ्रे कृषि सडक (तीन लाख), जुम्ल्याहा डाँडादेखि कार्की–भञ्ज्याङ कृषि सडक (एक लाख ३ हजार), घोडेडाँडा फोक्तुङ सडक ट्र्याक (दुई लाख), भीरगाउँ–कार्कीगाउँ (एक लाख ५० हजार), डिहीडाँडादेखि भानुमती दोभान सडक विस्तार (एक लाख ५० हजार)को काम पनि सोही समितिमार्फत अघि बढाइएको छ।

नाकेपानी–सुरुंखेल सडक स्तरोन्नतिका लागि सडक विभागमार्फत प्राप्त आठ लाख बजेटसमेत सोही उपभोक्ता समितिमार्फत सञ्चालन प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ। स्रोतका अनुसार हरेक योजनाको उप–समिति गठन गरिएको बताइए पनि काम गराउने, सम्झौता गर्ने, खाता खोल्ने, निकासा गर्नेदेखि फछ्र्योट गर्ने काम मूल समितिलाई दिइएको छ। ‘सत्य–तथ्य के हो ? के–कस्ता योजनाका लागि एउटै उपभोक्ता समिति गठन भएको ?,’ अख्तियारका शाखा अधिकृत विष्णुकुमार थेगवाले पठाएको पत्रमा भनिएको छ, ‘११ योजनाको काम एउटै उपभोक्ता समितिलाई दिन मिल्छ–मिल्दैन ? छानबिन गरी कार्यालयको रायसहितको प्रतिवेदन र सो कार्यको लगत स्टिमेट, सम्झौता, उपभोक्ता समिति गठनको निर्णयलगायत कागजात उपलब्ध गराउन होला।’

गाउँपालिका प्रमुख शंकर राईले हरेक उपभोक्ता समितिको खाता खोल्दा तीन हजारका दरले लाग्ने शुल्क बचाउनका लागि एउटा मूल उपभोक्ता समितिमार्फत काम अघि बढाउने निर्णय गरिएको बताए। ‘उपभोक्ता समितिको खाता खोल्न खोटेहाङ गाउँपालिका पुग्नुपर्छ। हरेक उपभोक्ता समितिको खाता खोल्दा तीन–तीन हजार लाग्छ, खाता खोल्न जाँदा–आउँदा कम्तीमा ३० जनाले दुःख पाउनुपर्ने हुन्छ,’ गाउँपालिका प्रमुख राईले भने, ‘एउटा उपभोक्ता समितिमार्फत बजेट निकासा गर्ने व्यवस्था भए एउटै खाताबाट सबैको काम हुन्छ। घेरै जनाले झन्झट बेहोर्नु पर्दैन भन्ने हेतुले मूल उपभोक्ता समितिलाई सबै कामको जिम्मा दिइएको हो।’

हरेक योजनाको छुट्टा–छुट्टै उपभोक्ता समिति गठन गरेर काम गर्नका लागि गाउँपालिकासमक्ष माग राख्दा सुनुवाई नभएको नेकपाका जन्तेढुंगा गाउँपालिका अध्यक्ष याम राईले बताए। ‘गाउँपालिका प्रमुख र वडाध्यक्षको बैठकमा मैले एउटा उपभोक्ता समितिलाई सबै योजना जिम्मा लगाउनु हुँदैन, नियमविपरीत हुन्छ भनेर कुरा राखेको थिएँ,’ राईले भने, ‘तर, हाम्रो कुरा सुनिएन। आफूखुसी काम गरियो।’ हरेक योजनाका लागि छुट्टा–छुट्टै उपभोक्ता समिति गठनको माग गर्दै नेकपाकै नेता तिलक बस्नेतले गाउँपालिकामा निवेदनसमेत दिएका थिए।

प्रकाशित: १३ चैत्र २०७५ ०१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App