१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

महिलालमा किन बढ्यो इण्डोमेट्रियोसिस

महिलाको पाठघेरभित्र रहेको अण्डाशयमा कस्ता रोग लाग्छन्?,किन लाग्छन्? ती रोगहरुबाट कसरी बच्ने? प्रस्तुत् छ नागरिक दैनिककी पवित्रा सुनारले त्रिविवि शिक्षण अस्पतालका स्त्रीरोग विशेषज्ञ तथा सर्जन प्राध्यपक डा. पदमराज पन्तसँग गरेको कुराकानी :

चिकित्सा सेवामा लागेको कति वर्ष भयो ?

– २५ वर्ष भयो। सुरुदेखिनै त्रिविवि शिक्षण अस्ताल महाराजगंजमा सेवा गरिरहेको छु। रुसबाट एमविविएस,एमडी पाकिस्तानबाट र पिएचडी किर्गिस्तानबाट गरेको हुँ।

अण्डाशयको काम के हो ?

– डिम्बासयको दुई  काम हुन्छ। एउटा महिलालाई महिला बनाउने हर्मोन उत्पादन गर्ने काम। महिलालाई अनिवार्य रुपमा चाहिने  स्ट्रोजन र प्रोजिष्ट्रेन नामक हर्मोन उत्पादन गर्छ। अर्को काम प्रजननका लागि अण्डा निकाल्ने काम गर्छ।

अण्डाशयमा कस्ता रोगहरु लाग्छन् ?

– अण्डाशयमा थुपै किसिमका रोगहरु लाग्छन्। मुख्य दुई किसिमका बेलाइन टियुमर (क्यान्सर नहुने खालको टियुमर ) अर्को मेलिनेन्सी टियुमर(क्यान्सर हुने खालको टियुमर) रोग लाग्छ।

अण्डाशयमा  लाग्ने अन्य रोगहरु पनि छन् कि ?

– आजभोली नेपाली महिलामा अण्डाशयमा हुने इण्डोमेट्रोसिस रोग(रगतको फोका) बन्ने रोग बढिरहेको छ। यो अविवाहित महिलालाई हुने रोग हो। तर अहिले विवाहितमा पनि बढी देखिएको छ। कारण  पहिला सानै उमेरमा नियमित बच्चा जन्माउँथे। पहिलेका  महिलाहरु आफ्नो जीवनभरमा १२/१३ वटा बच्चा जन्माउँथे। धेरै बच्चा जन्माउँदा महिनावारी कम हुन्थ्यो। अहिले विवाह र बच्चा जन्माउने चलन ढिला भइरहेको छ।

विवाह गरेपनि एक/दुई वटा मात्र बच्चा  बच्चा जन्माउने गर्छन। यो कारणले महिलाहरुमा महिनावारी हुने अवधि धेरै हुन्छ। जति धेरै महिनावारी भयो,त्यतिनै इण्डोमेट्रियो सिस्ट  (रगतको फोका) बन्छ। अण्डाशयमा अर्को हुने भनेको फिजियोलोजिकल सिस्ट( अण्डाबाट बन्ने डल्लो)हुन्छ। महिलाहरुमा प्रत्येक महिनावारीपछि अण्डाशयबाट  अण्डा उत्पादन हुन्छ र बाहिर निस्कन्छ। त्यो अण्डा बच्चा बन्न गयो भने बच्चा बन्छ। यो अण्डा फुटेन भने त्यसमा पानी जम्मा हुँदै गएर सिस्ट बन्छ। यसैलाई फिजियोलोजिकल सिस्ट भनिन्छ। यसले क्यान्सर गराउँदैन।

 कसै–कसैको अण्डा फुटेन भने त्यसमा पानी जम्मा हुँदै– हुँदै गएर सिस्ट बन्छ। त्यसबाट हुन सक्ने भनेको संक्रमण भयो भने अण्डाशय र अण्डाबाहिनी नली जकडिएर पिपै जम्मा हुने र एकै ठाउँमा डल्लो पर्दै जान्छ। यसलाई ट्युवोओभरियन मास (अण्डाशय र अण्डाबाहिनी नलीको टियुमर) भनिन्छ।

त्यसो भए अहिले अण्डाशयमा इण्डोमेट्रोसिसको समस्या नै बढी छ ?

– सवै भन्दा हुनु पर्ने फिजियोलोजिकल सिस्ट हो। तर महिलाहरुको प्रजनन जीवनशैलीमा आएको परिवर्तनको कारण इण्डोमेट्रोसिस रोगको समस्या बढिरहेको देखिन्छ।

इण्डोमेट्रोसिस लामो समय रहिरहयो भने महिलाको स्वास्थ्यमा के समस्या हुन्छ ?

– सवै भन्दा बढी महिलालाई महिनावारीको बेला धेरै दुख्छ। त्यसै गरी यौन सम्पर्कका समयमा दुख्छ। त्यो यदि बढी नै ठूलो भएको अवस्था छ भने दिसा–पिसाव गर्दा समेत दुख्छ। भित्रपट्टि किन दुखाइ हुन्छ भने त्यही डल्लोमा आएर आन्द्रा,पिसावको थैली जकडिन्छ। मिर्गौलाबाट पिसाव आउने नलीको माथि अण्डाशय हुने भएकोले पाइप समेत बन्द भई मिर्गौलालाई समेत असर गर्छ। यसले महिलाहरुलाई एकदम धेरै दुखाइ हुन्छ। यसको नराम्रो पक्ष भनेको उपचार गरेपनि फेरी पलाएर आउँछ। तसर्थ यसको उचित उपचार भनेको नियमित पाठेघरको जाँच हो।

अण्डाशयमा हुने क्यान्सर कुन कुन हुन्् ?

– यसलाई क्यान्सर नहुने टियुमरको रुपमा बुझिन्छ। तर क्यान्सर हुने सम्भावना पनि रहन्छ। मुख्यतया अण्डासयको क्यान्सरलाई तीन भागमा बाँडिएको छ।  एउटा महिनावारी सुकेका महिलालाई हुने क्यान्सर इपिथेलल  ट्युमर भनिन्छ। अर्को युवा महिलाहरुलाई हुने टियुमर हुन्छ जसलाई जमसेल भन्छौं। एपिथेलल टियुमर (अण्डाशयको बाहिरी भागमा हुने क्यान्सर) खतरनाक हुन्छ। जमसेल टियुमर अण्डाशयको भित्रको तन्तुबाट आउने। सेक्सकर्ड टियुमर अण्डाशयको बिशेष तन्तुबाट  आउने टियुमर हो। जमसेल क्यान्सर तीस वर्षभित्रका युवतीमा  धेरै हुन्छ। सेक्सकर्ड र इपिथेलल दुवै क्यान्सर उमेर पुगेका महिलाहरुमा हुन्छ। युवा उमेरका महिालाकोअण्डाशयमा सिस्ट छ भने हामी आत्तिहाल्देनौं। तर उमेर पुगेका महिलाहरुमा सिस्ट देखियो भने खतरा हुन्छ।

अण्डाशय क्यान्सरको मुख्य लक्षणहरु के के हुन् ?

– सुरुमा ग्याष्ट्रिक,अमलपित्तको जस्तो लक्षण देखिन्छ। विस्तारै टियुमर बढ्दै गएमा पेट सुन्निएर जाने,खाना रुचि कम हुने,तौल बढ्दै जाने हुन्छ। अझ बढी फैलिएमा श्वास फेर्न अप्ठेरो हुने जस्ता समस्या बढ्दै जान्छन्।

अण्डाशय क्यान्सरको जोखिममा कुन उमेरका महिला बढी छन् ? 

– यो बढी मात्रामा ५० वर्ष नाघिसकेका महिलाहरुमा यो देखियो भने हामीले गम्भिर समस्याका रुपमा लिन्छौं।

त्यसो भए पचास वर्ष पुगेका महिलाहरुको सिधै पाठेघर निकालेमा समाधान हुन्छ त ?

– यो नै उचित समाधान होइन। अण्डाशयको क्यान्सरको नराम्रो पक्ष भनेको क्यान्सर हुनु भन्दा पहिल्यै नै थाहा पाउने तरिका छैन। जस्तो कि पाठेघरको मुखको क्यान्सरको सुरुमै पहिचान गर्न प्यापस्मेयर जाँच,हयुमन पेपिलोमा भाइरसको परिक्षण गरिन्छ। तर अण्डाशय क्यान्सरको लागि पहिचान गर्नेै उपाय छैन। तसर्थ अण्डाशयको क्यान्सर ढिला गरी मात्र पहिचान हुन्छ। धेरै जसो महिलाको अण्डाशयको क्यान्सर तेस्रो र चौथो अवस्थामा मात्र थाहा पाउँछौं। यो क्यान्सर लागेपछि ग्यास्टिकको लक्षण देखाउँछ।

त्यसो भए अण्डाशयको क्यान्सर समयमै कसरी पत्ता लगाउने त ?

– परिवारमा दिदी बहिनी या आमा यो अण्डाशयको क्यान्सर छ भने सर्तक हुनु प¥यो। नजिकको नातेदारमा यस्तो क्यान्सर धेरैमा छ भने अण्डाशयनै निकालेर फाल्ने उपाय पनि खोजिन्छ। तर अण्डाशय निकालेपछि महिलाहरुमा बिभिन्न नयाँ समस्या उत्पन्न हुनछ। हर्मोनको कमी हुने बित्तिकै शरिर तात्तिने,यौनी सुख्खा हुने,यौन सम्पर्कमा रुचि नहुने,डिपे्रशनमा जाने,हड्डी खिइने जस्ता अनेक समस्या आउँछन्। तर पाठेघरको अण्डाशय निकालेर फाल्नु पनि सजिलो कुरा छैन। उच्च जोखिममा रहेका र पचास वर्ष नाघिसकेका महिलाहरुले नियमित पाठेघरको भिडियो एक्सरे गरेमा सुरुकै अवस्थामा पत्ता लगाउन सकिने सम्भावना रहन्छ।

कतिपय नियमित परीक्षण गर्नेहरुमा पनि क्यान्सर हुने देखिन्छ नि ?

– यस्तो पनि भेटिन्छ। नियमति परिक्षणमै आएकी एक महिलामा केही दिन अघि यस्तै घटना भेटियो। अण्डाशयको टियुमरमा क्यान्सर भेटियो। तर ती बिरामी नियमित परिक्षणमा आएको कारण सुरुकै अवस्थामा क्यान्सर पहिचान भयो। अन्यत्र फैलिएको अवस्था भएन र उनलाई बचाउन सक्यौं।

नेपालमा अण्डाशय क्यान्सरको संख्या कति छ ?

– पाठेघरको मुखको क्यान्सर धेरै छ। अण्डाशयको मुखको क्यान्सर र पाठघेको मुखको क्यान्सर फरक हुन्।  जसको बच्चा थोरै हुन्छन्,ढिला विवाह गर्छन् या बच्चा बनाउनको लागि औषधी धेरै प्रयोग गरेका हुन्छन्,धेरै पटक महिनावारी भएको हुन्छ , यस्ता महिलाहरुलाई अण्डाशयको क्यान्सर हुन्छ भने जो महिलाहरु छिटो विवाह गर्छन्,धेरैजना यौन सम्वन्ध भएमा,पतिको पनि धेरै जनासित यौन सम्पर्क भएका महिलाहरुमा पाठेघरको मुखको क्यान्सर हुन्छ।

अहिले थोरै बच्चा जन्माउने चलन छ र ढिला विवाह गर्ने पनि यस्तो अवस्थाका महिलाहरु अण्डाशयको क्यान्सरबाट कसरी बच्ने त ?

– यस्तो अवस्थामा अर्को उपाय छैन। मुख्य कुरा भनेको आफ्नो पाठेघर तथा अण्डाशयको नियमित जाँच  गर्नेै। गाउँघरतिर पाठेघरको मुखको क्यान्सर धेरै हुन्छ भने सहरमा अण्डाशय र पाठेघरको भित्री भागको क्यान्सर हुने सम्भावना बढी हुन्छ।

 

 

 

प्रकाशित: १२ चैत्र २०७५ ११:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App