१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हिमाल आरोहण खुला गरेको चार दिनमै चार करोड राजश्व

काठमाडौँ- पर्यटन विभागले हिमाल आरोहण अनुमति ‘पर्मिट’ जारी गर्न शुरु गरेको चार दिनमै करीब रु चार करोड राजश्व सङ्कलन भएको छ। 

सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमालबाट रु तीन करोड ९० लाख नौ हजार २९७ राजश्व उठेको विभागको पर्वतरोहण शाखाका रामेश्वर निरौलाले जानकारी दिए। यीमध्ये सबैभन्दा बढी सगरमाथाबाट रु तीन करोड ५३ लाख राजश्व उठेको छ। विभागले यो सिजनको गत फेब्रुअरी २७ मा पहिलो आरोहण पर्मिट जारी गरेको थियो। पछिल्लो मार्च २३ देखि २५ सम्म तीन दिनमै रु तीन करोड ८७ लाख राजश्व उठेको छ। 

वसन्त ऋतुको यो याममा हिमाल आरोहणका लागि १५ भन्दा बढी आरोही दलले पर्मिटका लागि निवेदन दिएकामा विभागले सोमबारसम्म नौ समूहलाई आरोहण अनुमति दिएको छ। यीमध्ये तीन सगरमासहित ल्होत्से, अन्नपूर्ण, कुम्बकर्ण, पुमरी, थापा पिक र छोपबमरी रहेका छन्। वैशाख महीनासम्म आरोहण अनुमति लिने भएकाले आरोहीको सङ्ख्या बढ्ने विभागको अनुमान छ। 

सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए। तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए। सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए। 

सगरमाथा आरोहणको रोयल्टी ऋतुअनुसार फरक–फरक हुन्छ। विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ। विभागका अनुसार सन् २०१८ को वसन्त ऋतुमा रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको छ। योमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै रु ३५ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी उठेको छ। सरकारले आरोहणका लागि ४१४ हिमाल खुला गरेको छ, अझै आरोहणयोग्य १३ सयभन्दा बढी हिमाल रहेका छन्। रासस 
 

 

प्रकाशित: १२ चैत्र २०७५ ०८:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App