१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सामुदायिकमा विद्यार्थी आकर्षण गर्न इ–लर्निङ

शारदा मावि पनौतीमा रोटरीको सहयोगमा स्थापना भएको इ–लर्निङ सेन्टर। तस्बिर : नागरिक

बनेपा - नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान सुरु हुनलागेको पृष्ठभूमिमा पनौती–९, सुन्थानस्थित शारदा माध्यमिक विद्यालयले अपनाएको तरिका अनुकरणीय हुने देखिएको छ।

विगतमा विद्यार्थी टिकाउन र नयाँलाई निम्त्याउनमा समस्या भोग्दै आएका शिक्षक तथा अभिभावकहरूले यस पटक ‘इ–लर्निङ’लाई मुख्य आकर्षण बनाएर विद्यार्थी लोभ्याउने योजना बनाएका छन्। ‘सरकारी स्कुल भएकाले पठनपाठन राम्रो हुँदैन, कम्प्युटरसमेत नभएको स्कुल भन्ने गर्थे। अभिभावकहरूकागुनासो पनि कम्प्युटर शिक्षाकै हुने गथ्र्यो। निजी स्कुलमा सहजै पाइने यस्ता सुविधाले उनीहरूलाई आकर्षित गर्नु स्वाभाविकै थियो,’ विद्यालयका शिक्षक रघुनाथ हुमागाईले भने।

यो विद्यालयमा २०६८ सालसम्म कक्षाकोठामा विद्यार्थीको चाप थियो। चाप थेग्न नसकेर विद्यार्थी र अभिभावकसँग माफी माग्दै फिर्ता पठाउनुपरेको थियो। त्यसपछि भने विद्यार्थी सङ्ख्या क्रमशः ओरालो लाग्दै जान थालेको हुमागाई बताउँछन्। ‘यतिखेर स्कुलको प्रांगण हुँदै निजी स्कुलका दर्जनभन्दा बढी बस दैनिक ओहोरदोहोर गर्छन्। भर्नाका बेलामा निजी स्कुलले कम्प्युटर शिक्षालगायतका मोह देखाउने गरेकाले अघिल्ला दुई वर्षअघिसम्ममा विद्यार्थी संख्या निकै घट्यो,’ उनले भने ‘अहिले भने विद्यालयलाई प्रविधिमैत्री बनाउँदै लगिएकाले विद्यार्थी संख्या क्रमशः बढ्दो अवस्थामा छ।’

नगरका सबै विद्यालयका कक्षा–क्रियाकलाप नगरपालिकाबाटै अनुगमन गर्ने योजना

अघिल्ला दुई वर्षदेखि विद्यार्थी संख्यामा वृद्धि हुनुमा विद्यालयलाई हेल्पिङ ह्यान्डस् नामक संस्थाले उपलब्ध गराएको १० थान पेन्टियम थ्री कम्प्युटरको मुख्य भूमिका रहेको उनको भनाइ छ। ‘कम्प्युटर शिक्षामा नयाँ–नयाँ कुराहरू आउन थाले। कम्प्युटरमार्फत प्रोजेक्टरबाट पढाइ हुन थाल्यो। हाम्रा विद्यार्थीहरू पनि त्यस्तै पठनपाठन होस् भन्ने थाले। तर, धेरै पुराना कम्प्युटरबाट सम्भव नहुँदो रहेछ,’ उनले भने।

विद्यार्थी र अभिभावकको मोह निजी स्कुलमै बढ्न थालेपछि सबै मिलेर उपाय सुझाए–स्कुलमा नयाँ खालको इ–लर्निङ विधिमार्फत पठनपाठन गराउने। विद्यालयले अघि सारेको इ–लर्निङ प्रस्तावमा रोटरी क्लब अफ् पनौतीले सहकार्य गरेकाले सम्भव भएको हुमागाईले बताए। ‘पूर्ण क्षमताको इ–लर्निङ केन्द्र बनाउन कम्प्युटर, फर्निचर, प्रोजेक्टर र इन्टरनेटसहितको सहयोग उहाँहरूले गर्नुभयो। हाम्रो अभियानमा यसले ठूलो सहयोग र साथ मिलेको छ,’ उनले थपे। सो विद्यालयमा इ–लर्निङ कक्षा सञ्चालनमा सहयोग गर्न रोटरी क्लब अफ् ताइपेइ तथा पनौतीले संयुक्त रूपमा ग्लोबल ग्रान्टमार्फत ३० सेट अत्याधुनिक कम्प्युटर, दुई थान सर्भर, सिसिटिभी, इ–लाइब्रेरी सफ्टवेयर र ५० सेट फर्निचर उपलब्ध गराएको ग्लोबल ग्रान्टका प्राथमिक सम्पर्कव्यक्ति अनुपकुमार श्रेष्ठले जानकारी दिए।

नेपाल सरकारका पूर्व मुख्य सचिव एवं रोटरी नेपाल साक्षरता मिसनका अध्यक्षसमेत रहेका तीर्थमान शाक्यले इ–लर्निङ केन्द्रको हालै उद्घाटन गरेका छन्। ‘प्रमाणपत्र भएकाहरू लोकसेवा रोज्ने जनशक्तिमात्रै नभई प्रमाणपत्र भएका व्यावसायिक (भोकेसनल) जनशक्ति हुनुपर्छ भनेर रोटरीको टिइएसिएच परियोजनामार्फत व्यावसायिक शिक्षामा सहयोग गर्दै आएका छौं,’ उनले भने। अब विद्यार्थी तथा शिक्षकलाई आइटी तालिम दिएर विद्यालयलाई ‘स्मार्ट स्कुल’मा परिणत गर्दा राम्रो हुने उनको सुझाव छ। पनौती नगरपालिकाका १२ वटै सामुदायिक माविमा नगरपालिकाको सहजीकरणमा इ–हाजिरी सुरु गरिएको छ। नगर प्रमुख भीम न्यौपानेका अनुसार रोटरीको सहकार्यमा नगरका सबै सामुदायिक माविमा इ–लर्निङ केन्द्रहरू बनाउन पहल भइरहेको छ।
नगरपालिकाको शिक्षा शाखाले नगरक्षेत्रको शिक्षा सुधार्नका लागि धेरै खाले कामहरू गरिरहेको न्यौपानेको भनाइ छ। ‘यस वर्ष नमुनाका रूपमा कक्षा ८ को परीक्षालाई एसइईको मोडेलमा सुरु गरेका छौं। शिक्षण क्रियाकलापहरूलाई परिमार्जन गर्दैछौं,’ उनले थपे ‘नगरक्षेत्रका सबै विद्यालय तथा कक्षाका क्रियाकलापलाई नगरपालिकाबाटै अनुगमन गर्न सकिने प्रणाली पनि विकास गर्दै छौं।’

प्रकाशित: १२ चैत्र २०७५ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App