२३ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

काँडेतार र पर्खालले छेकेन परीक्षा

हुम्लामा एसइई परीक्षा दिँदै विद्यार्थी । तस्बिर : जनक/हुम्ला

नेपालगन्ज– चारैतिर पर्खाल, पर्खालमाथि काँडेतार। त्यसैले घेरिएको खुल्ला चौरमा बसेर पाल्पा कारागारमा रहेका कैदी यम रानाले यस वर्ष एसइई परीक्षा दिए। जेल आएका उनको पढाइलाई पर्खाल र काँडेतारले छेक्न सकेन। कारागारबाटै उनले यस वर्ष एसइई परीक्षामा सहभागी भए। उनीसहित प्रदेश नं. ५ का ८ जना कैदीबन्दी तथा थुनुवाले कारागार र एक जनाले हिरासतबाटै एसइई दिए।

जिल्ला कारागार बाँकेबाट ५, दाङबाट १ र पाल्पाबाट दुई जना कैदीले एसइई दिए। त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतबाट एक जनाले एसइई परीक्षामा सहभागी भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। कारागारमै उनीहरूका लागि प्रश्नपत्र र उत्तरपुस्तिकका उपलब्ध गराइएको थियो। ‘केन्द्राध्यक्ष र परीक्षार्थीको उपयुक्त ठाउँमा परीक्षा भयो’, प्रदेश नं. ५ का प्रहरी कार्यालयका प्रवक्ता टीकाबहादुर कार्कीले भने, ‘उनीहरूलाई कुनै असहज हुने वातावरण थिएन।’

कारागारभित्र बसेका कैदीबन्दी तथा थुनुवालाई समेत पढ्ने अधिकार भएको भन्दै उनले उनीहरूको पढाइलाई प्रभावित नपार्ने बताए। कारागार आएदेखि पढाइ बिग्रिएका राना पास हुने नहुनेमा आशंका व्यक्त गरे। त्यस्तै कुटपिट मुद्दामा रुपन्देही हिरासतमा रहेका घनश्याम खवासले पनि एसइई दिए। उनलाई परीक्षा हलको जस्तै वातावरण बनाइएको प्रहरीले जनाएको छ। कारागारभित्रबाटै परीक्षा दिँदा केही असहज हुने कैदीबन्दी तथा थुनुवाहरूले बताए। कारागारबाटै एसइई दिएपछि यहाँ रहेका अन्य कैदीबन्दी तथा थुनुवाहरू खुसी भएका छन्। कारागारबाट पनि परीक्षा दिन पाउँदा पढाइमा अरु कैदीबन्दी तथा थुनुवालाई आकर्षित गर्ने उनीहरूको भनाइ छ।

त्यस्तै सुदूरपश्चिम प्रदेशबाट ६ जना कैदीबन्दी एसइई परीक्षामा सहभागी भए। बैतडीबाट १, बाजुराबाट एक जना सहभागी भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यहाँका सई मिनबहादुर डाँगीका अनुसार बालसुधार गृह डोटीमा रहेका चार जना पनि उक्त परीक्षामा सहभागी भए। कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका दिनेशराज गिरीले कारागारबाटै परीक्षा दिन पाएकोमा खुसी व्यक्त गरे। परीक्षा दिने कैदीलाई परीक्षा दिनबाट नरोक्ने सई डाँगीले बताए। आफ्नो पढाइलाई पर्खाल र काँडेतारले नछेकेको गिरीले बताए।

त्यस्तै कर्णाली प्रदेशमा कालीकोटबाट १, जुम्लाबाट १ र सुर्खेतबाट २ जना कैदीबन्दी तथा थुनुवाले एसइई परीक्षामा सहभागी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतबाट पनि एक जना एसइई परीक्षामा सहभागी भए।

प्रकाशित: ११ चैत्र २०७५ ११:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App