१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकमा नयाँ नेतृत्व

संघका नवनिर्वाचित अध्यक्ष छत्र तामाङ ।

सिन्धुपाल्चोक- निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको अध्यक्षमा छत्र तामाङ निर्वाचित भएका छन्। सदरमुकाम चौतारामा सम्पन्न संघको छैटौं जिल्ला अधिवेशनबाट व्यवसायी तामाङ नेतृत्वको गठबन्धन प्यानलै विजयी भएको हो। अध्यक्षका प्रत्यासी सगुन श्रेष्ठलाई हराउँदै तामाङ विजयी भएका हुन्। तामाङले दुई सय २७ मत पाए भने श्रेष्ठले ८७ मत ल्याए। नेकपा, नेपाली कांग्रेस र राप्रपाको समर्थनमा तामाङ उम्मेदवार बनेका थिए। गठबन्धनबाट असन्तुष्ट कांग्रेसको अर्को तप्काले श्रेष्ठलाई अघि सारेको थियो। 

महासचिवमा गठबन्धनकै जयचन्द्र लामा निर्वाचित भए। उनले असन्तुष्ट कांग्रेसका घ्याम्सो तामाङलाई हराए। अध्यक्ष, महासचिव र ६ सदस्य चुन्न मतदान भएको थियो। १५ सदस्यीय संघको बाँकी पदका उम्मेदरवार निर्विरोध निर्वाचित भएका थिए। संघको प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः फडिन्द्र दाहाल, साइला तामाङ, र राजेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भए। त्यस्तै सचिवमा शिव श्रेष्ठ, कोषाध्यक्षमा चक्र केसी र सह–कोषध्यक्षमा जोगलाल तामाङ निर्विरोध भए। 

सदस्यमा बालसुन्दर कटुवाल, घनश्याम नेपाल, रमेश राउत, हुपबहादुर खड्का, भीमसेन खनाल र डबले तामाङ लगायत निर्वाचित भएका छन्। दुई सय ८९ मतदातामध्ये दुई सय २० मत खसेको थियो। दुई दिन चलेको अधिवेशनको निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवी सिंहले उद्घाटन गरेका थिए।

ठेकेदार पनि, जनप्रतिनिधि पनि 
सिन्धुपाल्चोकका १२ स्थानीय तहका १५ जनप्रतिनिधि ठेकेदारसमेत रहेको खुलेको छ। संघले उद्घाटन सत्रमा स्थानीय तहको निर्वाचनमा विजयी भएको भन्दै आफ्ना सदस्यलाई सम्मानित गरेपछि यो तथ्य खुलेको हो। सम्मानित हुने ठेकेदारमा एक गाउँपालिका अध्यक्ष, १२ वडाध्यक्ष र दुई नगरपालिका सदस्य छन्।

संघले प्रत्यक्ष निर्वाचित ठेकेदारलाई मात्र सम्मानित गरेकाले स्थानीय तहमा अझ धेरै जनप्रतिनिधि ठेकेदार रहेको अनुमान गरिएको छ। स्थानीय तहमा ठेकेदार जनप्रतिनिधि बनेको र जनप्रतिनिधि ठेकेदार जस्ता भएको गुनासो व्याप्त भइरहेका बेला संघले ठेकेदार जनप्रतिनिधिलाई सम्मानित गरेको हो। 

सम्मानित हुने ठेकेदारमा सुनकोसी गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसी (विनोद), उमा दुलाल, रामप्रसाद गौतम, दीपेन्द्र थापा, रामकुमार थापा, कृष्णबहादुर खड्का, सानुकान्छा तामाङ, इश्वर तिमिल्सिना, देवेन्द्र घोरासैनी, मधुकर थापा, बमबहादुर तामाङ, कैलाश थापा, कामी शेर्पा (वडाध्यक्ष) तथा प्रविण घले, कमलबहादुर श्रेष्ठ (नगरसभा सदस्य) छन्। निर्माण व्यवसायी प्रतिनिधिको बिल्ला भिरेर उनीहरुले अधिवेशनमा भाग लिएका थिए। 

प्रकाशित: ११ चैत्र २०७५ ०८:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App