१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सीके राउत मूलधारमा आएसँगै राजपा-फोरमलाई कति असर?

काठमाडौं– ‘सीके राउतलाई देखाएर तराईमा स्वार्थका रोटी सेक्नेहरू धेरै थिए। तीनका रोटी काँचै पल्टिने भए। देखाउने सीके राउत, रोटी सेक्ने आफू’, प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउतसँग ११ बुँदे सहमति गर्दा भनेको भनाई हो, यो।

प्रधानमन्त्री ओलीको यो भनाइबाट उनी मधेसमा राष्ट्रिय जनता पार्टी नेपाल र फोरमलाई  ‘काउन्टर’ दिन वैकल्पिक शक्ति खडा गर्ने तयारी गरेको प्रष्ट हुन्छ। ओलीले राउतलाई मूलधारमा ल्याउनु तयारीमा राजपा र फोरमलाई सकस बनाउन चाहेको देखिन्छ।

आफ्ना सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजपासँग राउतसँगको सम्झौता कार्यक्रममा प्रधानमन्त्री निकै झोकिए। प्रधानमन्त्रीको चाहनाअनुसार नै राउत पनि अहिले मधेसमा वैकल्पिक शक्ति खडा गर्न लागि परेका छन्। उनले स्वतन्त्र मधेस गठबन्धन पार्टीको नाम फेर्दै जनमत पार्टी राखे।

राउतको पार्टीले तराई मधेसमा वर्षौंदेखि राज गरिरहेको शक्तिलाई ‘मिनिमाइज’ गर्न सक्छ त? यो प्रश्न अहिले जोडतोडका साथ उठिरहेको छ। तर राउत मधेसको राजनीतिमा कति टिक्छन् भन्ने प्रश्न पनि उठ्न थालेको छ। प्रधानमन्त्री ओलीले मधेसमा भोट तान्न मात्र राउतलाई प्रयोग गर्न खोजेको हुन सक्ने विश्लेषण पनि एकाथरीले गर्न थालेका छन्।

केही समय मधेसमा संगठन विस्तर गर्ने र नेकपामै समाहित हुने राउतको योजना हुनसक्नेम मधेस राजनीतिका जानकारहरू बताउँछन्। तर उनी राजनीतिमा लामो समय टिक्न सक्ने सम्भावना न्यून रहेको डा. राजेश अहिराजको विश्लेषण छ। ‘चुनावमा जसले खर्च गर्छ त्यसले मात्र जित्ने अवस्था आइसकेको छ’, उनले नागरिकसँग भने, ‘राउतसँग पैसा छ जस्तो मलाई लाग्दैन। त्यसकारण मूलधारको राजनीतिमा राउतलाई धेर समय टिक्न मुस्किल छ।’

राउतको पार्टीले तराई मधेसमा वर्षौंदेखि राज गरिरहेको शक्तिलाई ‘मिनिमाइज’ गर्न सक्छ त? यो प्रश्न अहिले जोडतोडका साथ उठिरहेको छ। तर राउत मधेसको राजनीतिमा कति टिक्छन् भन्ने प्रश्न पनि उठ्न थालेको छ। प्रधानमन्त्री ओलीले मधेसमा भोट तान्न मात्र राउतलाई प्रयोग गर्न खोजेको हुन सक्ने विश्लेषण पनि एकाथरीले गर्न थालेका छन्।

तर राउत मूलधारको राजनीतिमा आएपछि मधेसको जनमत प्राप्त राजपा र फोरम पनि झस्किएका छन्। उनीहरू सरकारले देश विखण्डनको नारा लिएर अघि बढेका राउतलाई मूधारमा ल्याएर गलत काम गरेको आरोप लगाउँदै आएका छन्।

राउत मूलधारको राजनीतिमा आएसँगै फोरम र राजपामा चुनौती थपिएको मधेस विश्लेषक डा. अहिराज बताउँछन्। यी दुई पार्टीलाई अब मधेसको राजनीतिमा सकस पर्ने अहिराज बताउँछन्। ‘नैतिक धरातल गुमाएका यी दुई दललाई मधेसमा सकस छ। उनीहरूको अब मधेसमा दम्भ मात्र रहन्छ। दम रहँदैन’, उनी भन्छन्, ‘राजपा र फोरमका राम्रा प्रशिक्षित र भविष्यलाई केन्द्रमा राखेर राजनीति गर्ने कार्यकर्ता सीकेतिर जान्छन्।’

फोरम र राजपा मुद्दाको राजनीति छाडेर भावनाको राजनीतिमा वहकिएको आरोप लाग्न थालेको छ। ‘यी पार्टीले इस्यूको राजनीति छाडे। इमोसनको राजनीति गर्दैछन्। अब इस्यूबेसको राजनीति गर्न आउने शक्ति चुनौती त दिइहाल्छ नि!’, डा.अहिराजले नागरिकसँग भने, ‘यी पार्टी स्वचालित छैनन्। सञ्चालित छन्। त्यसकारण यी पार्टीलाई सरकारले पनि अप्ठ्यारो पर्छ।’ यी दलको बैधानिकता कायम भए पनि सामाजिक स्वीकृति गुमेका कारण मधेसमा उदाउने जुनसुकै वैकल्पिक शक्ति पनि टक्कर दिन सक्ने अहिराजको विश्लेषण छ।

मधेसवादी दलको मनमा डर भए पनि राउतले चुनौती दिन नसक्ने दाबी गर्छन्। ‘सीके राउतसँग स्वतन्त्र मधेस बनाउँछु भनेर लागेका जयकृष्ण गोइतका कार्यकर्ता मात्रै गएका छन्। तर उनले अब यो मुद्दा छाडेपछि ती कार्यकर्ता गोइतसँगै फर्कन्छन्’, राजपा महासचिव केशव झा भन्छन्, ‘राजपा र फोरमका कार्यकर्ता किन जान्छन्? उसले त सधैँ हाम्र कार्यकर्तालाई र हाम्रो पार्टीलाई अवसरवादी भनेर गाली गर्थे नि! त्यसकारण मूलधारको राजनीति गर्ने हाम्रो पार्टीको मुद्दा ठीक रहेछ भन्नेमा पुगे नि उनी। त्यसैले हाम्रा कार्यकर्ता त्यहाँ जाँदैनन्।’

राउत मूलधारको राजनीतिमा आए पनि उनलाई निर्वाचनमा जित्नसम्म समस्या हुने उनी बताउँछन्। ‘यदी राउत मूलधारको राजनीतिमा आउने भए पनि उनको निर्वाचन क्षेत्र सप्तरीको २ नम्बर क्षेत्र हो। त्यस क्षेत्रमा हाम्रो गठबन्धनबाट उपेन्द्र यादवले जित्नु भएको हो। त्यो क्षेत्र यस्तो छ कि त्यहाँ राउतले जित्ने अवस्था नै छैन’, झा भन्छन्, ‘जब त्यो पार्टीका अध्यक्षले नै जित्दैनन् तब उनको पार्टीमा कसले जित्छ। मूलधारमा आए पनि उनी शून्यमा जान्छन्। किनकी उनमा विचलन आएको छ। त्यसकारण हाम्रा लागि केही फरक पर्दैन।’

राजपाले नेकपामा प्रवेश गर्न राउतलाई सुझाएको छ। ‘उनी नेकपामा गए भने केही व्यक्तिसँगै उनको पनि एडजस्ट हुन्छ। हामीसँग इतिहास छ नि! राप्रपा जस्तो पार्टीको त थ्रेस होल्ड कटाउन नसकेर विजोग छ’, उनले भने, ‘त्यसकारण सीके राउतको हाल त के हुन्छ?’

यता जनजातिको तत्कालीन पार्टी संघीय समाजवादी पार्टी र तराईको पार्टी फोरम मिलेर बनेको संघीय समाजवादी फोरम नेपालले भने आफूहरूको संगठन मधेसमा मात्र नभएकाले राउतबाट कुनै जोखिम नहुने तर्क गर्छ। ‘सीके राउत मूलधारमा आउँदा हामीलाई के को समस्या र चुनौती नि!’, फोरम उपाध्यक्ष रकम चेम्जोङ भन्छन्, ‘हाम्रो पार्टी त राष्ट्रिय पार्टी हो। तराईमा पनि संगठन छ। तराईमा मत बढी आएको छ। समय क्रमअनुसार कहिले तराईमा त कहिले पहाडमा मत धेरै आइहाल्छ नि!’

पछिल्लो समय राउतको चुनौतीले राजपा र फोरम एक हुन लागेको चर्चा चल्न थालेको छ। मूलधारको राजनीतिमा राउत आएसँगै असुरक्षित महसुस गरेर यी दुई दलले एकताका लागि चिठी आदानप्रदान गरेको मधेस राजनीतिका जानकारहरू बताउँछन्। ‘उनीहरू मुद्दामा एक हुन लागे कै हैनन्’, डा.अहिराजले भने, ‘उनीहरू चुनौती देखेर एक हुँदैछन्।’

यसमा राजपा र फोरमको व्यख्या भने छुट्टा–छुट्टै छ। राजपाले भने मधेसका जनताको चहानाअनुसार एक हुन खोजेको बताउँदै आएका छन्। ‘हामी एक हुनुपर्छ भन्ने त हाम्रो भन्दा पनि मधेसका जनताको चाहना हो’, राजपा महासचिव झाले भने, ‘अबको निर्वाचनसम्म हामी एक भएको मधेसका जनता देख्न चाहन्छन्।’

फोरम भने आफूहरूले राउतबाट चुनौती देखेर नभई सम्झौता अघि नै राजपालाई पत्र लेखेको दाबी गर्छ। ‘सीके राउतसँग सम्झौता हुनुभन्दा धेरै पहिला राजपालाई एकताका लागि पत्र लेखेका थियौं’, फोरम उपाध्यक्ष चेम्जोङ भन्छन्, ‘यो त कोइन्सिडेन्ट मात्र हो।’

प्रकाशित: ११ चैत्र २०७५ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App