१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोठामा सुतिरहेको बेला शरीरमा आगो

शरीर जलेकी मनिषा विक ।

इटहरी–असोज १९ गते बुधबार राति १० बजेको सुनसान समय। सप्तरीको डनडोल–५ । कोठाभित्र छोरा लिएर सुतिरहेकी १८ वर्षीया मनिषा विक जलिन्। घाँटीदेखि मुनी, कम्मरमाथि देब्रेतर्फ उनको शरीर आगोले जलेकोे छ।

अहिले उनको आर्थिक अवस्था दयनीय भएकाले माइती गाउँ सुनसरी इटहरी–२४ मा उपचारकालागि सहयोग जुटाउन थालिएको  छ । उपचार खर्च जुटाउनकालागि महिला समूहसँगै स्थानीय अगुवा सक्रिय भएका छन्।

उपचार खर्च जुटाउन सक्रिय नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. २ का सभापति मणिराज श्रेष्ठले पैसा अभावले उपचार नरोक्ने ढंगले खर्च जुटाउन लागेको बताए। ‘आगोले मनिषाको शरीर जलेपनि अहिलेसम्म कसरी जल्यो भने प्रहरीले टुंगो लगाउन सकेको छैन,’ उनले भने, ‘घटनाको प्रहरीले अनुसन्धान गर्ला अहिले चाँहि पीडितलाई पैसा जुटाएर उपचार गरिरहेका छौं।’

मनिषाकी आमा सरिता विकले छोरी जलेको घटना प्रहरीले चाँडो छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने माग गरेकी छन्। ‘पहिला त छोरीको उपचार होस् अनि दोषीलाई जेल सजाय होस्,’ उनले भनिन, ‘फुलपातीको दुई दिनअघि राति १२ बजे ज्वार्ईंले एम्बुलेन्समा घर अगाडि ल्याए अनि धरान उपचार गर्न लग्यौं।’ फुलपातीका दिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानले मनिषालाई डिस्टार्ज गर्यो। तर, उनको स्वास्थ्य अवस्था झन जटील भएपछि अहिले थप उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

सरिताका अनुसार, मनिषालाई अरु बेला पनि घर–परिवारका सदस्यले हिंसा गर्ने हुँदा मार्ने उद्देश्यले शरीरमा आगो लगाई दिएको जिकिर गर्छिन्।

मनिषाले श्रीमान्कै संलग्नतामा सासु पूर्णि र जेठाजु नरेसले राति सुतेको बेला कोठाभित्र छिरेर शरीरमा  मट्टितेल छर्की आगो लगाई दिएको जिकिर गरिन्। उनी डेढ वर्षको छोरालाई लिएर सुतेका बेला श्रीमान राकेश विक भने बाहिर सुतेका थिए। ‘सासु र जेठाजुले मलाई मट्टितेल छर्केर आगो लगाई दिए अनि श्रीमानले पानी खन्याएर आगो निभाए,’ मनिषाले भनिन, ‘राति मैले भात पकाउन नसक्ने बताएपछि घरमा झैझगडा भएको थियो अनि त्यस्तो घटना हुन पुग्यो ।’ मनिषा र राकेशले दुई वर्षअघि प्रेम विवाह गरेका थिए।

घटनाको अनुसन्धान गरिरहेको सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक गौरव महतले घटनाको अनुसन्धान भइरहेकाले गर्दा ‘क्लियर’ भइनसकेको बताए । ‘घटनाको प्रारिम्भक अनुसन्धान गर्दा विवादित छ, क्लियर भइसकेको छैन,’ उनले भने, ‘दुवै पक्षलाई छलफलमा बोलाउँदा मनिषा मौन छिन्।’

प्रहरी निरीक्षक महतले घटनाको अनुसन्धान टुंगिएपछि जोसुकै भएपनि कारबाही हुने बताए । ‘मनिषा श्रीमानले उपचार गरे भने ठीक छ भन्छिन् । अहिले माइती पक्षकाले उपचार गरिहेका छन्। तर, अनुसन्धानबाट श्रीमान्को संलग्नता भए मनिषाले छाड्ने भनेपनि कानुन अनुसार कारबाही गरेरै छाडछु,’ महतले भने ।

प्रकाशित: ३० आश्विन २०७३ ०५:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App