१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

६२ हजार घर बने

सिन्धुपाल्चोक - विनाशकारी भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा ६२ हजार घरको पुनर्निर्माण सकिएको छ। भूकम्पपछि झन्डै चार वर्ष बित्न लागेको छ। जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (डिएलपिआइयु÷जिमाली) को तथ्यांकअनुसार भूकम्पबाट क्षतिग्रस्तमध्ये झन्डै ७१ प्रतिशत घर पुनर्निर्माण सकिएको छ। पछिल्लो एक महिनामा मात्रै पाँच हजार घरको पुनर्निर्माण भएको छ।

पुनर्निर्माण अभियान थालनी भएको भने तीन वर्ष बित्न लाग्दैछ। भूकम्पको एक वर्षपछि २०७३ वैशाख १२ गते सिन्धुपाल्चोकबाटै पुनर्निर्माण अभियान थालनी गरिएको थियो। चौताराका सर्बे तामाङको घरको जग शिलान्यास गर्दै त्यति बेला पनि प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले पुनर्निर्माण अभियान घोषणा गरेका थिए।

जिल्ला आयोजना व्यवस्थापक जयप्रकाश गुप्ताले जिल्लाको पुनर्निर्माण अन्तिमतिर अघि बढेको बताए। ‘पुनर्निर्माण तीव्र छ। यही रफ्तारमा काम भए पुनर्निर्माण छिट्टै सकिने अपेक्षा गरेका छौं,’ उनले भने। तथ्यांकअनुसार १७ हजारभन्दा बढी घरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ भने थप ६ हजार घरको पुनर्निर्माण सुरु भइसकेको छ।

जिल्लामा झन्डै साढे दुई हजार घरको मात्र पुनर्निर्माण थाल्न बाँकी रहेको देखिएको छ। गुनासोमार्फत लाभग्राही थपिँदै जाँदा संख्या बढेर ८७ हजार ८ आठ सय २८ पुगेको छ। लाभग्राहीमध्ये ८५ हजार तीन सय ७० (९९ प्रतिशत) ले पहिलो, ७९ हजार चार सय ३२ (९० प्रतिशत) ले दोस्रो र ६२ हजार ८१ (७० प्रतिशत) ले तेस्रो किस्ता अनुदान लिइसकेका छन्। गुठी जग्गा, बहुस्वामित्व, सुकुमवासी, विस्थापित, एकल तथा असहाय, वैदेशिक रोजगारीमा रहेका भूकम्प प्रभावितले मात्र घर बनाउन सुरु गर्न नसेकेको आयोजना व्यवस्थापक गुप्ताले जनाए।

आवास निर्माणमा ६९ प्रतिशत खर्च
चालु आर्थिक वर्षमा भूकम्प पीडितका व्यक्तिगत आवास निर्माणमा साढे तीन अर्ब रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ। जिल्लामा जिमालीमार्फत आवास अनुदानको रकम खर्च हुँदै आएको छ। सिन्धुपाल्चोकका पीडितका आवास निर्माणमा नेपाल सरकारको स्रोत र जापान सरकार सहयोग नियोग (जाइका) को ऋण सहयोग खर्च गरिँदै आएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत दुवै स्रोतबाट चालु आवको हालसम्म उपलब्ध खर्च अख्तियारीमध्ये ६९ प्रतिशत अनुदान रकम खर्च भएको जिल्ला कोष तथा लेखा नियन्त्रक लक्ष्मीप्रसाद प्याकुरेलले बताए। उनका अनुसार दुवै स्रोतबाट ५ अर्ब २३ करोड २६ लाख ९४ हजारको अख्तियारी आएकोमा तीन अर्ब ६३ करोड ५६ लाख रुपैयाँ अनुदान खर्च भइसकेको छ।
जाइकाले ४ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खर्चको अख्तियारी पठाएको थियो। योमध्ये तीन अर्ब १२ करोड ७३ लाख रुपैयाँ खर्च भएको छ। त्यस्तै सरकारले पठाएको ६० करोड ८२ लाख खर्च अख्तियारीमध्ये ५० करोड ८२ लाख ९७ हजार रुपैयाँ अनुदान वितरण भइसकेको छ। किस्ता माग गर्नेको संख्या बढिरहेकाले बाँकी रकमले अपुग हुन सक्ने नियन्त्रक प्याकुरेलले बताए। ‘त्यस्तोमा थप रकम खर्च गर्ने अख्तियारी आउँछ,’ उनले भने।

तस्बिर ः

सिन्धुपाल्चोक, बाह्रबीसे नगरपालिकाको गातीगाउँमा पुनर्निर्माण गरिएका भूकम्पप्रतिरोधी घर। तस्बिर ः ध्रुव÷नागरिक

प्रकाशित: ११ चैत्र २०७५ ०३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App