१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बिपी राजमार्ग नै उच्च जोखिममा

सिन्धुलीको सुनकोसी गाँउपालिकामा मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगका व्यवसायीले सुनकोसी नदीमा गरेको जथाभावी उत्खनन। तस्बिर : अनिल/नागरिक

सिन्धुली - सुनकोसी नदीमा सञ्चालित मापदण्डविपरितका क्रसर उद्योगका कारण बिपी राजमार्ग उच्च जोखिममा परेको छ। राजमार्गकै छेउमा बालुवा प्रशोधन उद्योगको नाममा मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगले जथाभावी उत्खनन गर्दा बनेपा–सिन्धुली–बर्दिबास सडक धसिने अवस्थामा पुगेको हो।

केही दिनअगाडि क्रसर उद्योगको अनुगमन गर्न पुगेको जिल्ला अनुगमन समितिले मापदण्डविपरीत थुप्रै क्रसर उद्योग सञ्चालनमा रहेको पाइएको जनाएको छ। सुनकोसीमा सञ्चालित दर्जनौं क्रसर तथा बालुवा उद्योगमा समितिले अनुगमन गरेको थियो। नियमअनुसार राजमार्गबाट पाँच सय मिटरको अन्तरमा मात्रै क्रसर उद्योग सञ्चालनको अनुमति पाइने भए पनि जनप्रतिनिधि र राजनीतिक दलकै आडमा व्यवसायीले जथाभावी क्रसर र बालुवा उद्योग दर्ता गरी नियमविपरीत सञ्चालन गर्दा राजमार्ग धरापमा परेको हो।

कागजात र अनुमतिपत्र बालुवा वासिङ मात्रै गर्न पाउने उल्लेख भए पनि व्यवसायीले जथाभावी गिट्टी उत्पादन गरेर बिक्री गर्दै आएका छन्। व्यवसायीहरूले धमाधम क्रसर उद्योग सञ्चालन गर्दै उक्त उद्योगका लागि बालुवा–ढुंगा जथाभावी उत्खनन गरेको गुनासो बढेपछि सुनकोसी गाँउपालिकास्थित सुनकोसी नदीमा सञ्चालित केही बालुवा उद्योगमा अनुगमन गरिएको थियो। ‘अनुगमन गर्दा धेरै क्रसर उद्योग मापदण्डविपरीत रहेको पाइयो,’ जिल्ला अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख शंकरराज बर्मा तिवारीले भने, ‘बालुवा प्रशोधन उद्योगका नाममा क्रसर चलेको देखियो।’ उनले बाँकी उद्योगमा पनि समय मिलाएर अनुगमन गर्ने जानकारी दिए। ‘सबै उद्योगमा अनुगमन गर्छौं,’ उनले भने, ‘हामीले अनुगमन गरेको जति धेरैमा त्रुटि देखियो।’

स्थानीय तहले बालुवा प्रशोधन उद्योगका नाममा धमाधम दोहन गर्न लाइसेन्स दिएपछि व्यवसायीहरूले अवैध रूपमा सुनकोसी दोहन गरेको गुनासो बढ्न थालेको छ। सुनकोसी गाउँपालिका रामटारका मीन श्रेष्ठले सुनकोसीमा सञ्चालित अधिकांश क्रसर उद्योगले जथाभावी उत्खनन गरेको जनाए। उनले जापान सरकारले निर्माण गरिदिएको बीपी राजमार्गको महत्व व्यवसायीले नबुझेको बताए। ‘एकातर्फ बालुवा तथा गिट्टी बोकेका टिपर चल्दा राजमार्ग खाल्डैखाल्डा हुँदै गएको छ,’ उनले भने, ‘अर्को तर्फ राजमार्ग र पुलकै नजिक क्रसर राखी उत्खनन गर्दा राजमार्ग नै धसिने सम्भावना बढेको छ।’ एसियाकै चर्चित पर्यटकीय राजमार्गका रूपमा रहेको बीपी राजमार्गलाई जोखिममा पारी जथाभावी दोहन हुन थालेको स्थानीयको भनाइ छ।

अनुगमनमै सामेल भएका एक अधिकारीले राजमार्ग र बस्तीनजिक क्रसर उद्योग सञ्चालन गर्न नपाइने भए पनि पहुँचका आडमा जथाभावी उत्खनन र सञ्चालन भएको बताए। ‘सुनकोसीमा सञ्चालित धेरै क्रसर बालुवा उद्योगका नाममा दर्ता छन्,’ उनले भने, ‘बालुवा उद्योगका नाममा क्रसरको काम गर्न पाइँदैन, त्यस्ता उद्योग प्रायः राजमार्गनजिकै र पुलआसपासमा सञ्चालन भएका छन्, यो सबै नियमविपरीत छ।’ अनुगमन टोलीका अनुसार सुनकोसी नदीमा सिन्धुली र रामेछापका व्यवसायीहरूले मनपरी ढंगबाट जथाभावी डोजर चलाई उत्खनन गरेका छन्। नियमअनुसार बालुवा प्रशोधन उद्योगले ठूला उपकरण चलाउन नपाउने भए पनि सुनकोसीमा व्यवसायीहरूले जथाभावी त्यस्ता उपकरण चलाई दोहन गर्दै आएका छन्।

स्थानीय तहको निर्वाचन भई जनप्रतिनिधि आएको दुई वर्ष नबित्दै सुनकोसी तहसनहस भएको स्थानीय बताउँछन्। व्यवसायीहरूको ‘दादागिरी’का कारण स्थानीयले विरोधमा बोल्न सक्ने अवस्थासमेत नरहेको स्थानीयवासीको गुनासो छ। एक स्थानीयले नाम उल्लेख नगर्न भन्दै जनप्रतिनिधिकै संरक्षणमा सुनकोसी दोहन भएको बताए। ‘वडाध्यक्षका घरपरिवारकै सदस्यका नाममा क्रसर खोलिएको छ,’ उनले भने, ‘तिनीहरूलाई न स्थानिय सरकारले कारबाही गर्न सक्छ न कारवाही गर्ने चासो नै देखाउँछ।’ सहरी विकास तथा भवन डिभिजन कार्यालयका निमित्त प्रमुख एवं अनुगमन समितिका सदस्य दुर्गा घिमिरे मादण्डविपरीत उत्खनन भएको बताउँछन्। ‘जहाँ जति उत्खनन गर्ने अनुमति भएको हो, त्योभन्दा धेरै उत्खनन भएको पाइयो,’ उनले भने।

सुनकोसीबाट ढुंगा, गिट्टी, बालुवा निकाल्ने बहानामा चरम दोहन हुँदा समेत स्थानीय सरकार र जिल्ला अनुगमन समितिले समेत खासै वास्ता नगर्दा सुनकोसी उत्खननमा होडबाजी नै चल्न थालेको छ। ‘जसले सक्छ उसले गर्ने हो, नियम अरूलाई नलाग्दा हामीलाई पनि लाग्दैन’ भन्दै दोहन गर्ने बढ्दै गएको एक स्थानीयले बताए। प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले अनुगमनमा मापदण्डविपरीत नै पाइएको प्रस्ट्याए। ‘अनुगमन समितिका संयोजक नै जिल्ला समन्वय समितिका प्रमुख हुने व्यवस्था छ, उहाँले अनुगमन गरौं भनेपछि हामी अनुगमनमा सरिक हुने हो,’ उनले भने।

प्रकाशित: ११ चैत्र २०७५ ०२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App