१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रुम्जाटार विमानस्थल दुई वर्षदेखि ठप्प

ओखलढुंगा - दुई वर्षपहिले अवरुद्ध ओखलढुंगाको एकमात्र विमानस्थल रुम्जाटारबाट अझै हवाई उडान सञ्चालनमा आउन सकेको छैन। रुम्जाटारबाट नेपाल वायुसेवा निगम र विभिन्न निजी हवाई कम्पनीले उडान गर्दै आएका थिए।

अहिले रुम्जाटार विमानस्थल घुमघाम गर्ने र खोटाङ र सोलुतिर उडान भरेका जहाजमा समस्या आए आपतकालीन अवतरण गर्ने स्थल मात्रै बनेको छ। तीन वर्षअघि कालोपत्रे गरिएको विमानस्थल यात्रु अभावको बहानामा दुई वर्षपहिलेदेखि उडान अवरुद्ध भएको हो। निर्वाचनका बेलामा विभिन्न राजनीतिक दलका नेताहरुले रुम्जाटार विमानस्थलबाट उडान सुचारु गराउने प्रतिबद्धता जनाएका थिए। सिद्धिचरण नगरपालिका–४ मा पर्ने यो विमानस्थलबाट उडान नियमित गर्ने सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठको मुख्य कार्यसूची थियो।

रुम्जाटारकै प्रशेद सभाका सांसद अम्बिरबाबु गुरुङले पनि रुम्जाटार विमानस्थलबाट उडान सुचारु गराउने मुख्य चुनावी अजेन्डा बनाएका थिए। तर, चुनावपछि पनि रुम्जाटारमा उडान सुचारु हुन सकेको छैन। यात्रु अभाव भएको भन्दै नेपाल वायु सेवा निगमले रोकेको उडान सुरु गर्न निमगसमक्ष नगरपालिकाले आग्रह गरे पनि सुनुवाइ नभएको मेयर मोहनकुमार श्रेष्ठले बताए। सांसदसहित निगमका प्रमुखसँग छलफल गरिए पनि उडान सुचारु गराउन नसकिएको उनको भनाइ छ। केही महिनाअघि प्रदेश सांसद अम्बिरबाबु गुरुङले एक सार्वजनिक कार्यक्रममा वर्षौंदेखि अवरुद्ध रुम्जाटार विमानस्थलबाट नियमित उडान हुने बताएका थिए। विभिन्न बहानामा नेपाल वायुसेवा निगम र विभिन्न निजी कम्पनीले भर्दै आएको उडान रोकिएको दुई वर्षपछि नेपाल एयरलाइन्सले सातामा एक दिन रुम्जाटारमा उडान भर्ने तालिका सार्वजनिक गरेको सांसद गुरुङले जिल्लावासीलाई जानकारी गराएका थिए।

रुम्जाटार विमानस्थललाई पूर्वी पहाडको हवाई इन्धन केन्द्र बनाउने विषयमा अध्ययन भइरहेको प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले बताएका थिए। केन्द्रका लागि उपयुक्त ठाउँ भएको विज्ञले बताएसँगै वायु सेवा निगम र सरोकारवालाबीच छलफल गरेर पहल थालिएको उनको भनाइ थियो। सांसद सुनुवारले पनि रुम्जाटारबाट नियमित उडानका लागि पहल भइरहेको बताएका थिए। तर अझै कुनै एयरलाइन्स कम्पनीका जहाजले उडान सुरु गरेका छैनन्।

रुम्जाटार विमानस्थलमा तत्काल नियमित उडानका विषयमा कुनै योजना नरहेको नागरिक उड्डयन प्राधिकरण रुम्जाटारका प्रमुख केदारप्रसाद सत्यालले बताए। ‘नियमित उडानका लागि आवश्यक भौतिक संरचना तयार छन्। तर, नियमित उडानको कार्यक्रम छैन,’ उनले भने, ‘हाम्रो नियमित उडान छैन। तर, यहाँ हामी स्टयान्ड बाई बस्नैपर्ने हुन्छ।’ सोलुका अधिकांश विमानस्थलमा मौसमको समस्या हुदाँ रुम्जाटारमा जहाज आकस्मिक अवतरण हुने गर्छन्। नियमित उडान हुने हो भने यात्रुको अभाव नहुने कार्यालय प्रमुख सत्यालको भनाइ छ।  

सरकारले करोडौं रकम खर्चेर विमानस्थलको भौतिक पूर्वाधार निर्माण गराएको छ। हाल टर्मिनल भवनसमेत निर्माणको क्रममा छ। स्थानीयले विमानस्थल सञ्चालनको माग राखेका छन्। चुनावको बेला जनप्रतिनिधिले समेत विमानस्थल सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन्। हाल ओखलढुंगा सदरमुकामदेखि रुम्जाटारसम्मको सडक कालोपत्रेको काम भइरहेको छ। कालोपत्रे भइसकेपछि सदरमुकामदेखि रुम्जाटार जान सहज हुनेछ।

रुम्जाटार विमानस्थलमा नियमित उडान नहुँदा जिल्लास्थित दुई अस्पतालबाट काठमाडौं रेफर गरिएका बिरामी लैजान लाखौं खर्च गरेर हेलिकम्पटर चार्टर गर्न स्थानीय बाध्य छन्। तीन वर्षअघि धावन मार्गमा कालोपत्रे गरिएको रुम्जाटार विमानस्थल पूर्वी पहाडको सुरक्षित हवाई गन्तव्यका रूपमा लिइन्छ।

प्रकाशित: १० चैत्र २०७५ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App