१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चोरी बढेपछि प्रहरीमाथि दबाब

वीरगन्ज  – वीरगन्ज महानगरपालिका–११ स्थित नयाँ बस्तीमा शुक्रबार राति ६ घरमा चोरी भएपछि स्थानीय त्रसित बनेका छन्। वडा प्रहरी कार्यालय श्रीपुरभन्दा पाँच सय मिटर मात्र रहेको टोलमा चोरी भएपछि स्थानीयले प्रहरीप्रति आक्रोशसमेत जनाएका छन्। श्रीपुर नयाँ टोलको सन्तोष तिवारी, कुलदीप पाण्डेय, नन्दु साह तेली, जगरनाथ यादव, राजेश कुशवाहा र असर्फी महतोको घरमा गरगहनादेखि लत्ताकपडासम्म चोरी भएको छ। ताल्चा फुटाएर चोर घरमा प्रवेश गरेको पाइएको छ। घरका मानिस होली मनाउन गएका बेला घर छानीछानी चोरी गरेको स्थानीय विद्यानन्द चौधरीले बताए। उनले तीन वर्षभित्र सो टोलका प्रायः सबै घरमा चोरी भइसके पनि प्रहरीले एउटै घटनाका दोषी समात्न नसकेको बताए।

चोरीको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको र कसैलाई समात्न नसकिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। गत तीन महिनाभित्र ११ र १३ नम्बर वडामा मात्र सयभन्दा बढी चोरीका घटना भएकोमा प्रहरीले कुनै घटनाको पनि दोषी पत्ता लगाउन नसकेपछि स्थानीयमा प्रहरीप्रति आक्रोश र अविश्वास बढ्दो छ। ‘एउटा पनि घटनामा प्रहरीले अलि चासो लिएर कसैलाई समात्ने वा सोधपुछ गरेर यकिन तथ्य बाहिर ल्याउने काम गर्न सकेको छैन,’ टोलका बासिन्दा रहेका शिव पटेलले भने, ‘समाजमा भइरहेका अपराध रोक्न प्रहरी चाहिएजति सक्रिय छैन। अनुसन्धान फितलो छ। गस्ती छैन।’ अपराधी प्रवृत्तिका मान्छेको मनबाट पछिल्लो समयमा प्रहरीको भय बिल्कुलै हराएको उनको भनाइ छ। घटनाका पीडित तिवारीले भने, ‘चोरी भएको कोठाको प्रकृति हेर्दा बिनाडर चोरी गरिएको देखिन्छ।’

सशस्त्र प्रही बलका सहायक प्रहरी निरीक्षक रहेका उनका छिमेकी पाण्डेयको घरबाट गहनासँगै ८० हजार नगद पनि चोरी भएको छ। चोरले अरू घरबाट गहना, कपडा र भाँडाकुडा समेत लगेका छन्। पाण्डेयले आफूहरुले सम्पुर्ण कुरा प्रहरीलाई जानकारी गराइसकेको बताए। यस्ता चोरीमा घटनाको मुचुल्का बनाउनेभन्दा बढी प्रहरीले केही नगरेको स्थानीयको गुनासो छ। जिल्ला अदालतनजिकै तीन महिना अगाडि वीरेन्द्र पाण्डेयको घरमा चोरी हुँदा घटनास्थलमा एउटा गम्छा बरामद भएको र गम्छावाला मान्छे पहिचान भइसकेर पनि प्रहरीले नसमातेको उनले बताए। ‘मेरो घरमा चोरी हुँदा एसपी साहेबसँग कुरा गर्दा उनले उल्टै के गर्ने भनेर प्रश्न गरे,’ पाण्डेयले भने, ‘प्रहरीलाई यस्ता घटनाबारे कुनै मतलब छैन।’ आफूहरूले हरेक घट्नामा अनुसन्धान गरिरहेको र अलि ढिलोचाँडो भएपछि गुनासो आउनु स्वाभाविक भएको प्रहरी उपरीक्षक ढकालले बताए।

प्रकाशित: १० चैत्र २०७५ ०२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App