१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

मासिक २१ जनाले गुमाउँछन् ज्यान

काठमाडौं उपत्यकामा गत बुधबार २४ वटा सवारी दुर्घटना भए, जसमा तीन जनाले ज्यान गुमाए भने पाँच गम्भीर तथा १६ सामान्य घाइते भए। यो प्रतिनिधि उदाहरण मात्र हो, उपत्यकामा दिनहुँजसो सवारी दुर्घटना हुने गरेको छ।

चालकको लापरवाही, यात्रुको गल्ती, ओभरटेक, तीव्र गति, मापसे, यान्त्रिक गडबढी, ओभरलोड, चौपाया, सडकको अवस्था, मौसमको अवस्था लगायतका कारणले उपत्यकामा दैनिक दुई दर्जनभन्दा बढी दुर्घटना हुने गरेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक उपत्यकामा सवारी दुर्घटनामा परेर मासिक सरदर २१ जनाको ज्यान जाने गरेको छ। चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको सात महिनामा काठमाडौं उपत्यकाको तीन जिल्लामा चार हजार ८ सय १ सवारी दुर्घटनामा परेका थिए। दुर्घटनामा परेर एक सय ५२ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा पुरुषको संख्या एक सय १५ जना छन्। दुर्घटनामा ज्यान गुमाउने महिलाको संख्या २९ छ। त्यस्तैगरी दुर्घटनामा परेर ज्यान गुमाउने बालबालिकाको संख्या आठ रहेको छ।

ट्राफिक विज्ञ जगतमान श्रेष्ठ काठमाडौंको सडक अत्याधिक मात्रामा असुरक्षित रहेको बताउँछन्। ‘उपत्यकाको सडकमा जुनसुकै बेलामा पनि ज्यान जाने उच्च जोखिम छ,’ उनले भने, ‘उपत्यकामा सवारी दुर्घटनामा नपरेको दिनै हुँदैन। तर, दुर्घटना न्यूनीकरणका लागि कसैले ध्यान पु-याएको छैन।’

उनका अनुसार काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या भयावह रहेको छ। ‘उपत्यकामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या कहालीलाग्दो छ,’ उनले भने, ‘तर, सम्बन्धित निकायले सवारी दुर्घटना न्यूनीकरणतर्फ ध्यानै दिएनन्। जसको कारणले दुर्घटना न्यूनीकरण गर्न सकिएको छैन।’

उपत्यकामा सात महिनामा सवारी दुर्घटनामा परेर १ सय ६८ जना गम्भीर घाइते भएका छन्। सामान्य घाइतेको संख्या तीन हजार दुई सय ८४ रहेको छ। आठ हजार ५ सय ७० सवारीसाधन दुर्घटनामा परेका थिए। चालू आवको सात महिनामा सबैभन्दा धेरै सवारी मोटरसाइकल सवारी दुर्घटनामा परेका थिए। उक्त अवधिमा तीन हजार १ सय ११ सवारीसाधन दुर्घटनामा परेका थिए। धेरै सवारी दुर्घटना पर्ने सवारीसाधनमा जिप तथा कार दोस्रो नम्बरमा पर्छ। त्यो अवधिमा ३ हजार जिप तथा कार दुर्घटनाको सिकार बने।

आर्थिक वर्ष २०७४–७५ मा उपत्यकामा ६ हजार ३ सय ८१ सवारी दुर्घटना भएका थिए। सवारी दुर्घटनामा परेर १ सय ९४ जनाले ज्यान गुमाउन बाध्य भए। ज्यान गुमाउनेमा पुरुषको संख्या १ सय ३८ जना छन्। ज्यान गुमाउनेमा ३९ महिला र १७ बालबालिका छन्।

दुर्घटनामा परेर दुई सय १९ जना गम्भीर घाइते भए। त्यस्तै गरी सामान्य घाइतेको संख्या चार हजार ३ सय ३३ जना छन्। गत आवमा उपत्यकामा सबैभन्दा बढी जिप र कार दुर्घटनामा परे। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराम सापकोटाले उपत्यकामा अत्याधिक मात्रामा सवारी चाप भएकाले सवारी दुर्घटना हुने बताउँछन्। ‘उपत्यकामा अत्याधिक मात्रामा सवारीसाधन गुड्छन्। त्यसैले कतै न कतै सवारी दुर्घटना भइरहेका हुन्छन्,’ उनले भने, ‘हाम्रो तर्फबाट सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि विभिन्न सचेतनात्मक कार्यक्रम गर्दै आइरहेका छौं।’ महाशाखाका अनुसार उपत्यकामा सवारी दुर्घटनामा परेर सरदर ३८ प्रतिशत पैदलयात्रुले ज्यान गुमाएका छन्।

प्रवक्ता सापकोटाले चालकको लापरवाहीले अधिकांश सडक दुर्घटना हुने बताउँछन्। ‘चालकको लापारवाहीले धेरै दुर्घटना हुने गर्छन्,’ उनले भने, ‘ओभरलोड, यान्त्रिक गडबडी, सडक अवस्था लगायतका कारणले उपत्यकामा दुर्घटना बढिरहेका छन्।’

दुर्घटनामा परेका जिप र कारको संख्या चार हजार ३ सय थियो। त्यस्तै गरी दोस्रो धेरै सवारी दुर्घटनामा पर्ने सवारीसाधनमा मोटरसाइकल देखिन्छ। उक्त अवधिमा दुर्घटनामा पर्ने मोटरसाइकलको संख्या चार हजार ६५ थियो।  महाशाखाका अनुसार काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने चालकको संख्या  दैनिक १५ सय भन्दा बढी छ।

महाशाखाका अनुसार गत बुधबार ट्राफिक नियम उल्लंघन गर्ने चालकको संख्या १४ सय छ। रहेका छन्। ट्राफिक नियम उल्लंघन गर्नेमा सबैभन्दा धेरै फुटपाथमा पार्किङ गर्ने देखिएका छन्। जभाभावी ढंगले फुथपाथमा पार्क गरेका ९ सय ५ सवारीचालक कारवाहीमा परेका छन्। त्यस्तै गरी मापसे गरेर सवारी चलाउनेमा १ सय ५८ जना चालक छन्। लेन अनुशासन मिच्नेमा ११ जना, धेरै भाडा असुल्ने चार जना ट्याक्सी चालक कारवाहीमा परेका छन्। त्यस्तैगरी जथाभावी हर्न बजाउने २७ चालक कारवाहीमा परेका छन्। त्यस्तैगरी व्हील लकमा १३ जना, जेब्राक्रसिङमाथि सवारीसाधन रोक्ने १९ जना र अन्य कारवाहीमा २ सय ५८ जना चालक कारवाहीमा परेको महाशाखाले जनाएको छ।

प्रकाशित: ८ चैत्र २०७५ ०६:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App